
बैंकिङ खबर / गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले स्थापनाको १९औँ वर्ष प्रवेशको अवसर पारेर बुधबारदेखि काठमाडौं महानगरपालिका-३, बालुवाटारस्थित आफ्नै केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखाको सेवा सुरु गरेको हो ।
बैंकको नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विनोद थापाले गरेका हुन् । बैंकका अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा आयोजित कार्यक्रममा नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो ।
नयाँ शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सुविधा प्राप्त गर्न सक्नेछन् । शाखामार्फत व्यक्तिगत तथा संस्थागत ग्राहकलाई आवश्यकताअनुसार विभिन्न वित्तीय सेवा उपलब्ध गराउने बैंकको लक्ष्य छ ।
गरिमा विकास बैंकले शाखा विस्तारलाई बैंकिङ पहुँच बढाउने माध्यमका रूपमा अघि बढाउँदै आएको छ । बैंकका अनुसार नयाँ शाखाबाट बालुवाटार तथा आसपासका क्षेत्रका सर्वसाधारण, व्यवसायी र संस्थागत ग्राहकलाई बैंकिङ सेवा लिन थप सहज हुनेछ ।
बैंकले शाखा विस्तारलाई भौतिक उपस्थितिमा वृद्धि गर्ने काममा मात्र सीमित नराखी स्थानीय आर्थिक गतिविधि, बचत परिचालन, उद्यमशीलता र उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने माध्यमका रूपमा लिएको जनाएको छ ।
देशका सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरेको बैंकले हाल करिब १० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बजारको सम्भावनालाई ध्यानमा राख्दै बैंकिङ सेवा विस्तार गर्ने रणनीति अघि बढाएको छ ।