Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
दृष्टिकोण

लघुवित्त कार्यक्रममा लैंगिक मूलप्रवाहिकरण : दिनेश कटवाल

२०८३ जेष्ठ १९ गते

दिनेश कटवाल 

विषय प्रवेशः लघुवित्त कार्यक्रमले समाजका निम्न आय भएका तथा वित्तीय पहुँचबाट बञ्चित वर्गलाई वित्तीय सेवा प्रदान गरी आर्थिक तथा सामाजिक उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विशेष गरी महिला, विपन्न परिवार तथा ग्रामीण समुदायलाई लक्षित गरी सञ्चालन गरिएका कार्यक्रमहरुले आर्थिक सशक्तिकरणमा उल्लेखनीय योगदान दिएका छन् । यस्ता कार्यक्रमलाई अझ प्रभवकारी, समावेशी तथा न्यायपूर्ण बनाउन लैगिक मूलप्रवाहिकरण आवश्यक मानिन्छ ।

लैंगिक मूलप्रवाहिकरण भन्नाले महिला र पुरुषका आवश्यकता, अधिकार, अवसर र सहभागितालाई योजना निर्माणदेखि कार्यान्वयन, अनुगमन तथा मूल्याकंन सम्मका सम्पूर्ण प्रक्रियामा समेट्ने एक प्रक्रिया हो । यसको उद्देश्य महिला र पुरुषबीच समान अवसर सुनिश्चित गर्नु तथा कुनै पनि प्रकारको लैगिक विभेद हटाउनु हो ।

लघुवित्त क्षेत्रमा लैंगिक मूलप्रवाहिकरणको महत्व विशेष छ । अधिकांश लघुवित्त कार्यक्रमहरु महिलामुखी भएतापनि महिलाको वास्तविक निर्णय क्षमता, नेतृत्व विकास तथा आर्थिक स्वतन्त्रता अझै चुनौतीपूर्ण विषयका रुपमा रहेको छन् । त्यसैले महिलालाई केवल कर्जाको पहुँच प्रदान गर्नु मात्र पर्याप्त हुदैन, उनीहरुलाई वित्तीय शिक्षा, उद्यम विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सीपमूलक तालिमसमेत आवश्यक हुन्छ ।

लघुवित्त कार्यक्रममा लैंगिक मूलप्रवाहिकरण अन्तर्गत महिलाको सहभागिता वृद्धि गर्ने, महिला उद्यमशीलता विकास गर्ने, समान अवसर प्रदान गर्ने तथा वित्तीय सेवामा सहज पहुँच सुनिश्चित गर्ने कार्यहरु गरिन्छ । यसले महिलाको आर्थिक अवस्था सुधार गर्नुको साथै सामाजिक हैसियत वृद्धि गर्न समेत मद्दत गर्दछ । तर यसको कार्यान्वयनमा केही चुनौतीहरु पनि छन् । परम्परागत सोच, सामाजिक विभेद, सीमित शिक्षा तथा आर्थिक स्रोतको अभावले लैंगिक समानता कायम गर्न कठिनाइ उत्पन्न गर्न सक्छ । यस्ता चुनौती समाधानको लागि लघुवित्त वित्तीय संस्थाहरुले संस्थागत नीति निर्माण, जनचेतना अभिवृद्धि तथा क्षमता विकासका कार्यक्रममा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

यसर्थ, लघुवित्त कार्यक्रममा लैंगिक मूलप्रवाहिकरणले आर्थिक विकाससँगै सामाजिक न्याय र समावेशितालाई समेत प्रवद्र्धन गर्दछ । दीगो विकास र सशक्तिकरणको लागि महिला तथा पुरुष दुवैलाई समान अवसर प्रदान गर्दै लैंगिक संवेदनशील कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

पृष्ठभूमी:

