विपदमा मोबाइल प्रविधि, मानव जीवनमा कति प्रभावकारी?


Bankingkhabar /January 1, 2022

 

बैंकिङ खबर।

जब कुनै युद्ध वा प्राकृतिक विपत्तिका कारण विश्वमा ठूलो तहसनहस हुन्छ अनि लाखौँ मानिसहरु घरवारविहीन हुन्छन् , त्यसबेला अधिकांश सञ्चार वा पूर्वाधारका संरचना या त क्षतिग्रस्त हुन्छन् वा तिनीहरु काम गर्न सक्ने अवस्थामा हुँदैनन्।

तर त्यस्तो बेला मानिसहरु आफ्ना प्रियजनको सुरक्षा र विपद प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी पाउन आतुर हुन्छन्।

संयुक्त राष्ट्रसंघको शरणार्थी उच्चायोगका एक प्रविधि विशेषज्ञ जन वार्नेसका अनुसार कुनै पनि शरणार्थी शिविरमा पुग्ने बित्तिकै मानिसहरुले सधैँ सोध्ने पहिलो प्रश्न – यहाँ फोन कहाँ चार्ज गर्न पाइन्छ-भन्ने हुन्छ।

त्यसका अलावा उनीहरुले यहाँ वाइफाइको सुविधा छ कि छैन भनेर पनि सोध्ने गर्छन्। उनका अनुसार यी प्रश्नहरु त्यस्ता शिविरहरुमा खाना वा पानी छन् या छैनन् भन्ने भन्दा बढी चासोका साथ सोध्ने गरिन्छ।

उपयुक्त संचारका अभावमा सहयता निकाय र गैरसरकारी संघ संस्थाहरुलाई खाद्यान्न, आवास र स्वास्थ्य सामाग्री विपद पीडितसम्म पुर्याउन थप अप्ठेरो पर्ने देखिदैँ आएको छ।

त्यही भएर केही प्रविधिसम्बन्धी कम्पनीहरुले यस्ता चुनौतीहरु सामना गर्न नवीनतम उपायहरु प्रयोगमा ल्याएका छन्।

इन्स्टेन्ट हटस्पट
उदाहरणको लागि क्रोएशियाको एउटा फर्म मेसपोइन्टले बोक्न एकदमै सजिलो, सबै मौसममा काम गर्ने र एकै पटकमा १ सय ५० जना मानिसहरुले वाइफाइ मार्फत इन्टरनेट चलाउन सक्ने फोर जी मोबाइल उपकरण निर्माण गरेको छ।

एकदमै कठिन अवस्थामा समेत तत्कालै जडान गर्न सकियोस भनेर उक्त उपकरण भित्रै ब्याट्रीसमेत राखिएको छ। स्वत: स्थानीय इन्टरनेट हटस्पट तयार गर्ने वा अन्य नेटवर्कसँग जोडिएर ठूलो भूभागसम्म इन्टरनेट सेवा फैलाउने क्षमता सो उपकरणमा छ।

हालै लन्डनमा आयोजित विपद्का समयमा प्रविधिको प्रयोगसम्बन्धी सम्मेलनमा बोल्दै मेसपोइन्टका सहसंस्थापक भ्यालेन्ट टुर्कोभिचले पूर्वी कोएशियाको शरणार्थीहरुलाई सञ्चार सेवामा पहुँच दिइरहेको भन्दै यसलाई व्यापक रुपमा विस्तार गर्न सकिने बताएका थिए।

उक्त समूहले विभिन्न क्राउड फन्डिंग वेबसाइटमार्फत लगानी जुटाउने प्रयास गरिरहेको छ र सो उपकरणलाई एउटाको झण्डै ४०० युरोको दरले विक्री गर्ने लक्ष्य राखेको छ।

मोबाइल मोबाइल
विश्वभरका विपदग्रस्त क्षेत्रहरुका लागि ठूलो सञ्चार परियोजनाको स्थापना गर्ने प्रयास गरिरहेका प्रविधि कम्पनीहरुले साना उपकरणको प्रयोगबाट पुग्ने लाभलाई समेत महसुस गरिरहेका छन्।

उदाहरणका लागि भोडाफोन कम्पनी अन्तर्गतको एउटा परोपकारी निकायले तत्कालै प्रयोगमा ल्याउन सकिने एउटा ११ केजी तौल भएको उपकरण बाहिर ल्याएको छ जसबाट झण्डै १ किलोमिटर वरपरसम्म टु जी मोबाइल सेवा प्रयोग गर्न सकिन्छ।

एउटा सानो सौर्य उर्जा प्यानलसहितको उक्त उपकरणमा ६ घण्टासम्म चल्न सक्ने ब्याट्री जोडिएको छ। उक्त कम्पनीले स्थानीय व्यक्तिहरु वा सहायता निकायहरुले १० मिनेटभित्रै यो प्रविधि सञ्चालनमा ल्याउन सक्ने जनाएको छ।

‘इन्स्टेन्ट नेटवर्क मिनी किट’ नामक उक्त उपकरण २०७२ काे विनाशकारी भूकम्प जाँदा काठमाडाैंमा सञ्चारमा पुन: पहुँच स्थापित गर्न प्रयोग गरिएको थियो। त्यो भन्दा बढी क्षमताका त्यस्तै उपकरणहरु दक्षिण सुडान र फिलिपिन्समा प्रयोग गरिसकिएका छन्।

पछिल्ला स्मार्टफोनहरुले धेरै खालका सेवा दिए पनि तिनीहरुको ब्याट्रीको आयु छोटो रहँदै आएको छ।

