Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डिजिटल भुक्तानी बढ्दै, चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

२०८३ मंसिर ३ गते

बैंकिङ खबर /  नेपालमा डिजिटल भुक्तानीका माध्यम विस्तार हुँदै गए पनि अर्थतन्त्रमा नगदको प्रयोग घटेको देखिँदैन । मोबाइल बैंकिङ, क्यूआर भुक्तानी तथा वालेटमार्फत हुने कारोबार बढिरहेका बेला चलनचल्तीमा रहेको मुद्राको परिमाण भने ९ खर्ब रुपैयाँको नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो वासलातअनुसार २०८३ असोज मसान्तसम्म चलनचल्तीमा रहेको मुद्रा ८ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो ।

राष्ट्र बैंकको वासलातअनुसार गत असार मसान्तमा चलनचल्तीमा रहेको मुद्रा ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ थियो । तीन महिनाको अवधिमा यस्तो रकम ९५ अर्ब ७६ करोड रुपैयाँले बढेको छ । असार मसान्तको तुलनामा असोज मसान्तमा चलनचल्तीको मुद्रा करिब ११.९४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

नगद मुद्राको परिमाण बढिरहँदा डिजिटल भुक्तानीको प्रयोग पनि विस्तार भइरहेको छ । राष्ट्र बैंकको २०८३ भदौसम्मको भुक्तानी प्रणालीसम्बन्धी सूचकांकअनुसार मोबाइल बैंकिङमार्फत भदौ महिनामा ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो वर्षको सोही महिनामा यस्तो कारोबार ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ थियो ।

क्यूआरमा आधारित भुक्तानी पनि विस्तार हुँदै गएको छ । २०८३ भदौमा क्यूआरमार्फत १ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो वर्षको सोही महिनामा यस्तो कारोबार १ खर्ब १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो । यसले भुक्तानीका लागि क्यूआर प्रणालीको प्रयोग बढ्दै गएको संकेत गर्छ । त्यस्तै, भदौ महिनामा वालेटमार्फत ४९ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । फास्टर पेमेन्ट प्रणालीमार्फत पनि सोही अवधिमा ५ खर्ब ८३ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी सूचकांकमा उल्लेख छ ।

डिजिटल भुक्तानीको पहुँच र प्रयोग बढ्दै जाँदा पनि नगदको माग कायम रहनुका पछाडि अर्थतन्त्रको भुक्तानी व्यवहार, कारोबारको प्रकृति र भौगोलिक पहुँचजस्ता पक्ष जिम्मेवार हुन सक्छन् । दैनिक उपभोग्य वस्तुको खरिदबिक्री, साना व्यवसाय, ग्रामीण क्षेत्रका कारोबार तथा नगदमै भुक्तानी गर्ने बानीका कारण विद्युतीय माध्यमको विस्तारसँगै नगदको आवश्यकता पनि कायम रहन सक्छ ।

यद्यपि, चलनचल्तीमा रहेको मुद्राको वृद्धि डिजिटल भुक्तानीको विस्तार प्रभावहीन भएको प्रमाण भने होइन । डिजिटल कारोबारको रकमले निश्चित अवधिमा भएका भुक्तानीको कुल प्रवाह देखाउँछ भने चलनचल्तीमा रहेको मुद्राले अर्थतन्त्रमा रहेको नगदको मौज्दात जनाउँछ । त्यसैले यी दुई सूचकलाई प्रत्यक्ष तुलना गरेर एउटा माध्यमले अर्को माध्यमलाई विस्थापित गरिरहेको निष्कर्ष निकाल्न मिल्दैन ।

राष्ट्र बैंकका तथ्यांकले नेपालको भुक्तानी प्रणालीमा नगद र डिजिटल दुवै माध्यमको प्रयोग सँगसँगै कायम रहेको देखाउँछन् । डिजिटल कारोबारको विस्तारले भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लगे पनि नगदको आवश्यकता अझै ठूलो रहेको छ । चलनचल्तीमा रहेको मुद्रा ९ खर्ब रुपैयाँको नजिक पुग्नुले नेपालको अर्थतन्त्रमा नगदको भूमिका अझै महत्वपूर्ण रहेको संकेत गरेको छ ।

Ad