Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

जीवन बीमामा विश्वासको संकट : लाखौँ पोलिसी निष्क्रिय, अर्बौँको बीमा जोखिममा

२०८३ कार्तिक १८ गते

बैंकिङ खबर / जीवन बीमा भविष्यको आर्थिक सुरक्षाका लागि गरिन्छ। तर नेपालमा ठूलो सङ्ख्यामा बीमालेख बीचमै निष्क्रिय हुने र बीमितले अवधि पूरा नहुँदै पोलिसी त्याग्ने प्रवृत्ति देखिएको छ। यसले बीमा कम्पनीको व्यवसायको गुणस्तरमाथि मात्र होइन, सर्वसाधारणको बीमाप्रतिको विश्वासमाथि पनि प्रश्न उठाएको छ।

नेपाल बीमा प्राधिकरणको अध्ययन तथा महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित तथ्यांकले जीवन बीमामा पोलिसी निरन्तरता चुनौतीपूर्ण बन्दै गएको देखाउँछ। आर्थिक वर्ष २०८०/८१ मा मात्रै ११ लाख ५८ हजार २९९ वटा जीवन बीमालेख व्यतित भएका थिए। ती बीमालेखसँग सम्बन्धित रकम ३४ अर्ब ३ करोड ७१ लाख रुपैयाँ थियो।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १२ लाख ५ हजार ७४ वटा बीमालेख व्यतित भएका थिए। त्यसको तुलनामा २०८०/८१ मा व्यतित बीमालेखको संख्या ३.८८ प्रतिशतले घटेको देखिन्छ। तर व्यतित बीमालेखसँग सम्बन्धित रकम भने ०.२६ प्रतिशतले बढेको छ।

यहाँ व्यतित र समर्पणलाई एउटै रूपमा बुझ्नु हुँदैन। नियमित प्रिमियम नतिरेपछि बीमालेख निष्क्रिय हुनु व्यतित हो। बीमितले बीचमै पोलिसी बन्द गरेर समर्पण मूल्य लिनु समर्पण हो। व्यतित बीमालेखको रकमलाई कम्पनीबाट बाहिरिएको नगद मान्न मिल्दैन। तर समर्पणबापत भुक्तानी भएको रकम भने वास्तविक नगद बहिर्गमन हो।

समर्पण बढ्नु अर्को चुनौती

जीवन बीमा क्षेत्रमा समर्पणको प्रवृत्ति पनि बढेको छ। आर्थिक वर्ष २०७९/८० मा ९६ हजार ९३८ वटा बीमालेख समर्पण भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा यो संख्या बढेर १ लाख १३ हजार ९७६ पुगेको छ। यो १७.५८ प्रतिशतको वृद्धि हो।

समर्पण मूल्य पनि बढेको छ। अघिल्लो वर्ष १३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ रहेको समर्पण मूल्य २०८०/८१ मा १४ अर्ब ५० करोड १३ लाख रुपैयाँ पुगेको छ। अर्थात् एक वर्षमा समर्पणबापत बीमा कम्पनीहरूले साढे १४ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेका छन्।

यसले बीमा कम्पनीको व्यवसायमा दोहोरो दबाब सिर्जना गर्छ। एकातिर नियमित नवीकरण प्रिमियम घट्ने जोखिम हुन्छ। अर्कोतिर, बीचमै पोलिसी समर्पण हुँदा कम्पनीले भविष्यमा प्राप्त गर्ने प्रिमियम र दीर्घकालीन बीमा व्यवसाय प्रभावित हुन सक्छ।

आर्थिक समस्याले पोलिसी निरन्तरतामा असर

बीमा प्राधिकरणको अध्ययनले पोलिसी व्यतित र समर्पण हुनुका पछाडि विभिन्न कारण देखाएको छ। अध्ययनमा सहभागी ७८.९ प्रतिशत बीमितले आर्थिक कठिनाइलाई प्रमुख कारणका रूपमा उल्लेख गरेका छन्।

त्यस्तै, ६१.२ प्रतिशतले घरायसी खर्च, उपचार र छोराछोरीको शिक्षाजस्ता तत्कालीन आवश्यकता पूरा गर्न पोलिसी समर्पण गर्नुपरेको बताएका छन्। यसले बीमा गर्ने नागरिकको आम्दानी र प्रिमियम तिर्न सक्ने क्षमताबीच तालमेल नमिलेको संकेत गर्छ।

