Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

घर बनाउनेलाई मुक्तिनाथको अफर, ५.७८% ब्याजमा ८०% सम्म कर्जा

२०८३ आश्विन २ गते

बैंकिङ खबर  /  आफ्नै घर बनाउने वा खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै मुक्तिनाथ विकास बैंकले विशेष घर कर्जा योजना ल्याएको छ । बैंकले आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थपेर घर कर्जाको ब्याजदर ५.७८ प्रतिशत कायम गरेको छ ।

बैंकको हालको आधार दर ५.५३ प्रतिशत रहेकाले विशेष योजनाअन्तर्गत कर्जाको ब्याजदर ५.७८ प्रतिशत कायम हुने बैंकले जनाएको छ । यो सुविधा २०८३ साल कात्तिक मसान्तसम्म उपलब्ध हुनेछ ।

विशेषगरी पहिलोपटक घर खरिद वा निर्माण गर्न लागेका ग्राहकका लागि बैंकले घरको मूल्याङ्कनको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । अन्य घर कर्जाको हकमा भने मूल्याङ्कन गरिएको घरजग्गाको अधिकतम ७० प्रतिशतसम्म कर्जा लिन सकिनेछ ।

घर निर्माण, घर खरिद तथा आवाससँग सम्बन्धित वित्तीय आवश्यकता पूरा गर्न लक्षित यो योजना ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ तथा दशैं, तिहार र छठलाई ध्यानमा राखेर ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार योजना अवधिमा ग्राहकले तुलनात्मक रूपमा कम ब्याजदरमा आवास कर्जा लिन सक्नेछन् । कात्तिक मसान्तपछि भने बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्त लागू हुनेछन् ।

मुक्तिनाथ विकास बैंकले यो कर्जा सुविधा देशभर रहेका आफ्ना १७६ शाखामार्फत उपलब्ध गराउने जनाएको छ । घर निर्माण वा खरिदका लागि कर्जा लिन चाहने ग्राहकले नजिकको शाखामार्फत योजनाबारे थप जानकारी लिन सक्नेछन् ।

बैंकले आवास कर्जासँगै अटो लोन तथा कृषि र एसएमई कर्जाका लागि पनि विभिन्न विशेष योजना सञ्चालन गरिरहेको जनाएको छ ।