Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालमा बैंकिङ सुरुवात भएको ८९ वर्ष पूरा, नेपाल बैंक ९०औँ वर्षमा प्रवेश

२०८३ मंसिर १ गते

बैंकिङ खबर /  नेपालमा संस्थागत बैंकिङ सेवाको सुरुवात भएको ८९ वर्ष पूरा भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले स्थापनाको ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको बैंकले २०८३ कात्तिक ३० गते आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको हो ।

नेपालमा आधुनिक बैंकिङ प्रणालीको जग बसाल्ने संस्थाका रूपमा परिचित नेपाल बैंकले आफ्नो स्थापनाकालदेखि वित्तीय सेवा विस्तार हुँदै आएको यात्रालाई ९०औँ वर्षमा पनि निरन्तरता दिएको छ । बैंकको प्रधान कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रलाई मुलुकको उत्पादन र उद्यमशीलता प्रवर्द्धनमा थप केन्द्रित हुन निर्देशन दिएका छन् ।

अर्थमन्त्री वाग्लेले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला व्यवसायमा कर्जा लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् । बैंकिङ क्षेत्रले केवल निक्षेप संकलन र कर्जा प्रवाहमा सीमित नभई उत्पादनशील अर्थतन्त्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

उनले संस्थागत सुशासन, वित्तीय अनुशासन र व्यावसायिक कार्यसम्पादनलाई प्राथमिकतामा राख्न पनि बैंकलाई निर्देशन दिएका छन् । डिजिटल बैंकिङको विस्तारसँगै साइबर सुरक्षा र ग्राहकका तथ्याङ्कको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न थप पहल गर्नुपर्ने बताएका थिए ।

वार्षिकोत्सवकै अवसरमा अर्थमन्त्री वाग्लेले बैंकका तीन नयाँ डिजिटल सेवाको शुभारम्भ गरेका छन् । बैंकले डिजिटल कर्जा सेवा, ‘बाइ नाउ पे लेटर’ (BNPL) क्रेडिट कार्ड तथा अनलाइन कर्जा आवेदन पोर्टल सञ्चालनमा ल्याएको हो । प्रविधिको प्रयोगमार्फत कर्जा आवेदन तथा बैंकिङ सेवा प्रवाहलाई थप सहज बनाउने उद्देश्यले यी सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

वि.सं. १९९४ मा स्थापना भएको नेपाल बैंक नेपालको बैंकिङ इतिहासमा पहिलो वाणिज्य बैंक हो । स्थापना भएयता बैंकिङ सेवाको पहुँच विस्तार गर्दै आएको यस बैंकले अहिले देशभर २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । बैंकका अनुसार करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भएका छन् ।

बैंकले अन्तर्राष्ट्रियस्तरको बैंकिङ प्रविधिको प्रयोग गर्दै सेवा प्रवाहलाई छिटो, सहज र गुणस्तरीय बनाउने प्रयास गरिरहेको जनाएको छ । बदलिँदो वित्तीय परिवेशअनुसार प्रविधिमैत्री सेवा विस्तार, ग्राहक सेवाको गुणस्तर सुधार र वित्तीय पहुँच विस्तारलाई आगामी दिनमा समेत प्राथमिकता दिने बैंकको भनाइ छ ।

वार्षिकोत्सव समारोहमा दीर्घ सेवा गरेका कर्मचारी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरूलाई सम्मान गरिएको थियो । २५ वर्ष सेवा गरेका तीन र २० वर्ष सेवा गरेका १० कर्मचारीलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रादेशिक तथा भौगोलिक वर्गीकरणका आधारमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई पुरस्कृत गरिएको थियो ।

प्राकृतिक विपत्तिका बाबजुद पनि बैंकिङ सेवा निरन्तर सञ्चालन गरेका त्रिशूली र धुन्चे शाखालाई सम्मान गरिएको थियो । प्रतिकूल परिस्थितिमा बैंकको सम्पत्ति संरक्षणमा योगदान पुर्‍याउने स्याफ्रुबेँसी एक्सटेन्सन काउन्टरका कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक समितिका सदस्य बद्री खनालले गरेका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले स्वागत मन्तव्य राखेका थिए ।

Ad