सन् ११९७ मा UN Economic and Social Council मा UN Agency हरुले सही गर्दा Gender Mainstreaming लाई यसरी परिभाषित गरेको छ, लैंगिक मूलप्रवाहिकरण महिला र पुरुषसंग सम्बन्धित कुनै पनि क्षेत्र वा तहमा विधि निर्माण, नीति वा कार्यक्रम तर्जुमा आदि जस्ता कुनै पनि प्रकारको कार्य गर्दा अवलम्बन गरिने एक प्रकृया हो । सामाजिक लिंगभेदको असमानता हटाई महिला र पुरुष वीच समानता कायम गर्ने उद्धेश्यले महिला र पुरुषसंग सम्बन्धित कुनै पनि राजनैतिक, आर्थिक एवं सामाजिक कुनै पनि क्षेत्रको सम्पूर्ण योजना निर्माण, कार्यान्वयन, अनुगमन र मूल्यांकण गर्ने नीति एवं कार्यक्रम बनाउने एक किसिमको कार्यनीति हो । यसको अन्तिम लक्ष्य लैगिक समानता कायम गर्नु हो । “Gender mainstreaming as the process of assessing the implications for women and men of any planned action, including legislation, policies or programmes, in any area and at all levels. It is a strategy for making women’s as well as men’s concerns and experiences an integral dimension in the design, implementation, monitoring and evaluation of policies and programmes in all political, economic and societal spheres so that women and men benefit equally and inequality is not perpetuated. The ultimate goal is to achieve gender equality.”

नेपालमां आधा भन्दा बढि जनसंख्याको भाग महिलाले ओगटे पनि उनीहरु विभेदयुक्त अवस्थाका कारण हरेक क्षेत्रमा पछाडि परेकाले लघुवित्त कार्यक्रमहरुमा पनि उनीहरुको पहुंच तथा नियन्त्रण नहुनु स्वाभिव नै हो । महिलाहरुको सेवाग्राही तहमा सहभागी भए पनि संस्थागत नीति निर्माण तहमा न्यून मात्रामा पंहुच भएको कुरा प्रष्टै छ । तर गरिवी निवारणकालागि अवसरहरुमा महिला र पुरुषको समान पहुंच, महिला सशक्तिकरण तथा अधारभूत मानव अधिकार जस्ता कुराहरु अति नै आवश्यक हुन्छ । अर्थात् लघुवित्त क्षेत्रले लैंगिक मूलप्रवाहीकरणलाई गरिवी निवारणको एउटा दिगो अस्त्रको रुपमा लिई सेवाग्राही र संस्थागत नीति निर्माण दुवै तहमा लैगिक मूलप्रवाहीकरण गर्ने सम्बन्धी रणनीतिहरु बनाउनु आजको प्रमुख आवश्यक्ता भएको छ ।

समाज एउटा सिंगो शरीर हो भने समाज संरचनाको आधा हिस्सा महिला वर्ग हो । समाजको समग्र विकासकालागि महिला वर्गको विकास अपरिहार्य देखिन्छ । हाम्रो देशमा कूल जनसंख्याको ५१.०२ प्रतिशत भाग अर्थात् सम्पूर्ण आकाशको आधा जति भाग महिलाहरुले ओगटेका छन् । खेती किसानी तथा तथा घरेलू गृहकार्यको ७३ प्रतिशत भाग महिलाहरुद्धारा नै पूरा गरिन्छ । औपचाकि तथा अनौपचारिक गरी राष्ट्रिय आयमा महिला मात्रको योगदान ४० देखि ५० प्रतिशत योगदान रहेको देखिन्छ ।

संक्षेपमा भन्नु पर्दा नेपाली महिलाहरु आफ्नो पारिवारिक आय आर्जनमा सर्वाधिक भूमिका खेल्छन् तर आय, सम्पति, शिक्षा र स्वास्थ्य आदि सुविधा भने पुरुष भन्दा कम प्राप्त गर्न पाउंछन् । सम्पति र पारिवारिक कुरामा पुरुष भन्दा महिलाको कानूनी अधिकार एकदमै न्यून रुपमा प्रयोग गर्न पाउंछन् । यसरी महिला र पुरुषमा व्यापक समाजिक लिंगभेद विद्यमान रहेको देखिन्छ । यति ठूलो संख्यामा रहेको समुदायको समयोचित र वहुआयामिक विकास विना देशले अपेक्षा गरेको सर्वाङ्गिण विकासको लक्ष्य कदापी हासिल हुन सक्दैन । यसकालागि जवसम्म महिलाहरुको आर्थिक स्तर उठ्दैन, शिक्षा एवं चेतनाको कमी रहन्छ, तवसम्म महिलावर्ग आर्थिक एवं सामाजिक शोषण तथा लिंगभेदबाट अक्रान्त भई रहन्छन् । यीनै तथ्यहरुलाई हृदयंगम गरी सरकारी, अद्र्ध सरकारी तथा बैंकिंग निकायहरुबाट महिला समुदायकालागि विविध किसिमका कार्यक्रमहरु संचालित भई आएका छन् । जसमध्ये लघुवित्त कार्यक्रम पनि एक हो । यस्ता किसिमका कार्यक्रमहरु संचालन गरिदा सामाजिक लिंगभेदको वारेमा संवेदनशिल भएर आत्मसात गरिनु आवश्यक छ ।

