काठमाडौं । आर्थिक तथा फाइनान्सीयल विज्ञहरुले नेपालको आर्थिक विकास, उत्पादन वृद्धि, वित्तीय पहुँच विस्तार तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कृत्रिम बौद्धिकता (एआई) र डिजिटलाइजेसनको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘एआई एन्ड डिजिटलाइजेसन समिट २०२६’ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले नेपालको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र दिगो विकासका लागि कृत्रिम बौद्धिकता ९एआई० तथा डिजिटलाइजेसनमा लगानी बढाउनुपर्ने बताए ।
समिटलाई सम्बोधन गर्दै डा. भट्टले नेपाल अहिले न्यून आय भएको अर्थतन्त्रबाट उच्च आर्थिक वृद्धिको दिशामा अघि बढिरहेको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सरकारले लिएको जानकारी दिए। उक्त लक्ष्य हासिल गर्न परम्परागत विकासका मोडेल मात्र पर्याप्त नहुने र प्रविधिमैत्री विकास रणनीति अपनाउन आवश्यक रहेको उनको भनाइ थियो। उनले एआई र डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने, सेवा प्रवाहलाई थप सहज, छिटो र पारदर्शी बनाउन सकिने तथा आर्थिक गतिविधिलाई थप प्रतिस्पर्धी बनाउन सकिने बताए। कृषि, उद्योग, बैंकिङ, शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवा क्षेत्रमा एआईको प्रयोगले उल्लेखनीय परिवर्तन ल्याउन सक्ने उनको धारणा थियो।
“विश्व अर्थतन्त्र अहिले डिजिटल प्रविधि र नवप्रवर्तनको जगमा अघि बढिरहेको छ। नेपालले पनि आर्थिक विकासको गति बढाउन र विश्वव्यापी प्रतिस्पर्धामा टिक्न प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ,” उनले भने। डा. भट्टले एआई र डिजिटलाइजेसनलाई केवल प्रविधिको विषय नभई आर्थिक विकास, रोजगारी सिर्जना, नवप्रवर्तन प्रवर्द्धन र समग्र राष्ट्रिय समृद्धिसँग जोडिएको रणनीतिक क्षेत्रका रूपमा लिनुपर्ने बताए। उनले डिजिटल पूर्वाधार विस्तार, अनुसन्धान तथा नवप्रवर्तनमा लगानी वृद्धि, दक्ष जनशक्ति उत्पादन तथा नीतिगत सुधारमार्फत डिजिटल अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार एआईको प्रयोगले व्यवसाय सञ्चालन, उत्पादन व्यवस्थापन, वित्तीय सेवा, कृषि उत्पादन तथा सरकारी सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउन सक्छ। यसबाट लागत घट्ने, दक्षता बढ्ने र सेवा प्राप्तिमा नागरिकको पहुँच विस्तार हुने विश्वास उनले व्यक्त गरे। मिडिया इन्टरनेसनलले आयोजना गरेको उक्त समिटमा नीति निर्माता, बैंकिङ तथा वित्तीय क्षेत्रका प्रतिनिधि, प्रविधि विज्ञ, निजी क्षेत्रका अगुवा, शिक्षाविद् तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालको डिजिटल भविष्य, एआईको सम्भावना, साइबर सुरक्षा, डिजिटल वित्तीय साक्षरता तथा प्रविधिमार्फत आर्थिक विकासका विविध आयामबारे छलफल गरिएको थियो। कार्यक्रममा वक्ताहरूले नेपालले डिजिटल रूपान्तरणलाई तीव्रता दिन सके आर्थिक विकास, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने धारणा राख्दै एआई र डिजिटल प्रविधिलाई विकासको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
