Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रुकुमको २१ मेगावाट जलविद्युत्मा बैंकले लगानी गर्ने ३ अर्ब ४२ करोड

२०८३ आश्विन २ गते

बैंकिङ खबर  /   रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २१ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय क्षेत्रबाट ३ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी हुने भएको छ । आयोजना निर्माणका लागि राष्ट्रिय वाणिज्य बैंकको अगुवाइमा नेपाल बैंक र नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले सहवित्तीयकरणमार्फत उक्त रकम लगानी गर्ने भएका हुन् ।

आयोजनाको कुल लागत ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ । कुल लागतको करिब ७४ प्रतिशत रकम बैंक कर्जामार्फत जुटाइनेछ भने बाँकी रकम प्रवर्द्धक कम्पनीले स्वपुँजीबाट व्यवस्थापन गर्नेछ ।

सहवित्तीयकरणअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गर्नेछ । नेपाल बैंक र निफ्राले १–१ अर्ब रुपैयाँ लगानी गर्नेछन् । यसरी तीन बैंकबाट आयोजना निर्माणका लागि आवश्यक ऋण स्रोतको ठूलो हिस्सा व्यवस्थापन हुनेछ ।

आयोजनाको प्रवर्द्धक कम्पनी र सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भइसकेको छ । सम्झौताअनुसार आयोजनाका लागि बैंकिङ क्षेत्रबाट उपलब्ध हुने कर्जाले निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहयोग पुग्नेछ ।

वित्तीय व्यवस्थापन सम्झौता राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आयोजना तथा बैंकका प्रतिनिधिहरूको उपस्थितिमा गरिएको हो ।

२१ मेगावाट क्षमताको आयोजनामा ४ अर्ब ६० करोड रुपैयाँ लगानी हुने भएपछि रुकुम पश्चिममा जलविद्युत् पूर्वाधार निर्माणतर्फ निजी क्षेत्र र बैंकिङ क्षेत्रको लगानी परिचालन हुने भएको छ । आयोजना सञ्चालनमा आएपछि कर्णाली क्षेत्रमा ऊर्जा उत्पादनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।