१. समाजिक लिंगभेद र लघुवित्त

समाजिक लिंगभेद र लघुवित्त नयां विषय नभए पनि आजको सन्दर्भमा अत्यन्त चर्चा, वहस एवं प्राथमिकताको विषय बन्दै गएको छ । न्यून आय स्तर भएका व्यक्तिहरुकालागि संचालित लघुवित्त उद्योग (Micro-finance Industry)ले महिलाहरुको कार्यनीति आवश्यक्ता (Strategic Needs) लाई पुरा गर्नु पर्छ । हुन त वित्तीय सेवाहरु प्रदान गरी लघुवित्त संस्थाहरु महिलालाई लक्षित वर्ग बनाई मूलतः महिलाहरुकै वीचमा कार्य गरी रहेको छ । तथापि महिला उद्यमीहरुको Gender Isuue को सन्दर्भमा समान बुझाई (Common Understanding) हुन नसकेकोले वाञ्छित प्रगति हुन सकेको छैन ।

महिला र सामाजिक लिंगभेद एक अर्काका पर्यायका रुपमा रहेको देखिन्छ । समाजद्वारा निर्मित र प्रचलनमा ल्याईएको महिला पुरुषको सामाजिक सम्बन्ध र भूमिकालाई समाजिक लिंगभेद वा न्भलमभच भनिन्छ । विश्वको जनसंख्याको आधा भाग ओगटने आधा शक्ति महिलाहरुको रहेकोछ । तर विकासको फल महिला र पुरुषमा वरावरीमा हुनु पर्नेमा व्यवहारमा त्यसो भएको पाइदैन । अतः महिलाहरुको स्थितिमा सुधार नगरी विकास संभव हुंदैन । विकासमा महिला नेतृत्व (WID) हुनु पर्ने मान्यता विकास भएको पाईन्छ । उक्त मान्यता अझ परिस्कृत हुंदै अहिले विकासमा महिला र पुरुषको समान सहभागिता, आफ्ना आफ्ना चाहना र आवश्यक्तानुरुप समाधानका मार्गहरु खोज्ने, समाजका शोषित, पिडित र पिछडिएका वर्गको उत्थानमा जोड दिने हिसावले महिला पुरुष समविकास (GAD) को अवधारणामा रुपान्तरित हुन पुगेकोे छ ।

लघुवित्त कार्यक्रमले शतप्रतिशत अवसर महिलालाई नै प्रदान गरेको छ । यस अर्थमा सर्वसाधारणले लघुवित्तलाई मूलतः Gender अथवा महिलाको कार्यक्रम भनी बुुझ्ने गरेको पाईन्छ । त्यसैगरी लघुवित्त संचालकहरुले पनि सेवाबाट बञ्चित महिलामा लघुवित्त सेवाको पंहुच पुर्‍याउनु पर्छ भन्ने धारणा राखेको पाईन्छ ।

लघुवित्त कार्यक्रम मूलतः महिला केन्द्रीत (focused) कार्यक्रम हो । यसमा महिलालाई Gender को मूल पक्षसंग समन्वित गरिएको छ । यसले महिलालाई हरेक तहमा जिम्मेवार बनाउने प्रयास गरेको छ । प्रथमतः यसले अधिकांश महिलामा दीगो रुपमा यसको पँहुच बढाउने कुरोलाई जोड दिएको छ । साथै यसले महिलाको नेतृत्व र लैंगिक संवेदना (Gender Sensitivity) लाई समेत महत्व प्रदान गरेको छ । अन्ततः महिलाका माध्यमले विपन्न परिवारको जीवनलाई रुपान्तरण गर्नु यसको ध्येय रहेको छ । यसरी लघुवित्त कार्यक्रमका हरेक क्रियाकलापहरु तीन न्यून रेखा (Tripple Bottom Line) अर्थात् दीगोपन (Sustainabilty), पँहुच (Outreach) र रुपान्तरण (Transformation) को आधारमा संचालन गरिन्छ ।