नयाँ पुस्ताले एआई र डिजिटल प्रणालीमार्फत अर्थतन्त्रमा योगदान गर्नुपर्छ : रेवती नेपाल
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी उपयोगमार्फत नेपालको अर्थतन्त्रलाई थप सबल र प्रतिस्पर्धी बनाउन सकिने बताएका छन्। उनले विशेषगरी नयाँ पुस्ताले एआई र डिजिटल प्रणालीको अधिकतम प्रयोग गर्दै आर्थिक तथा वित्तीय क्षेत्रको रूपान्तरणमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार विश्वव्यापी रूपमा वित्तीय क्षेत्र तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको छ र नेपालले पनि यस परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्नुपर्छ। डिजिटल बैंकिङ, अनलाइन वित्तीय सेवा, डाटा विश्लेषण तथा एआईमा आधारित प्रणालीहरूको प्रयोगले वित्तीय सेवाको गुणस्तर, पहुँच र प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। कार्यकारी निर्देशक नेपालले वित्तीय डिजिटलाइजेसन अब सामान्य प्रविधि प्रयोगको चरणबाट अगाडि बढेर एआई–आधारित प्रणालीतर्फ प्रवेश गरिरहेको उल्लेख गरे। बैंक तथा वित्तीय संस्थाहरूले सेवा प्रवाह, जोखिम व्यवस्थापन, ग्राहक विश्लेषण तथा निर्णय प्रक्रियामा एआईको प्रयोग बढाउन थालेको भन्दै उनले नेपालमा पनि यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
उनले भविष्यको बैंकिङ प्रणाली डाटा र प्रविधिमा आधारित हुने उल्लेख गर्दै “डेटा–ड्रिभन डिसिजन मेकिङ” अर्थात् तथ्य र विश्लेषणमा आधारित निर्णय प्रणालीलाई संस्थागत गर्नुपर्ने बताए। एआईको माध्यमबाट ठूलो मात्रामा रहेका सूचनाहरूलाई छिटो, सुरक्षित र प्रभावकारी रूपमा विश्लेषण गर्न सकिने भएकाले नीति निर्माणदेखि सेवा प्रवाहसम्मका कामहरू थप सहज बन्ने उनको भनाइ थियो। नेपालले एआई पोर्टल तथा स्मार्ट डिजिटल प्लेटफर्महरूको प्रयोगमार्फत बैंकभित्र रहेका विभिन्न सूचना तथा तथ्यांकलाई एकीकृत र व्यवस्थित गर्न सकिने बताए। यसले कर्मचारीहरूलाई आवश्यक सूचना छिटो प्राप्त गर्न, सेवाग्राहीको आवश्यकता बुझ्न तथा संस्थागत कार्यक्षमता बढाउन सहयोग पुग्ने उनले उल्लेख गरे। उनका अनुसार एआईको प्रयोगले बैंक तथा वित्तीय संस्थाहरूलाई ग्राहकको व्यवहार, कारोबार प्रवृत्ति तथा वित्तीय अवस्थाको विश्लेषण गर्न सहज बनाउँछ। यसका आधारमा ग्राहकको जोखिम स्तर, वित्तीय अनुशासन र सम्भावित आवश्यकताहरूको मूल्याङ्कन गर्न सकिने भएकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिन्छ। “एआईको माध्यमबाट बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको रेटिङ, जोखिम मूल्याङ्कन तथा सेवा आवश्यकताको विश्लेषण अझ वैज्ञानिक ढंगले गर्न सक्छन्,” उनले भने।
