बैंकिङ खबर / दैनिक उपभोगका लागि ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत बिग मार्टबाट सामान खरिद गर्ने ती ग्राहक बम्पर पुरस्कारका लागि छनोट भएका हुन्।
विभागले कात्तिक महिनाको पहिलो पाक्षिक अवधिमा भएको कारोबारका आधारमा बम्पर विजेतासहित १६ जना विजेता छनोट गरेको हो। कात्तिक १ देखि १५ गतेसम्मको कारोबारलाई आधार बनाएर १५ जना पाक्षिक विजेता र एक जना बम्पर विजेता चयन गरिएको विभागले जनाएको छ।
विजेताहरूको नाम सोमबार अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। पुरस्कार विजेता छनोट कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट खेलाडीहरूलाई समेत सहभागी गराइएको थियो।
सरकारले उपभोक्तालाई प्रत्येक खरिदमा बिल लिन प्रोत्साहित गर्ने, व्यवसायीलाई कारोबारको अभिलेख राख्न जिम्मेवार बनाउने र कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
खरिद तथा बिक्री कारोबारको आधिकारिक अभिलेखका रूपमा रहने बिलले कर प्रणालीमा पारदर्शिता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। उपभोक्ताले बिल लिने र व्यवसायीले बिल जारी गर्ने अभ्यास बढ्दा वास्तविक कारोबारको विवरण सरकारी प्रणालीमा समेटिन सहयोग पुग्छ।
यसरी सामान्य खरिदलाई पनि कर प्रणालीसँग जोडेर पुरस्कारको अवसर प्रदान गर्ने कार्यक्रमले उपभोक्ताको सहभागिता बढाउनुका साथै औपचारिक अर्थतन्त्रको विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।