२. लघुवित्तमा महिलालाई लक्षित बनाइनुका मान्यताहरु
महिलालाई विकास एवं लैंगिक मूलप्रवाहमा समाहित गर्न लघुवित्तले महिलालाई नै मुख्य लक्षित वर्ग बनाएको छ । यसका मान्यताहरु निम्नलिखित छन्ः

  •  महिलालाई कर्जा, बचत, वीमा वा पेन्सन जस्ता लघुवित्त सेवाको नितान्त आवश्यक्ता देखिएको
  •  महिलाहरुमा अनुशासन, योग्यता, पंंहुच, सुविधा र विश्वसनीयता आदि कारणले,
  •  संगठित वा असंगठीत क्षेत्रबाट प्रवाह गरिने सुविधाको अपार्याप्तताका कारणले,
  •  बचत र कर्जाले महिलालाई नयां आर्थिक कृयाकलाप संचालन गरी आय आर्जन गर्न सवल बनाउने भएकाले,
  •  बचत र कर्जाले आयमा अभिवृद्धि भई उनीहरु आफूलाई चाहिने आवश्यक सम्पत्ती जोडनामा मद्यत गर्ने भएकाले,
  •  आय र सम्पतिमा बृद्धिले सम्पत्ती माथी महिलाको पहुँच बढ्छ र परिवारको हित हुने भएकाले,
  •  महिलाहरु बढि इमानदार भएकाले असुली दर बढी हुने कारणले,

 सामाजिक, आर्थिक, राजनैतिक हिसावले पछाडि परेकाले अगाडि ल्याउन महिलाकालागि साकारात्मक भेदभाव (Positive Discrimination) गर्नु पर्ने भएकाले ।

३. लघुवित्तले लैंगिक विभेदको क्षेत्रमा गरेको योगदान

लघुवित्त कार्यक्रमले लघुवित्तका माध्यमबाट पुर्‍याएको एउटा महत्वपूर्ण योगदान हो ( महिला सशक्तिकरण । यसले पंहुच मात्र होइन, ठूलो संख्यामा गरिव महिला सदस्यहरुलाई सशक्त समेत गरेको छ । महिलाहरुको आय आर्जन गर्ने क्षमतामा मात्र अभिवृद्धि गरेको छैन वरु आर्थिक सवलीकरणको साथै महिला मात्रको सम्पूर्ण विकास एवं हित (Well-being)मा ठूलो योगदान पुर्‍याएको छ । यसले सामाजिक एवं राजनैतिक सशक्तिकरणमा समेत मद्यत गरेको छ । समूहमा आधारित लघुवित्त कार्यक्रमले व्यक्तिगत लगानी भन्दा सामूहिक लगानी मार्फत महिला सशक्तिकरणमा ध्यान दिएको छ । घरको चूल्हो चौकामा सीमित विपन्न महिलाहरु आज लघुवित्तका माध्यमबाट घरको एक महत्वपूर्ण नेतृत्व दिन सक्ने (आर्थिक र सामाजिक) व्यक्तिका रुपमा गनिन थालेका छन् । समूहमा आवद्ध हुने, सामुदायिक भावनाको विकास गर्ने र समूहको नेतृत्व दिन सक्ने वर्गमा दरिन थालेका छन् । लघु कर्जा प्रस्ताव गर्ने, बचतको वानी बसाल्ने, परिवारिक शिक्षा, स्वास्थ्य समेतमा ध्यान पुर्‍याउने र परी आउ्रदा समाजकै नेतृत्व दिन सक्ने सम्म भएका देखिन्छन् । यस्तो सामाजिक, आर्थिक परिवर्तनले महिलामा सशक्तिकरणको वातावरण हुर्किएको देखिन्छ । गरिवी निवारणको कार्यमा यस पक्षले महत्वपूर्ण र परिवर्तनकारी भूमिका निर्वाह गर्न सक्छ ।

५१ वटा लघुवित्त वित्तीयसंस्थाहरुले २०८२ पौष मसान्तसम्म जम्मा १४,९६,३८२ समूह गठन गरेका छन् । ७७ वटै जिल्लामा लघुवित्त कार्यक्रम विस्तार गरेको र जम्मा ६४,३०,३७४ सदस्य, मध्ये ६१,५३,३०९ जना महिला सदस्य रहेका छन् भने पुरुषको संख्या २,७७,०६५ मात्र रहेको छ । कुल २७,२२,७२२ जना ऋणी सदस्यहरु मध्ये २६,०७,३१६ जना महिला सदस्य रहेको छ भने पुरुषको संख्या १,१५,४०६ जना मात्र रहेको छ ।