उनले वित्तीय समावेशीकरणलाई अझ सुदृढ बनाउन पनि एआई र डिजिटल प्रविधिको महत्वपूर्ण भूमिका रहने बताए। विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका नागरिकलाई डिजिटल माध्यमबाट वित्तीय सेवामा जोड्न सकिए आर्थिक गतिविधि विस्तार हुनुका साथै वित्तीय पहुँच पनि बढ्ने उनको विश्वास छ। कार्यकारी निर्देशक नेपालले प्रविधिको उपयोगसँगै साइबर सुरक्षा, डाटा गोपनीयता र डिजिटल साक्षरतामा समेत विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। एआई र डिजिटल प्रणालीको प्रयोग बढ्दै जाँदा सम्भावित जोखिमहरूलाई व्यवस्थापन गर्न सक्षम नियामकीय संरचना र दक्ष जनशक्ति विकास आवश्यक रहेको उनले बताए।
उनले अन्ततः नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रलाई भविष्यउन्मुख, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन एआई, डिजिटलाइजेसन र डाटा–आधारित निर्णय प्रणालीलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए। यसबाट सेवा प्रवाहमा सुधार, लागतमा कमी, ग्राहक सन्तुष्टिमा वृद्धि तथा समग्र अर्थतन्त्रको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
बैंकिङको भविष्य प्रविधिमा निर्भर छ : मनोज ज्ञवाली
कार्यक्रममा नविल बैंकका सिइओ तथा बैंकर्स एशोसियशनका कार्यकारी सदस्य मनोज ज्ञवालीले डिजिटलाइजेसन र कृत्रिम बुद्धिमत्ता (एआई) लाई एउटै रूपमा बुझ्न नहुने भन्दै यी दुई प्रविधिको भूमिका र प्रयोग फरक–फरक रहेको बताएका छन्। उनले डिजिटलाइजेसनले बैंकिङ तथा वित्तीय सेवाको पहुँच विस्तार र सेवा प्रवाहलाई सहज बनाएको उल्लेख गर्दै एआईले त्यसलाई अझ बुद्धिमान, विश्लेषणात्मक र स्वचालित बनाउने बताए।
उनका अनुसार नेपालले डिजिटल पेमेन्ट प्रणालीको विकासमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ। मोबाइल बैंकिङ, क्यूआर कोड, वालेट, अनलाइन भुक्तानी तथा अन्तरबैंक डिजिटल कारोबारको विस्तारले वित्तीय कारोबारको स्वरूप नै परिवर्तन गरिदिएको उनले बताए। “डिजिटल पेमेन्टको क्षेत्रमा हामी धेरै अगाडि बढिसकेका छौं। आज अधिकांश वित्तीय कारोबार मोबाइल र डिजिटल माध्यमबाट सम्पन्न हुन थालेका छन्,” उनले भने। सीईओ ज्ञवालीले बैंकिङ क्षेत्र तीव्र रूपमा प्रविधिमुखी बन्दै गएको उल्लेख गर्दै भविष्यमा बैंक शाखामा ग्राहकको प्रत्यक्ष उपस्थिति कति आवश्यक रहन्छ भन्ने विषय नै अनिश्चित बन्दै गएको बताए। उनका अनुसार भोलिका दिनमा ग्राहकले बैंकमा आएर सेवा लिनेभन्दा पनि डिजिटल माध्यमबाट अधिकांश काम सम्पन्न गर्ने प्रवृत्ति अझ बढ्नेछ।
“भविष्यमा ग्राहक बैंकमा आउँछन् वा आउँदैनन् भन्ने यकिन गर्न गाह्रो छ। सेवा कहाँबाट लिइन्छ, कसरी लिइन्छ र कसरी प्रदान गरिन्छ भन्ने कुरा मुख्य रूपमा डिजिटलाइजेसन र एआईमा निर्भर हुनेछ,” उनले भने। बैंकिङ सेवा क्रमशः शाखा केन्द्रित प्रणालीबाट डिजिटल प्लेटफर्म केन्द्रित प्रणालीमा रूपान्तरण भइरहेको उनको धारणा थियो। ज्ञवालीले डिजिटलाइजेसनको सबैभन्दा ठूलो उपलब्धि सूचना र तथ्यांक व्यवस्थापनमा देखिएको बताए। पहिले कागजी रूपमा राखिने अधिकांश अभिलेख, विवरण र तथ्यांक अहिले डिजिटल माध्यममा सुरक्षित रूपमा संग्रहित भइरहेका छन्। ग्राहकको व्यक्तिगत विवरणदेखि वित्तीय कारोबारका रेकर्डसम्मका सूचनाहरू डिजिटल प्लेटफर्ममा सुरक्षित हुने व्यवस्था डिजिटलाइजेसनले सम्भव बनाएको उनले उल्लेख गरे।
