Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकको आयकर योगदान ३२ अर्ब नजिक, चार दशकमा कसरी बढ्यो ?

२०८३ मंसिर ४ गते

बैंकिङ खबर /  नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब ९३ करोड ८१ लाख ६० हजार रुपैयाँ आयकर बुझाएको छ । चार दशकभन्दा लामो बैंकिङ यात्रामा बैंकको आयकर योगदान ३२ अर्ब रुपैयाँको नजिक पुगेको हो ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा मात्रै ३ अर्ब ६० करोड ३० लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको जनाएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बुझाएको २ अर्ब ९७ करोड ४९ लाख ७० हजार रुपैयाँभन्दा ६२ करोड ८० लाख ३० हजार रुपैयाँ बढी हो । अघिल्लो वर्षको तुलनामा बैंकको आयकर योगदान करिब २१.१ प्रतिशतले बढेको देखिन्छ ।

नबिल बैंकको कर योगदानको इतिहास हेर्दा सुरुवाती वर्षमा बुझाएको आयकर र पछिल्ला वर्षको रकमबीच ठूलो अन्तर देखिन्छ । बैंकले आर्थिक वर्ष २०४२/४३ मा पहिलोपटक २० लाख ७० हजार रुपैयाँ आयकर बुझाएको थियो । त्यसको एक दशकपछि आर्थिक वर्ष २०५२/५३ मा आयकर योगदान १० करोड रुपैयाँ नाघेर १० करोड ११ लाख ४० हजार रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०६०/६१ मा बैंकले २० करोड १७ लाख ६० हजार रुपैयाँ आयकर बुझाएको थियो । त्यसपछि आर्थिक वर्ष २०६५/६६ मा यो रकम ४७ करोड ७ लाख रुपैयाँ पुगेको थियो भने २०६९/७० मा ९४ करोड ६८ लाख रुपैयाँ पुगेको देखिन्छ ।

बैंकको वार्षिक आयकर योगदान आर्थिक वर्ष २०७२/७३ मा पहिलोपटक एक अर्ब रुपैयाँ नाघेको थियो । उक्त वर्ष बैंकले १ अर्ब १९ करोड ८९ लाख रुपैयाँ आयकर बुझाएको थियो । आर्थिक वर्ष २०७५/७६ मा यस्तो योगदान १ अर्ब ८१ करोड १ लाख रुपैयाँ पुगेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा नबिल बैंकको आयकर योगदान पहिलोपटक दुई अर्ब रुपैयाँ नाघेर २ अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने घटेर १ अर्ब ९४ करोड २ लाख रुपैयाँमा सीमित भएको थियो । त्यसपछि २०७९/८० मा बढेर २ अर्ब ८० करोड ३० लाख रुपैयाँ पुगेको बैंकको आयकर योगदान २०८०/८१ मा २ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।

पछिल्ला दुई आर्थिक वर्षमा बैंकको आयकर योगदान थप बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ९७ करोड ४९ लाख ७० हजार रुपैयाँ आयकर बुझाएको बैंकले २०८२/८३ मा ३ अर्ब ६० करोड ३० लाख रुपैयाँ बुझाएको हो । पछिल्लो रकम बैंकको उपलब्ध विवरणअनुसार हालसम्मकै उच्च वार्षिक आयकर योगदान हो ।

आयकर योगदानका आधारमा नबिल बैंक बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने बैंकका रूपमा नौ पटक सम्मानित भएको छ । बैंकले आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, २०७७/७८, २०७९/८० र २०८१/८२ मा यस्तो सम्मान प्राप्त गरेको हो । पछिल्लो सम्मान आर्थिक वर्ष २०८१/८२ मा बुझाएको २ अर्ब ९७ करोड ४९ लाख ७० हजार रुपैयाँ आयकरका आधारमा प्रदान गरिएको हो ।

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरेका थिए । बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले सम्मान ग्रहण गरेका थिए । नेपाल अरब बैंकका नामबाट २०४१ सालमा स्थापना भएको नबिल बैंकले हाल देशभर २६१ शाखा, १७ एक्सटेन्सन काउन्टर र ३१८ एटीएममार्फत सेवा दिँदै आएको छ । बैंकका अनुसार यसका ग्राहक संख्या करिब ३० लाख पुगेको छ ।

Ad