संक्षेपमा, लघुवित्त संस्थाहरुले लघवित्त सेवालाई महिला सशक्तिकरणको प्रवेश विन्दु मानी त्यसैका माध्यमले महिलाको आर्थिक, समाजिक र राजनैतिक तथा कानूनी सशक्तिकरण गर्ने र विपन्न मात्रको हित गर्ने उद्देश्य वोकेको छ । लघुवित्त संचालनमा मुख्यतया तीन किसिमका नमूनाहरु (Paradigms) पाइन्छन्, जस्तैः Feminist empowerment paradigm, Poverty alleviation paradigm / Financial sustainability paradigm. यी तीनै स्वरुपमा लघुवित्तले समान हिसावमा महिला सशत्तिकरणलाई जोड दिएको छ ।

४. लघुवित्त कार्यक्रममा लैंगिक मूलप्राहिकरणका मुद्याहरु

  •  देशका विभिन्न भूभागका अधिकांश महिलाहरु अद्यावदिक रुपमा लघुवित्त सेवावाट बञ्चित रहनु,
  •  उत्पादनशील कार्यमा महिलाहरुको सहभागिता दिनानुदिन बढ्दो क्रममा रहेको तर उनीहरुको रुचि, चाहना र आवश्यक्तानुशार सेवाका प्रकारहरुमा विविधिकरण नहुनु,
  •  मानवीय एवं प्राकृतिक विपतका कारण आर्थिक संकट आइपर्दा अन्य वैकल्पिक उपायहरुको रुपमा विभिन्न क्ष्ँोत्रगत कार्यक्रमहरु? (Sectoral Program) वीच मेल (Linkage) नुहुनु,
  •  महिलाहरुको पूर्ण सशक्तिकरणकालागि आर्थिक वाहेक उनीहरुको मानसिक, सामाजिक र राजनैतिक सशक्तिकरणमा उचीत ध्यान जान नसक्नु,
  •  महिलालाई सानो ऋण, सानो किस्ता, सजिलो बचत र सिमित कार्यकोलागि मात्र कार्यक्रममा समावेश गर्ने मान्यता विश्वव्यापी रुपमा कायम रहनुले सम्पति माथि महिलाको पूण नियन्त्रण कायम हुन नसक्नु,
  •  केन्द्र बैठकमा ऋणको साथ साथै बचतको मौज्दात वारे सार्वजनिक रुपमा जानकारी दिइनाले पुरुषहरुबाट बचत रकम प्राप्त गर्न व्यापक दवाव एवं प्रताडना खेप्नु,
  •  सामाजिक लिंगभेद हटाउने भनी परिभाषित गरिएको लघुवित्त कार्यक्रममा महिलालाई मात्र सहभागिता गराउनाले पुरुषमाथि भेदभाव गरिएको भनी आक्षेप आउनु आदि 

५. लघुवित्त कार्यक्रममा लैंगिक मूलप्रवाहिकरणका समस्याहरु

  • लघुवित्तमा लैंगिक मूलप्रवाहीकरणका मूख्य चूनौतिहरु यस रहेका छन्ः
  •  महिलाको कार्यक्रम भनियता पनि लघुवित्त वित्तीय संस्थाहरुको उच्च तहमा महिलाको उपस्थिती न्यून हुनु,
  •  महिलाहरुसंग दैनिक केन्द्र बैठक संचालन गर्ने कर्मचारीहरुमा पुरुषको बाहुल्यता हुनु,
  •  महिलाहरुलाई केन्द्र बैठक संचालनमा उचित वातावरण सहितको वस्ने ठाँउको अभाव रहनु्,
  •  लघुवित्त एउटा वित्तिय सेवा प्रवाह गर्ने कार्यक्रम भएकोले Gender Analysis / Gender Isues वारेमा कर्मचारीहरुमा अनुभवको कमी हुनु,
  •  Donor ले ग्राहक सदस्यहरुका यस्ता पक्ष भन्दा संस्थागत दीगोपन (Institutional Sustainability) माथि बढि जोड दिनु,
  •  महिलाहरुका विविध आवश्यक्तालाई परिपूर्ति गर्ने लचकता हालको लघुवित्त प्रणालीमा विद्यमान नहुनु,
  •  Gender Dynamics ले परिवारमा यदाकदा नकारात्मक प्रभाव पर्नु,
  •  लघु (Micro) बाट साना (Small) व्यवशाय (Enterprise) मा फडको मार्न अधिकांश महिलाकालागि समस्या हुनु,
  •  पारिवारिक आम्दानीमा पुरुषकै नियन्त्रण रहेकाले महिलाहरु कर्जा प्राप्त गर्ने माध्यम मात्र भएको र उनीहरुले लिएको ऋणको अधिकांश भाग घरेलु आवश्यक्ताहरुको परिपूर्तिमा खर्च हुने र किस्ता तिर्नकालागि पुरुषमाथि निर्भर रहनु,
  •  महिलाको अवस्थामा गुणात्मक सुधार ल्याउन लघुवित्त सेवाका अतिरिक्त अन्य वैकल्पिक सेवाहरु आवश्यक हुने तर साधन श्रोतको अभावका कारण लघुवित्त संस्थाहरुले उक्त सेवाहरु प्रदान गर्न नसक्नु, आदि ।