उनका अनुसार आगामी दिनमा बैंकिङ सेवा अझ आधुनिक र सहज बन्दै जानेछ। अहिले मोबाइल एपमार्फत खाता खोल्ने, रकम स्थानान्तरण गर्ने, बिल भुक्तानी गर्ने तथा विभिन्न वित्तीय सेवा प्राप्त गर्ने कार्य सामान्य भइसकेको छ। भविष्यमा बायोमेट्रिक तथा फेसियल रिकग्निसन प्रविधिको प्रयोग बढ्दै जाँदा ग्राहकले केवल आफ्नो अनुहार वा हेराइको आधारमा नै खाता सञ्चालन गर्ने, भुक्तानी गर्ने तथा अन्य बैंकिङ सेवा प्राप्त गर्ने अवस्था आउन सक्ने उनले बताए। सीईओ ज्ञवालीले कृत्रिम बुद्धिमत्ताको प्रयोगले बैंकिङ क्षेत्रको निर्णय प्रक्रिया थप प्रभावकारी र छिटो बन्ने बताए। विशेषगरी कर्जा स्वीकृति, क्रेडिट मूल्याङ्कन, जोखिम विश्लेषण तथा ग्राहकको वित्तीय अवस्थाको अध्ययनजस्ता कार्यहरू एआईको माध्यमबाट स्वचालित रूपमा सम्पन्न हुन सक्ने उनको भनाइ थियो। यसले सेवाग्राहीले छिटो, पारदर्शी र सहज रूपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने वातावरण सिर्जना गर्ने उनले बताए।
उनले बैंकिङ क्षेत्रको भविष्य प्रविधिमा आधारित हुने उल्लेख गर्दै डिजिटलाइजेसन र एआईलाई केवल विकल्पका रूपमा नभई आवश्यकता र अपरिहार्यताको रूपमा लिनुपर्ने धारणा राखे। बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफूलाई रूपान्तरण गर्न नसके प्रतिस्पर्धामा टिक्न कठिन हुने उनले चेतावनी दिए। कार्यक्रममा उनले नेपालले डिजिटल बैंकिङ र डिजिटल पेमेन्टमा हासिल गरेको उपलब्धिलाई अब एआई, डाटा एनालिटिक्स र स्वचालित वित्तीय सेवासँग जोड्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। यसले बैंकिङ क्षेत्रलाई थप आधुनिक, प्रभावकारी र ग्राहकमैत्री बनाउनुका साथै समग्र वित्तीय प्रणालीको दक्षता र विश्वसनीयता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने उनको निष्कर्ष थियो।
गाउँको पूर्वाधारलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न आवश्यक : अध्यक्ष यादव
कार्यक्रममा लघुवित्त बैंकर संघका अध्यक्ष रामबहादुर यादवले नेपालका ग्रामीण क्षेत्रमा पछिल्ला वर्षहरूमा सडक, विद्युत्, इन्टरनेट तथा अन्य आधारभूत पूर्वाधारको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको भए पनि त्यसको प्रत्यक्ष आर्थिक लाभ देशले अपेक्षित रूपमा लिन नसकेको बताएका छन्। उनले पूर्वाधार विकासलाई मात्र विकासको अन्तिम लक्ष्यका रूपमा लिन नहुने भन्दै त्यसलाई उत्पादन, उद्यमशीलता, रोजगारी र आयआर्जनसँग जोड्न सकिए मात्र वास्तविक आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे।
उनका अनुसार गाउँ–गाउँसम्म सडक पुगेका छन्, अधिकांश बस्तीमा विद्युत् सेवा विस्तार भएको छ र इन्टरनेट पहुँच पनि निरन्तर बढिरहेको छ। तर यति ठूलो लगानी र विकासका उपलब्धिहरूलाई आर्थिक गतिविधि विस्तार तथा स्थानीय उत्पादन वृद्धि गर्ने माध्यमका रूपमा उपयोग गर्न नसकिएको अवस्था रहेको उनले बताए। “हामीले भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेका छौं, तर ती पूर्वाधारले ग्रामीण जनताको जीवनस्तर उकास्ने र अर्थतन्त्रलाई बलियो बनाउने दिशामा अपेक्षित परिणाम दिन सकेका छैनन्,” उनले भने।
