June 20th, 2016

“जहाँ जे फाल्यो त्यही उम्रन्छ, अनि झोला बोकेर विदेश किन ?”

Dr_Chiranjibi_Nepalमुलुकमा यो भएन त्यो भएन भनेर चौतर्फी उदासीनताहरु सुनिन्छ । वास्तवमै यस्तै उदासीनताका कारण मुलुकबाट अहिले दिनकै झण्डै दुई हजार युवा विदेशिरहेका छन् । देशबाट युवा शक्तिहरु धमाधम विदेशीन कुनै दृष्किोणबाट हेर्दा पनि मुलुकका लागि राम्रो मान्न सकिँदैन । युवा शक्ति देशको भविष्यसँग जोडिएका छन् । देश बनाउने शक्तिका रुपमा उनीहरुलाई लिइन्छ । देशका कर्णधारहरुको ‘डेस्टिनेशन’ नै अहिले विदेश भएको छ ।

हामी आफुलाई कृषि प्रधान मुलुकका नागरिक भन्छौँ । तर कृषि उपज आयात गर्छौँ । आज हामी बार्षिक ८ अर्बको तरकारी आयात गरिरहेका छौँ । विगतमा भारतीय नाकाबन्दी भयो । हामीलाई त्यतिबेला कति संकट पर्यो ? तेल आएन, ग्यास पाएन । बजारमा औषधीसमेत सकिने अवस्था आयो । खाने तेलको समेत हाहाकार हुने अवस्था आइसकेको थियो । त्यतिबेला आत्मनिर्भरताका कुराहरु थुप्रै सुनिए । तर जब नाकाबन्दी खुल्यो, त्यसपछि फेरी त्यस्ता कुराहरु भुलियो । खै आजभोली त्यस्ता कुरा सुन्नै पाइन छाड्यो । हामी अप्ठेरो पर्दा मात्रै चेत खुलाएजस्तो गर्छौँ । सहज भईसकेपछि दुख विर्सन्छौँ र भविष्यमा आइपर्न सक्ने त्यस्तै दुखबारे सोच्दैनौँ ।
 
हामी त यस्तो देशका नागरिक हौँ कि हाम्रो जमिनमा जहाँ जे फाल्यो त्यहीँ उम्रन्छ । हामीसँग पानी, माटो र उपयुक्त मौसम छ । सरकारले पनि कृषि तथा उत्पादनशील क्षेत्रमा लाग्नेहरुलाई निकै प्रोत्साहनमूलक कार्यक्रमहरु ल्याएको छ । बजेटमा घोषणा भएका पछिल्ला कृषि योजनाहरुलाई हेर्ने हो भने सरकारले कृषिलाई कति महत्व दिएको छ भन्ने कुरा देख्न सकिन्छ । तर यी सब कुरालाई नजरअन्दाज गरेर आज पनि विदेश जानेहरुको संख्या घटेको छैन ।
 
यहाँ केही छैन भन्ने मानसिकता गलत हो । यहाँ सबथोक छ, छैन भने केवल हाम्रो फराकिलो सोच र जाँगर । नेपालमा आफ्नो पाखो भित्तो खनेर, आफ्नो काम गरेर खान लाज मानिन्छ । तर अर्काको देशमा चाहिँ जस्तो पनि काम गर्छु भनेर यहाँबाट बाहिर जानु राम्रो हो ? अब हामीले सोचमा परिवर्तन गर्ने बेला आएको छ । यही मुलुकमा उदाहरणहरु छन्, जो हजारबाट व्यवसाय गरेर करोडमा कारोबार गरिरहेका छन्, सफल उद्यमी बनेका छन् । नेपालमा अवसरहरु थुप्रै छन् । हामीले पहिचान गर्न नसकेको हो । यही देशमा पसिना बगाएर सफल भएकाहरुलाई हामीले देख्न नसकेको हो ।
 
हामी चाहिँ अर्काको देशमा मरिमरि काम गर्न जान्छौँ । तर हाम्रो देशमा चाहिँ विदेशीहरु आएर धमाधम व्यवसायमा लागिरहेका छन् । हाम्रो देशमा केही हुँदैन थियो भने किन आउँथे उनीहरु र किन टिकिरहन्थे व्यवसायमा ?

सरकारले यो गरेन त्यो गरेन भन्ने टिप्पणी गर्ने हाम्रो एउटा समस्या साझाजस्तै बनेको छ । निश्चय पनि मुलुक संक्रमणकालीन अवस्थामा गुज्रिँदा सबै क्षेत्रमा अनुकुल प्रभाव नरहन सकछ । तर त्यस्तो अवस्थामा हामी नागरिक आफैँ पनि सक्रिय हुन सक्छौँ । हामीसँग अवसर र चुनौतिहरु बराबरी नै छन् । यहाँ चुनौतिलाई ठूलो ठानियो तर अवसरलाई चिन्न सकिएन । विश्वको इतिहास हेर्ने हो भने नागरिकहरु सचेत र जागरुक नभईकन कुनै पनि देशको विकासले गति लिन सकेको देखिन्नँ । सरकार आफैँमा केही होइन । यो त जनताले नै बनाएको हो । त्यसैले देश विकास गर्नुपर्छ भने पहिला आफुले आफैँलाई विकास गर्नुपर्छ । त्यसको लागि विदेश हैन नेपालमै केही गर्नुपर्छ । हो, नेपालमा बसेरै केही गर्दा थोरबहुत चुनौति अवस्य छन् । तर चुनौतिबाट डराएर हामीले ठूला अवसरहरु गुमाईरहेका छाँै । यसबारे अरुले सोचिदिँदैनन्, हामी आफैले सोच्नुपर्छ । (मिडिया इन्टरनेशनलको आयोजनामा गत जेठ ३० गते सम्पन्न ‘समृद्धिको बाटो’ कार्यक्रममा गभर्नर डा. नेपालद्धारा व्यक्त गरिएको मन्तब्यमा आधारित


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]