बैंकिङ खबर / चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जा ३.१ प्रतिशतले वृद्धि भई ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको हो ।
समीक्षा अवधिमा निजी क्षेत्रमा १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोड रुपैयाँले मात्रै बढेको थियो । यस आधारमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कर्जा विस्तारको गति बढेको देखिन्छ ।
वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.९ प्रतिशत रहेको छ । त्यस्तै, व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.१ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी क्षेत्रको हिस्सा क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाको प्रकारअनुसार हेर्दा वाणिज्य बैंकहरूको कर्जा ३.२ प्रतिशतले बढेको छ । विकास बैंकहरूको कर्जा ३.१ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनीहरूको कर्जा भने १.२ प्रतिशतले घटेको छ ।
कर्जाको धितो संरचनामा अझै पनि घरजग्गाको हिस्सा सबैभन्दा बढी देखिएको छ । असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये ६२.७ प्रतिशत कर्जा घरजग्गा धितो सुरक्षणमा आधारित छ । त्यस्तै, कृषि तथा गैरकृषिजन्य वस्तुलगायत चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा १५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६४.३ प्रतिशत थियो ।
क्षेत्रगत रूपमा भने खनिज क्षेत्रमा कर्जा विस्तार सबैभन्दा तीव्र देखिएको छ । समीक्षा अवधिमा यस क्षेत्रको कर्जा १७.८ प्रतिशतले बढेको छ । यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा १२.४ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रमा १०.७ प्रतिशतले कर्जा वृद्धि भएको छ ।
त्यस्तै, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ५.४ प्रतिशत, सेवा उद्योगमा ३.९ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ३.९ प्रतिशत, यातायात तथा निर्माण क्षेत्रमा ३.८ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा २.३ प्रतिशतले कर्जा बढेको छ । उपभोग्य क्षेत्रतर्फको कर्जा पनि २.३ प्रतिशतले विस्तार भएको छ । तर कृषि क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले घटेको छ । वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा पनि कर्जा ०.७ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
कर्जाको प्रकृतिअनुसार विपन्न वर्ग कर्जामा सबैभन्दा बढी १५.१ प्रतिशतको वृद्धि देखिएको छ । माग तथा अन्य चालु पुँजी कर्जा ५.२ प्रतिशत, रियल स्टेट कर्जा ३.५ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा २.९ प्रतिशतले बढेको छ । त्यस्तै, मार्जिन प्रकृतिको कर्जा २.९ प्रतिशत, आवधिक कर्जा २.६ प्रतिशत, अधिविकर्ष कर्जा १.५ प्रतिशत र हायर पर्चेज कर्जा १.२ प्रतिशतले वृद्धि भएको छ । क्यास क्रेडिट कर्जा भने १.८ प्रतिशतले घटेको छ । समग्रमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार गत वर्षको तुलनामा तीव्र देखिएको छ । विशेषगरी खनिज, यातायात उपकरण र धातुजन्य उत्पादन क्षेत्रमा कर्जाको वृद्धि उल्लेख्य हुँदा कृषि तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रमा भने कर्जा प्रवाह घटेको छ ।