अध्यक्ष यादवले नेपालमा लाखौं साना तथा लघु उद्यमी विभिन्न क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै उनीहरू देशको अर्थतन्त्रका महत्वपूर्ण आधारस्तम्भ भए पनि राज्यको प्राथमिकतामा पर्न नसकेको बताए। ग्रामीण क्षेत्रमा कृषि, पशुपालन, हस्तकला, घरेलु उद्योग, खाद्य प्रशोधन, पर्यटन तथा सेवा क्षेत्रसँग सम्बन्धित थुप्रै उद्यम सञ्चालन भइरहेका भए पनि ती उद्यमलाई विस्तार गर्न आवश्यक सहयोग, लगानी, बजार र प्रविधिको पहुँच अझै सीमित रहेको उनको भनाइ थियो। उनले लघु उद्यमशीलतालाई केवल जीविकोपार्जनको माध्यमका रूपमा नभई राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख शक्तिका रूपमा हेर्नुपर्ने धारणा राखे। ग्रामीण क्षेत्रका साना उद्यमीहरूले स्थानीय स्रोत र साधनको उपयोग गर्दै उत्पादन गरिरहेका वस्तु तथा सेवाले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाइरहेको उनले बताए। तर ती उद्यमीहरूलाई पर्याप्त प्रोत्साहन र संरक्षण नदिइँदा उनीहरूको क्षमता पूर्ण रूपमा उपयोग हुन नसकेको उनको गुनासो थियो। यादवले आफू गाउँहरूमा पुगेर हेर्दा धेरै सम्भावनाहरू देख्ने गरेको उल्लेख गर्दै त्यहाँका उद्यमीहरूको मेहनत र उत्साहले आफूलाई सधैं खुसी बनाउने बताए। तर त्यही मेहनतको उचित प्रतिफल नपाउँदा धेरै उद्यमी निराश हुनुपर्ने अवस्था रहेको उनको भनाइ थियो। “गाउँमा अनेक सम्भावना छन्, उद्यम गर्ने मानिसहरू छन्, उत्पादन गर्ने क्षमता छ, तर त्यसलाई बजार र अर्थतन्त्रसँग जोड्ने प्रभावकारी प्रणालीको अभाव छ,” उनले भने।
उनले राज्यले ग्रामीण क्षेत्रको विकासलाई केवल पूर्वाधार निर्माणमा सीमित नराखी उत्पादनमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने बताए। गाउँमा उत्पादित वस्तुहरूको बजारीकरण, ब्रान्डिङ, मूल्य अभिवृद्धि तथा निर्यात प्रवर्द्धनका लागि स्पष्ट रणनीति आवश्यक रहेको उनको धारणा थियो। यसका साथै वित्तीय पहुँच विस्तार, सीप विकास, उद्यम व्यवस्थापन तालिम तथा डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए।
अध्यक्ष यादवले देशका अधिकांश नागरिक अवसरको खोजीमा विदेश जान बाध्य भइरहेको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार नेपालभित्रै रोजगारी र उद्यमका पर्याप्त सम्भावना हुँदाहुँदै पनि ती सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न नसक्दा युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन्। यदि ग्रामीण क्षेत्रमा रहेका साना तथा लघु उद्यमहरूलाई आवश्यक सहयोग र अवसर प्रदान गर्न सकियो भने ठूलो संख्यामा युवाहरूलाई स्वदेशमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने उनको विश्वास छ।
