Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

भारतमा नेपालीका लागि क्यूआर भुक्तानी सेवा सुरु हुँदै

२०८३ मंसिर ९ गते

बैंकिङ खबर  /  भारत भ्रमणमा जाने नेपाली नागरिकले अब त्यहाँका पसल, होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानमा क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न पाउने भएका छन्। नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सेवा सञ्चालन गर्ने विषयमा सहमति जुट्ने दिशामा छलफल अघि बढेसँगै आगामी एक महिनाभित्रै नेपालीका लागि भारतमा क्यूआर भुक्तानी सुविधा उपलब्ध गराउने तयारी गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणपछि दुई देशबीच रोकिएको अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको विषयले पुनः गति लिएको हो। प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै नेपाल र भारतका भुक्तानी सेवा प्रदायकबीच सेवा कार्यान्वयनका विषयमा छलफल भएको थियो।

नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपे (Fonepay) र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (NPCI) का अधिकारीहरूबीच सोमबार र मंगलबार भएको छलफलमा क्यूआरमा आधारित सीमापार भुक्तानी सेवा सञ्चालन गर्ने विषयमा सकारात्मक समझदारी बनेको बताइएको छ ।

छलफलमा सहभागी एक अधिकारीका अनुसार दुवै देशमा आवश्यक प्राविधिक पूर्वाधार तयार भइसकेको छ। अब दुवै पक्षबीच औपचारिक सहमति भएपछि सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको छ। सबै प्रक्रिया अनुकूल भएमा आगामी एक महिनाभित्र सेवा सुरु गर्ने लक्ष्य राखिएको छ। यद्यपि, सेवा सञ्चालनको औपचारिक मिति, सहभागी बैंक तथा भुक्तानी एप र कारोबारसम्बन्धी विस्तृत सर्त सार्वजनिक भइसकेका छैनन् ।

तीन वर्षदेखिको प्रतीक्षा अन्त्य हुने अपेक्षा

नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी प्रणालीलाई जोड्ने सम्झौता सन् २०२३ जुनमा भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई देशका भुक्तानी प्रणालीलाई अन्तरआबद्ध गरी चरणबद्ध रूपमा डिजिटल कारोबार सञ्चालन गर्ने सहमति भएको थियो।

उक्त सम्झौताअन्तर्गत व्यक्ति–व्यक्ति (P2P) र व्यक्ति–व्यापारी (P2M) बीच डिजिटल भुक्तानी सेवा सञ्चालन गर्ने योजना अघि सारिएको थियो। यसका लागि नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र फोनपेलाई भारतीय पक्षको एनपीसीआईसँग जोड्ने व्यवस्था गरिएको थियो।

सम्झौताअनुसार व्यक्ति–व्यक्तिबीचको कारोबारका लागि एनसीएचएल र व्यक्ति–व्यापारीबीचको भुक्तानीका लागि फोनपेमार्फत सेवा सञ्चालन गर्ने योजना बनाइएको थियो ।

यसअन्तर्गत एनसीएचएलमार्फत हुने व्यक्ति–व्यक्ति (P2P) कारोबार सेवा यसअघि नै कार्यान्वयनमा आइसकेको छ। तर नेपाली नागरिकले भारतका व्यापारी तथा व्यावसायिक प्रतिष्ठानमा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने व्यक्ति-व्यापारी (P2M) सेवा भने सञ्चालनमा आउन सकेको थिएन ।

गत जेठमा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा पनि दुई देशबीच डिजिटल भुक्तानी सहकार्यलाई अघि बढाउने विषयमा समझदारी भएको थियो। त्यसपछि सीमापार व्यक्ति-व्यक्तिबीच डिजिटल माध्यमबाट रकम आदानप्रदान गर्ने व्यवस्था कार्यान्वयनमा आएको थियो। क्यूआरमा आधारित व्यापारी भुक्तानीलाई भने अर्को चरणमा अघि बढाउने बताइएको थियो । अहिले प्रधानमन्त्री शाहको भारत भ्रमणपछि उक्त बाँकी सेवा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको हो।

भारतमा नेपालीले कसरी गर्न सक्नेछन् भुक्तानी ?

