हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यज्य बसमग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
बैंकहरुको तिहार
यो साता नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार परेको थियो । त्यसैले प्रायः कार्यालयहरु बन्द रहे । कतिपय बैंकहरु पनि बन्द रहे । यद्यपि, राष्ट्र बैंकको निर्देशनअनुरुप, भाइटीकाको दिनबाहेक अन्य सार्वजनिक विदाका दिनमा पनि भन्सार कार्यालयमा शाखा भएका बैंकहरु भने खुला रहे । साताको आइतबार लक्ष्मी पुजा परेको थियो । यस दिन सम्पूर्ण बैंकहरुले आफ्नो कार्यालय सजाएका थिए ।
बोनस सेयर वितरण
साताको विहीबार विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र विराटलक्ष्मी विकास बैंक लिमिटेडले बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्विकृति पाए । विजय लघुवित्तले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश तथा विराटलक्ष्मीले १८.५० प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने अनुमति पाएका हुन् ।
दुर्गम भेगमा पुग्दै बैंकहरु
कृषि विकास बैंक लिमिटेडले मनाङको चामेमा पूर्ण बैंकिङ शाखा सञ्चालनमा ल्यायो ।
साधारण सेयर निष्काशन
महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले एक लाख बीस हजार कित्ता आईपीओ जारी गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दियो ।
तरलता व्यवस्थापनमा राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले साताको विहीबार रिभर्स रिपोमार्फत बैंकिङ प्रणालीबाट ५० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गर्यो ।
एडिबीद्धारा ऋण सहयोग
एसियाली विकास बैंक (एडिबी) ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न १२ अर्ब रुपैयाँ ऋण सहयोगको घोषणा गर्यो ।