बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी उपयोगमार्फत नेपालको अर्थतन्त्रलाई थप सबल र प्रतिस्पर्धी बनाउन सकिने बताएका छन्। मिडिया इन्टरनेसनलले आयोजना गरेको एआई डिजिटल फाइनान्स समिटमा बोल्दै उनले विशेषगरी नयाँ पुस्ताले एआई र डिजिटल प्रणालीको अधिकतम प्रयोग गर्दै आर्थिक तथा वित्तीय क्षेत्रको रूपान्तरणमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार विश्वव्यापी रूपमा वित्तीय क्षेत्र तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको छ र नेपालले पनि यस परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्नुपर्छ। डिजिटल बैंकिङ, अनलाइन वित्तीय सेवा, डाटा विश्लेषण तथा एआईमा आधारित प्रणालीहरूको प्रयोगले वित्तीय सेवाको गुणस्तर, पहुँच र प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। कार्यकारी निर्देशक नेपालले वित्तीय डिजिटलाइजेसन अब सामान्य प्रविधि प्रयोगको चरणबाट अगाडि बढेर एआई–आधारित प्रणालीतर्फ प्रवेश गरिरहेको उल्लेख गरे। बैंक तथा वित्तीय संस्थाहरूले सेवा प्रवाह, जोखिम व्यवस्थापन, ग्राहक विश्लेषण तथा निर्णय प्रक्रियामा एआईको प्रयोग बढाउन थालेको भन्दै उनले नेपालमा पनि यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
उनले भविष्यको बैंकिङ प्रणाली डाटा र प्रविधिमा आधारित हुने उल्लेख गर्दै “डेटा–ड्रिभन डिसिजन मेकिङ” अर्थात् तथ्य र विश्लेषणमा आधारित निर्णय प्रणालीलाई संस्थागत गर्नुपर्ने बताए। एआईको माध्यमबाट ठूलो मात्रामा रहेका सूचनाहरूलाई छिटो, सुरक्षित र प्रभावकारी रूपमा विश्लेषण गर्न सकिने भएकाले नीति निर्माणदेखि सेवा प्रवाहसम्मका कामहरू थप सहज बन्ने उनको भनाइ थियो। नेपालले एआई पोर्टल तथा स्मार्ट डिजिटल प्लेटफर्महरूको प्रयोगमार्फत बैंकभित्र रहेका विभिन्न सूचना तथा तथ्यांकलाई एकीकृत र व्यवस्थित गर्न सकिने बताए। यसले कर्मचारीहरूलाई आवश्यक सूचना छिटो प्राप्त गर्न, सेवाग्राहीको आवश्यकता बुझ्न तथा संस्थागत कार्यक्षमता बढाउन सहयोग पुग्ने उनले उल्लेख गरे। उनका अनुसार एआईको प्रयोगले बैंक तथा वित्तीय संस्थाहरूलाई ग्राहकको व्यवहार, कारोबार प्रवृत्ति तथा वित्तीय अवस्थाको विश्लेषण गर्न सहज बनाउँछ। यसका आधारमा ग्राहकको जोखिम स्तर, वित्तीय अनुशासन र सम्भावित आवश्यकताहरूको मूल्याङ्कन गर्न सकिने भएकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिन्छ। “एआईको माध्यमबाट बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको रेटिङ, जोखिम मूल्याङ्कन तथा सेवा आवश्यकताको विश्लेषण अझ वैज्ञानिक ढंगले गर्न सक्छन्,” उनले भने।
उनले वित्तीय समावेशीकरणलाई अझ सुदृढ बनाउन पनि एआई र डिजिटल प्रविधिको महत्वपूर्ण भूमिका रहने बताए। विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका नागरिकलाई डिजिटल माध्यमबाट वित्तीय सेवामा जोड्न सकिए आर्थिक गतिविधि विस्तार हुनुका साथै वित्तीय पहुँच पनि बढ्ने उनको विश्वास छ। कार्यकारी निर्देशक नेपालले प्रविधिको उपयोगसँगै साइबर सुरक्षा, डाटा गोपनीयता र डिजिटल साक्षरतामा समेत विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। एआई र डिजिटल प्रणालीको प्रयोग बढ्दै जाँदा सम्भावित जोखिमहरूलाई व्यवस्थापन गर्न सक्षम नियामकीय संरचना र दक्ष जनशक्ति विकास आवश्यक रहेको उनले बताए।
उनले अन्ततः नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रलाई भविष्यउन्मुख, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन एआई, डिजिटलाइजेसन र डाटा–आधारित निर्णय प्रणालीलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए। यसबाट सेवा प्रवाहमा सुधार, लागतमा कमी, ग्राहक सन्तुष्टिमा वृद्धि तथा समग्र अर्थतन्त्रको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।