प्रस्तावित व्यवस्था सञ्चालनमा आएपछि नेपाली नागरिकले नेपालमा प्रयोग गर्दै आएको आबद्ध बैंकिङ एप वा भुक्तानी प्रणालीमार्फत भारतका सेवामा आबद्ध व्यापारीको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यसका लागि भारतीय भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) र नेपालको फोनपे नेटवर्कबीच अन्तरआबद्धता कायम गरिनेछ। सेवा सञ्चालन भएपछि भारतमा किनमेल, होटल तथा रेस्टुरेन्टको बिल भुक्तानी र अन्य व्यावसायिक कारोबारका लागि नेपाली प्रयोगकर्ताले डिजिटल माध्यमबाट रकम तिर्न सक्ने अपेक्षा गरिएको छ ।

यसले विशेषगरी उपचार, अध्ययन, व्यापार तथा भ्रमणका लागि भारत जाने नेपालीलाई सहजता प्रदान गर्नेछ। नगद साट्ने, ठूलो रकम साथमा बोक्ने र साना कारोबारका लागि नगद व्यवस्थापन गर्नुपर्ने झन्झटसमेत कम हुने अपेक्षा गरिएको छ । यद्यपि, कुन-कुन नेपाली बैंक तथा भुक्तानी एपबाट सेवा प्रयोग गर्न सकिनेछ, कारोबारको सीमा कति हुनेछ र विनिमय दर तथा सेवा शुल्क कसरी निर्धारण गरिनेछ भन्ने विषयमा औपचारिक जानकारी आउन बाँकी छ ।

भारतबाट नेपालमा क्यूआर भुक्तानी सुविधा पहिल्यै

नेपाल र भारतबीच क्यूआर भुक्तानीको सुविधा दुवैतर्फ समान रूपमा सञ्चालनमा आउन सकेको छैन। भारतबाट नेपाल आउने भारतीय नागरिकले भने नेपालका विभिन्न व्यापारीक प्रतिष्ठानमा भारतीय डिजिटल भुक्तानी प्रणालीमार्फत क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने सुविधा पाइसकेका छन् ।

तर नेपालबाट भारत जाने नेपाली नागरिकले भारतीय व्यापारीको क्यूआर स्क्यान गरी नेपाली बैंकिङ एप वा भुक्तानी प्रणालीबाट रकम तिर्न पाउने सुविधा उपलब्ध थिएन।
यसले दुई देशबीच डिजिटल भुक्तानी प्रणालीको पहुँचमा असमानता सिर्जना गरेको थियो। अब नेपालीका लागि पनि भारतमा क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएमा सीमापार डिजिटल कारोबारमा पारस्परिक पहुँच विस्तार हुनेछ ।

बैंक तथा भुक्तानी प्रणालीका लागि नयाँ अवसर

नेपाल-भारतबीच क्यूआर भुक्तानी सेवा विस्तार हुनु केवल यात्रुका लागि सहजताको विषय मात्र होइन। यसले दुई देशबीचको डिजिटल वित्तीय कारोबार, भुक्तानी प्रणालीको अन्तरआबद्धता र नगदरहित अर्थतन्त्र विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दै गइरहेको अवस्थामा अन्तरदेशीय कारोबारमा समेत आफ्नै बैंकिङ एप र भुक्तानी प्रणाली प्रयोग गर्न पाउने सुविधाले डिजिटल वित्तीय सेवाको पहुँच थप विस्तार गर्नेछ ।

विशेषगरी सीमावर्ती क्षेत्रमा व्यापार गर्ने व्यवसायी, नियमित रूपमा भारत आवतजावत गर्ने नागरिक, विद्यार्थी तथा उपचारका लागि जाने बिरामीलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

तर सेवा प्रभावकारी बनाउन कारोबारको सीमा, विदेशी विनिमय व्यवस्थापन, विनिमय दर निर्धारण, सेवा शुल्क, ग्राहकको सुरक्षा र कारोबार विवाद समाधानसम्बन्धी व्यवस्था स्पष्ट हुनुपर्नेछ ।

दुवै देशका भुक्तानी प्रणालीबीच प्राविधिक पूर्वाधार तयार भइसकेको अवस्थामा अब औपचारिक सहमति र आवश्यक प्रक्रिया पूरा हुनु नै सेवा सञ्चालनको मुख्य चरण बनेको छ। तीन वर्षअघि भएको सम्झौताको बाँकी महत्त्वपूर्ण पक्ष कार्यान्वयनमा आउने तयारीसँगै नेपाली नागरिकका लागि भारतमा पनि डिजिटल भुक्तानीको नयाँ विकल्प खुल्ने अपेक्षा गरिएको छ ।

Ad