६. लघुवित्तमा संस्थागत र सेवाग्राही स्तरमा लैंगिक मूलप्रवाहिकरण

लघुवित्त संस्थाले आफू भित्र लैंगिक समानतालाई आत्मसात गर्न सक्दैन, त्यसले महिला ग्राहकहरुको लैंगिक समानताकालागि ठूलो योगदान गर्न सक्दैन । लघुवित्त संस्थाहरुले महिलाहरुलाई सेवा प्रवाह गरेर मात्र लैंगिक समानताको लक्ष्य पुरा हुंदैन । त्यसकालागि यस्ता संस्थाहरुले बढि एकिकृत (Integrated) र सही Holistic Strategy का साथ लैगिक सिद्धान्त (Gender Oriented Approach) पकडेर संस्था भित्र मूलप्रवाहिकरण (Mainstreaming गर्नु पर्छ । लैगिक मूलप्रवाहिकरणको अर्थ लैगिक समानता (Gender Equity) को वोध मात्र होइन, वरु संस्थाको संरचना र संस्कारमा समेत त्यो कुरा प्रतिविम्वित हुनु पर्छ ।

लघुवित्त संस्थाहरुले संस्थाभित्र लागु हुने गरी संस्थागत लैंगिक नीति निर्माण गर्नु पर्छ । उक्त नीति अन्तर्गत महिला कर्मचारीलाई रोजगारीकोलागि समान अवसर दिने कुरालाई व्यवस्थित गरिनु पर्छ । त्यतिमात्र होइन संस्थाको उच्च व्यवस्थापन र कार्यसमितिमा समेत महिलाको प्रतिनीधित्व गराउने कुरालाई निश्चित एवं नियमित गर्नु पर्छ । यसकालागि भर्ना वा प्रवेश वा छनौट गरिदा लैंगिक समानताको नीति अख्तियार गर्ने, उनीहरुको सशक्तिकरणकालागि शिप, क्षमता, दक्षतामा अभिबृद्धि गर्न विभिनन किसिमका तालिम, सुविधा र गहन जिम्मेवारी दिने, काम गर्ने सहज वातावरण बनाई दिने लगायतका कार्यहरु गर्न सके संस्थागत रुपमा महिला मूलप्रवाहिकरणमा समाहित हुने विश्वास गर्न सकिन्छ । संभवभए योग्य एवं सक्षम ग्राहक सदस्यहरुबाट संस्थाको कार्यसमितिका सदस्यमा मनोनयन तथा कर्मचारीमा भर्ना गर्ने नीति बनाइनु पर्छ । नयां वस्तु एवं सेवा निर्माण गरिदा होस वा भएका वस्तु एवं सेवा वा नीति नियमका वारेमा मूल्यांकण गर्नु पर्दा सदस्यहरुको सहभागीतात्मक छलफलबाट आएको निष्कशलाई कार्यान्वयनमा ल्याइनु पर्छ ।