पुराना नोकिया फोनका व्याट्री कयौँ दिनसम्म चल्ने भएपनि स्मार्टफोनले धेरै व्याट्रीको खपत गर्ने हुँदा भोडाफोन फाउन्डेसनले सामूहिक रुपमा एकै ठाउँबाट धेरै वटा मोबाइल चार्ज गर्न सक्ने उपकरण पनि बाहिर ल्याएको छ।

फोनका तारहरु जोड्ने २० वटा युएसबी पोर्टहरु भएको त्यस्तो उपकरणलाई ३ वटा समूहसँग जोडेर सौर्य प्रणालीमार्फत रिचार्ज गर्न सकिने जनाइएको छ।

संकटका ‘एप्स’
स्थानीय सञ्चार नेटवर्क स्थापना गरेपछि महत्वपूर्ण सूचनाहरु शरणार्थी, विपद् पीडित र सहायता निकायहरुलाई दिनु सबैभन्दा मुख्य कुरा हो। तर ठिक ढंगले सूचना प्रवाह नहुँदा विपद्को समयमा निक्कै धेरै अन्योल हुनुका साथै सहायताका प्रयासहरु दोहोरिने गरेको प्रभावित स्थानमा खटिएकाहरुको अनुभव छ।

त्यही भएर गुगलदेखि मेद्सां डु मोन्डेसम्मका कयौँ संस्थाहरुले एउटै प्रणालीबाट सञ्चार प्रवाह गर्ने ‘एप्स’हरुको निर्माणमा जुटिरहेका छन्।

त्यस्ता एप्समार्फत विकसित देशमा रहेका चिकित्सकहरुसँग विपद् प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्य कार्यकर्ताहरुलाई जोड्ने वा गैरसरकारी संस्थाहरुलाई सहायता निकायसँग जोड्ने र एक अर्काले गरिरहेका कामहरुको बारेमा जानकारी दिने प्रयास उनीहरुको छ।

स्विडेनको एउटा गैरनाफामुखी संस्था फ्लोमाइन्डरले मोबाइल सेवा प्रदायकहरुबाट तथ्यांक लिएर विपद् प्रभावित स्थानमा भइरहेका मानिसहरुको आवतजावतको निगरानी गर्दै आएको छ।

यसले सरकार तथा सहायता निकायहरुलाई मानिसहरुको व्यवहार बुझ्न र आफ्ना श्रोतसाधनहरु परिचालन गर्ने स्थानको चयन गर्न मद्दत गरिरहेको छ।

“मानिसहरुका नियमित गतिविधि हेरेर हामी ती फोनहरु कुन स्थानमा छन् भन्ने थाहा पाउन सक्छौँ, त्यसपछि विपद्को अवस्थामा, उदाहरणका लागि, कुनै एउटा जिल्लामा रहेका मोबाइल फोनहरुमध्ये कति अर्को जिल्लामा सरे भनेर हामी पत्ता लगाउन सक्छौं,” फ्लोमाइन्डरका प्रमुख कार्यकारी लिनुस् बेङ्गट्सन भन्छन्।

मानिसहरुको आवतजावतबारे जानकारी लिने यो भन्दा भरपर्दो तरिका नभएको भन्दै उनले पूराना तथ्यांकका आधारमा भविष्यमा हुने बसाइँसराइ वा रोगहरुको संक्रमण हुनसक्ने स्थानहरुबारे समेत पत्ता लगाउन सकिने उनले बताए।

यस्तो प्रकारको विश्लेषण हालै पश्चिम अफ्रिकामा इबोलाको महामारी भएको समयमा र सन् २०१० मा हेइटीमा भूकम्प गएपछि प्रयोगमा ल्याइएको थियो।

सहनशीलतामा सुधार
मोबाइल उत्पादकहरुको विश्वव्यापी व्यापार निकाय (जिएसएमए) का अनुसार मोबाइल सेवा प्रदायकहरुबीच बृहत् सहकार्य संकटको अवस्थामा प्रभावित क्षेत्रहरुमा संचार सुधार गर्न महत्वपूर्ण रहन्छ।

विपदपछिको प्रतिक्रिया हेर्ने जिएसएमएको विकास एकाईकी प्रमुख कायला रिडले सन् २०१२ देखि नै उक्त निकायले मोबाइल सेवा प्रदायकहरुसँग मानवीय संकटसँग जुझ्ने क्षमता अभिवृद्धि गर्ने बारे काम गरिरहेको बताइन्।

विपद् आउनुअघि नै उपयुक्त समन्वय एवं साझेदारी निमार्ण गरी, आवश्यक पर्दा मोबाइल प्रविधिको उच्चतम प्रयोग गर्न सकिने अवस्थामा राखिनुपर्ने उनको भनाइ छ।

यसै वर्ष जीएसएमएले ‘ह्युमेनिटेरियन कनेकटिभिटी चार्टर’ अर्थात मानवीय संकटका बेला मोबाइल सेवा प्रदायकहरुलाई तयारी, संयोजन र आपसी सहयोगका साझा सिद्धान्तमा एकताबद्ध गराउने वडापत्र जारी गरेको छ।

प्रविधिको प्रयोग मात्रैले प्राकृतिक वा मानवनिर्मित प्रकोपबाट हुने पीडालाई रोक्न नसके पनि त्यसको सदुपयोगले कम्तीमा पनि सरकार, सहायता निकाय र गैरसरकारी संस्थाहरुको प्रभावकारी परिचालनमा सघाउ पुर्याउन सकिन्छ। र त्यसले सबै कुरा गुमाएका मानिसहरुलाई अझै पनि केहि कुरा आफ्नो नियन्त्रणमा रहेको छ भन्ने अनुभूति गराउँछ।बीबीसीकाे सहयाेगमा


सोसिअल मेडिया