Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

धितोपत्र बोर्डद्धारा पूँजी बजार सुधारका लागि कार्ययोजना ल्याउँदै

२०८३ असार २५ गते

एक साताभित्र विस्तृत मार्गचित्र सार्वजनिक गर्ने तयारी, कानुन र नियमन पनि पुनरावलोकन हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको हित संरक्षणका लागि एक साताभित्र विस्तृत कार्ययोजना सार्वजनिक गर्ने घोषणा गरेको छ। बोर्डले शुक्रबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय धितोपत्र बजारमा देखिएका समस्या तथा लगानीकर्ताका गुनासाप्रति आफू गम्भीर रहेको जनाएको छ। बजार सुधार र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै समयबद्ध कार्ययोजनासहित विस्तृत पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको बोर्डले जनाएको छ। बोर्डका अनुसार धितोपत्र व्यवसायी तथा अनुमति प्राप्त अन्य संस्थाहरूले मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयनलगायत बजारसम्बन्धी विषयमा बोर्डबाट जारी निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ। साथै बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन सार्वजनिक निष्कासन प्रक्रिया तथा नियामकीय व्यवस्थालाई अझ व्यवस्थित बनाइने जनाइएको छ।

यसका लागि विद्यमान धितोपत्रसम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, अन्य सम्बन्धित नियमावली तथा सूचीकृत संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिकालगायत कानुनी व्यवस्थाको समसामयिक पुनरावलोकन प्रक्रिया पनि सुरु भइसकेको बोर्डले उल्लेख गरेको छ। बोर्डले बजारमा फैलिएका हल्ला, बहकाउ र अफवाहका आधारमा लगानी निर्णय नगर्न पनि लगानीकर्तालाई आग्रह गरेको छ। आफ्नै अध्ययन, विश्लेषण र जोखिम वहन क्षमताका आधारमा मात्रै लगानी गर्न बोर्डले सुझाव दिएको छ। प्रवक्ता निरञ्जय घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा लगानीकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकता दिँदै पूँजी बजारलाई थप पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सुधारका काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।