कतिपयले आफ्नो वास्तविक आम्दानीको अवस्था नहेरी महँगो बीमा योजना लिने गरेको अध्ययनले देखाएको छ। अभिकर्ताले व्यक्तिगत वा सामाजिक सम्बन्धका आधारमा बीमा गराउने तर ग्राहकको भुक्तानी क्षमता पर्याप्त रूपमा मूल्यांकन नगर्ने समस्या पनि औंल्याइएको छ।

बीमा गर्दा दिइने आश्वासन र वास्तविक सुविधा बुझ्न नसक्दा पनि समस्या देखिएको छ। बीमालेखका सर्त, समर्पण मूल्य, पोलिसी धितोमा कर्जा लिन सकिने व्यवस्था र प्रिमियम भुक्तानीमा उपलब्ध विकल्पबारे पर्याप्त जानकारी नहुँदा बीमितले समस्या पर्दा सही निर्णय गर्न नसकेको अध्ययनको निष्कर्ष छ।

दाबी भुक्तानी र प्रतिफलप्रति असन्तुष्टि

बीमा कम्पनीको सेवाप्रति असन्तुष्टि पनि पोलिसी निरन्तरताको अर्को कारण बनेको छ। अध्ययनमा ६५.२ प्रतिशत उत्तरदाताले दाबी भुक्तानीमा ढिलाइ हुने गरेको बताएका छन्।

त्यस्तै, बैंक तथा सहकारीमा पाइने ब्याजसँग तुलना गर्दा बीमाबाट प्राप्त हुने बोनस र प्रतिफल अपेक्षाअनुसार नभएको गुनासो पनि देखिएको छ। बीमितले बीमालाई सुरक्षा योजनाभन्दा पनि बचत तथा प्रतिफलको माध्यमका रूपमा बुझ्ने प्रवृत्तिले यस्तो असन्तुष्टि बढाउन सक्छ।

जीवन बीमाको मुख्य उद्देश्य आर्थिक जोखिमबाट सुरक्षा प्रदान गर्नु हो। तर बीमा गराउँदा यही पक्ष स्पष्ट पार्न नसक्दा बीमितको अपेक्षा र वास्तविक सुविधाबीच अन्तर देखिने गरेको छ।

कम्पनी र नियामकको जिम्मेवारी

व्यतित र समर्पणको तथ्यांकले बीमा कम्पनीहरूलाई व्यवसाय विस्तारको मात्र होइन, पोलिसी टिकाउने रणनीतिको पनि आवश्यकता देखाएको छ। नयाँ पोलिसी बिक्रीलाई मात्र सफलताको मापदण्ड बनाउँदा पुराना बीमितले प्रिमियम निरन्तर तिरिरहेका छन् कि छैनन् भन्ने विषय ओझेलमा पर्न सक्छ।

कम्पनीहरूले बीमा गर्नुअघि ग्राहकको आम्दानी, नियमित खर्च र प्रिमियम तिर्न सक्ने क्षमताको मूल्यांकन गर्नुपर्छ। बीमालेखका सर्त, बोनस, समर्पण मूल्य र दाबी भुक्तानीको प्रक्रियाबारे स्पष्ट जानकारी दिनुपर्छ।

त्यस्तै, आर्थिक समस्या परेका बीमितलाई पोलिसी पुनः सक्रिय गर्ने, प्रिमियम भुक्तानीमा सहुलियत दिने वा उपलब्ध अन्य विकल्पबारे जानकारी गराउन आवश्यक छ। नियामकले पनि पोलिसी व्यतित र समर्पणको कारण छुट्टाछुट्टै अध्ययन गरी कम्पनीहरूलाई जवाफदेही बनाउनुपर्ने देखिन्छ।

जीवन बीमाको बजार विस्तार हुनु सकारात्मक हो। तर जारी भएका पोलिसीमध्ये कति वर्षौंसम्म सक्रिय रहन्छन् भन्ने प्रश्न अझ महत्त्वपूर्ण छ। लाखौँ पोलिसी निष्क्रिय हुनु र एक वर्षमै साढे १४ अर्ब रुपैयाँको पोलिसी समर्पण हुनु सामान्य व्यावसायिक उतारचढाव मात्रै होइन। यसले बीमा बजारमा बिक्रीको संख्या बढाउनेभन्दा पनि बीमितको विश्वास र पोलिसी निरन्तरतामा केन्द्रित हुनुपर्ने आवश्यकता देखाएको छ।

Ad