त्यसैगरी ग्राहक स्तरमा लैगिक मूलप्रवाहिकरण गर्नकालागि बढि भन्दा बढि बञ्चित महिलासम्म लघुवित्त कार्यक्रमको पंहुच बढाउने, चेतना, शिक्षा र शिप विकासका माध्यमले महिलालाई प्रत्यक्ष फाइदा पुर्‍याउने, महिलाका विविध चाहना, रुचि र आवश्यक्तानुरुपका सेवाको प्रकारमा विविधिकरण गर्ने, सम्पतिमाथ महिलाको अधिकार आदि जस्ता विषयमा र अन्य संस्थाहरुका साथमा लघुवित्त संस्थाहरुले समेत गर्ने, महिला प्रतिको पुरुषको भेदभावयुक्त व्यवहारलाई सुधार गर्न महिला र पुरुष दुवैलाई प्रशिक्षित गर्ने आदि कार्य गर्नु पर्ने हुन्छ । साथै लघुवित्तमा सेवाग्राहीहरुको लैंगिक मूलप्रवाहीकरणकालागि थप निम्न कार्यहरु गरिनु पर्छः

  •  बजार सम्बन्धि ज्ञानको विकास गर्ने,
  •  परिवारिक, सामाजिक र संस्थाको मान्तयता र पदीय मर्यादामा चूनौति दिने क्षमताको विकास गर्ने,
  •  महिलाकै सहभागीतामा ऋणबाट व्यवशाय संचालन र व्यवस्थापन गर्ने,
  •  पुरुषको परम्परागत कार्य भनी परिभाषित गरेको कार्यको वारेमा ज्ञान एवं शिपको विकास गर्ने,
  •  अन्तरिक बैठक र सार्वजनिक मञ्चमा सार्वजनिक भनाईहरु राख्न सक्ने बनाउने,
  •  समूह र केन्द्रको संगठन र व्यवस्थापनमा दक्षत बनाउने,
  •  कार्यनीतिक योजना निर्माण गर्न सक्ने बनाउने,
  •  श्रोत परिचालन र उपलब्ध गराउन सक्ने बनाउने,
  •  संस्थागत सम्बन्धको व्यवस्थापन गर्न सक्ने बनाउने,
  •  व्यापारिक सम्बन्धको विस्तार गर्न सक्ने बनाउने आदि ।

७. लघुवित्तमा लैंगिक मूलप्रवाहिकरणकालागि नीतिगत सुझावहरु

लघुवित्त संस्थाले आफ्नो सेवाको पंहुच धेरै महिलाहरुमा उल्लेखनीय रुपमा अभिवृद्धि गरेको छ । सेवाका साथ साथ महिलाको सशक्तिकरणमा पनि उत्तिकै योगदान गरेको छ । यसर्थ यतिमै संतोष गर्ने ठाऊं छैन । त्यसैकारण यस क्षेत्रबाट लैंगिक मूलप्रवाहिकरणकालागि थप योगदान पुगोस भन्नकालागि निम्न वमोजिमका सुझावहरु पेश गरिएको छ ।

  •  कर्जाबाट खरिद गरिएको सम्पति महिलाको नाममा दत्र्ता गराउने व्यवस्था मिलाउने,
  •  महिलालाई दिईने सानो ऋणबाट ठूलो ऋणमा बढोत्तरी (Graduation) गर्न स्पष्ट नीति बनाइनु पर्छ,
  •  स्वास्थ्य, शिक्षा, घर निर्माण लगायत नयां कृयाकिलापकालागि “Multple Choice Option” मा आधारित गरिनु पर्छ,
  •  बचतमा बढी व्याजदर दिई बचतलाई अझ प्रवद्र्धन गरिनु पर्छ,
  •  पारिवारिक सम्पन्नताकालागि छोरीहरुलाई शिक्षा दिने जस्ता कार्यकालागि पुरुषकोे उत्तरदायित्वमा थप बृद्धि गरिनु पर्छ,
  •  हरेक तालिम कार्यक्रममा “Multple Choice Option” लाई Integrated रुपमा समावेश गरिनु पर्छ,
  •  समाजिक लिंगभेद (Gender) केन्द्रित सेवाहरु पाउन व्यावशायिक दक्षता, कानूनी सहायता प्रदान गरिनु पर्छ,
  •  Product Design गर्दा Gender लाई आत्मसात गरिनु पर्छ,
  •  लघुवित्तका साथमा अन्य Intervention लाई पनि समावेश गरी लागु गर्दा खर्च प्रभावी (Cost Effectiveness) हुने हुंदा बचत र ऋणसंग अन्य सामुदायिक विकासका कार्यहरु समेत संचालन गर्ने नीति बनाईनु पर्छ,
  •  संस्थाको कार्यसमिति र उच्च व्यवस्थापनमा अनिवार्य रुपमा महिलाहरुको प्रतिनिधित्व बढाइनु पर्छ, आदि ।