उनले राज्यले लघु उद्यमशीलतालाई आर्थिक नीतिको केन्द्रबिन्दुमा राख्नुपर्ने आवश्यकता औंल्याए। विशेष गरी कृषि, घरेलु उद्योग, स्थानीय उत्पादन र सेवा क्षेत्रसँग सम्बन्धित उद्यमहरूलाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके ग्रामीण अर्थतन्त्रलाई थप गतिशील बनाउन सकिने उनको भनाइ थियो। लघुवित्त संस्थाहरूले पनि ग्रामीण समुदायमा वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले वित्तीय संस्थाहरू, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। यादवले डिजिटल प्रविधि र इन्टरनेटको विस्तारलाई ग्रामीण अर्थतन्त्रका लागि ठूलो अवसरका रूपमा चित्रण गरे। अहिले धेरै ग्रामीण उद्यमीहरू सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत आफ्ना उत्पादनको प्रचार–प्रसार गर्न थालेको उल्लेख गर्दै उनले डिजिटल अर्थतन्त्रमा ग्रामीण क्षेत्रलाई समावेश गर्न विशेष कार्यक्रम आवश्यक रहेको बताए। यसले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने उनको विश्वास छ।
ग्रामीण क्षेत्रमा समेत डिजिटल प्रविधि बढ्दै : वरिष्ठ कृषि अर्थविद् लक्ष्मण गुरुङ
वरिष्ठ कृषि अर्थविद् तथा वातावरणविद् लक्ष्मण गुरुङले पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रयोग बढ्दै गएको बताएका छन्। उनका अनुसार ग्रामीण तहका कृषकहरूले डिजिटल माध्यमको उपयोग गर्दै कृषि उत्पादन, बजार व्यवस्थापन तथा सूचना प्राप्तिमा उल्लेखनीय लाभ लिन थालेका छन्। यसले कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्नुका साथै उत्पादनशीलता र आम्दानी बढाउन सहयोग पुर्याइरहेको छ।
गुरुङले डिजिटल प्रविधि र एआईले गाउँ र सहरबीचको दूरी मात्र कम नगरी नेपालको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। कृषकहरूले अनलाइन प्लेटफर्म, डिजिटल बजार र आधुनिक प्रविधिको प्रयोगमार्फत आफ्ना उत्पादनको प्रचार–प्रसार तथा बिक्री वितरण गर्न सक्ने भएकाले यसले निर्यात प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको धारणा छ। उनले विश्वव्यापी रूपमा कृषि क्षेत्रमा डिजिटल रूपान्तरण तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै नेपालले पनि यस अवसरलाई सदुपयोग गर्नुपर्ने बताए। एआईको प्रयोगबाट उत्पादन योजना, रोग–कीरा व्यवस्थापन, मौसम पूर्वानुमान, बजार विश्लेषण तथा आपूर्ति शृंखला व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।
ग्रामीण अर्थतन्त्रको दिगो विकासका लागि सूचना तथा सञ्चार पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै गुरुङले राज्यले विशेष गरी ग्रामीण क्षेत्रमा गुणस्तरीय इन्टरनेट सेवा विस्तारमा लगानी बढाउनुपर्ने बताए। इन्टरनेट पहुँच सहज र सर्वसुलभ भएमा कृषकहरू आधुनिक प्रविधिसँग जोडिन सक्ने, बजारको जानकारी तत्काल प्राप्त गर्न सक्ने तथा आफ्ना उत्पादनलाई व्यापक बजारसम्म पुर्याउन सक्ने उनको विश्वास छ। उनले कृषकहरूको डिजिटल साक्षरता अभिवृद्धि गर्न र प्रविधिमैत्री कृषि वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। डिजिटलाइजेसन र एआईको प्रभावकारी उपयोगले ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउँदै कृषि क्षेत्रको आधुनिकीकरण र समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने उनको निष्कर्ष छ।




