Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

एक वर्षमा थपिए ३५ लाखभन्दा बढी निक्षेप खाता, कर्जा खाता २० लाख नाघे

२०८३ मंसिर ४ गते

बैंकिङ खबर  /  नेपालका बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोल्ने क्रम बढ्दै गएको छ। पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थामा ३५ लाखभन्दा बढी नयाँ निक्षेप खाता थपिएका छन्। यससँगै बैंकिङ प्रणालीमा कर्जा खाताको संख्या पनि २० लाख नाघेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमा निक्षेप खाताको संख्या ६ करोड ३४ लाख २४ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो संख्या ५ करोड ९८ लाख ६१ हजार रहेको थियो। यसअनुसार एक वर्षको अवधिमा निक्षेप खाताको संख्या ३५ लाख ६३ हजारले वृद्धि भएको छ। बैंकिङ सेवाको विस्तार, डिजिटल वित्तीय कारोबारको बढ्दो प्रयोग तथा सर्वसाधारणको औपचारिक वित्तीय प्रणालीमा पहुँच बढ्दै जाँदा निक्षेप खाताको संख्या पनि विस्तार भएको देखिन्छ।

कर्जा खाताको संख्या २० लाख ३१ हजार

निक्षेप खातासँगै बैंक तथा वित्तीय संस्थामा कर्जा लिने खाताको संख्या पनि बढेको छ। राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कर्जा खाताको संख्या २० लाख ३१ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो संख्या १९ लाख ६१ हजार रहेको थियो। यसअनुसार एक वर्षमा कर्जा खाताको संख्या करिब ७० हजारले थपिएको छ। निक्षेप खाताको वृद्धिको तुलनामा कर्जा खाताको विस्तार भने कम देखिएको छ।

मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे

नेपालमा डिजिटल बैंकिङ सेवाको प्रयोग पनि उल्लेख्य रूपमा विस्तार भएको छ। राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या ३ करोड १ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो संख्या करिब २ करोड ७७ लाख रहेको थियो। मोबाइल बैंकिङमार्फत रकम स्थानान्तरण, बिल भुक्तानी, विभिन्न डिजिटल कारोबार तथा बैंकिङ सेवामा सहज पहुँच प्राप्त गर्न सकिने भएकाले यसको प्रयोग बढ्दै गएको छ।

बैंकिङ शाखाको संख्या भने घट्यो

बैंकिङ खाताको संख्या र डिजिटल सेवाको प्रयोग बढ्दै गए पनि बैंक तथा वित्तीय संस्थाका शाखाको संख्या भने घटेको छ। राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ११ हजार ५२६ रहेकोमा २०८३ असार मसान्तमा घटेर ११ हजार ३३२ कायम भएको छ। यसले बैंकिङ सेवा विस्तारमा भौतिक शाखासँगै डिजिटल माध्यमको भूमिका पनि बढ्दै गएको देखाउँछ।

समग्रमा नेपालको बैंकिङ प्रणालीमा निक्षेप खाता र डिजिटल बैंकिङ सेवाको विस्तार सकारात्मक देखिए पनि निक्षेपको तुलनामा कर्जा खाताको वृद्धि सुस्त रहेको छ। बैंक तथा वित्तीय संस्थाले संकलित स्रोतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै सर्वसाधारण र व्यवसायीको कर्जामा पहुँच विस्तार गर्नु चुनौतीपूर्ण विषय बनेको छ।

Ad