
बैंकिङ खबर / नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग (एमएसएमई) क्षेत्रको विकासका लागि दीर्घकालीन नीतिगत सुधार गर्न सरकारसँग माग गरेको छ ।
महासंघको प्रतिनिधिमण्डलले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी आगामी १० वर्षलाई ‘एमएसएमई डेभलपमेन्ट डिकेड’ घोषणा गर्नुपर्नेलगायतका विभिन्न सुझाव तथा माग अघि सारेको हो ।
महासंघले एमएसएमईलाई सहज वित्तीय पहुँच उपलब्ध गराउन सहुलियतपूर्ण तथा बिनाधितो कर्जाको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने तथा सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव पनि महासंघले गरेको छ ।
त्यस्तै, स्वदेशी उत्पादन प्रवर्द्धन गर्न ‘मेड इन नेपाल’ अभियानलाई प्रभावकारी बनाउने, एमएसएमईका उत्पादनको निर्यात सहजीकरण गर्ने र आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदानको व्यवस्था गर्नुपर्ने माग महासंघको छ ।
महासंघले महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी विशेष उद्यमशीलता प्याकेज ल्याउनुपर्ने प्रस्ताव गरेको छ । साथै, ‘१०० स्टार्टअप–१०० इन्भेष्टर’ कार्यक्रम सञ्चालन तथा उद्योगसम्बन्धी सरकारी सेवा छिटोछरितो बनाउन ‘फास्ट–ट्रयाक इन्डष्ट्रियल सर्भिस’ लागू गर्नुपर्ने सुझाव पनि दिएको छ ।
महासंघका अनुसार सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य हुन सके एमएसएमईमार्फत उत्पादन तथा रोजगारी विस्तारसँगै निर्यात बढाउन सकिन्छ । यसबाट मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउन सहयोग पुग्ने महासंघको भनाइ छ ।
महासंघका माग तथा सुझावबारे कार्यवाहक प्रधानमन्त्री वाग्लेले एमएसएमई क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
महासंघले भेटका क्रममा बाढी प्रभावित परिवारको राहतका लागि पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोगसमेत गरेको छ । महासंघकी अध्यक्ष शोभा गुरुङले उक्त रकम कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघले जनाएको छ । प्रभावित परिवारका लागि आवश्यक सामग्रीसमेत संकलन भइरहेको र ती सामग्री छिट्टै प्रभावित क्षेत्रमा वितरण गरिने महासंघको भनाइ छ ।
अध्यक्ष गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी, उपाध्यक्षहरू हरिहर थापा, मोहन कटुवाल, सत्यनारायण प्रजापति, जानकी प्रधान र गुणराज ढकाललगायतको सहभागिता थियो । प्रतिनिधिमण्डलमा महिला उद्यमी समितिकी अध्यक्ष रिता अवाल, महासचिव विनोददेव पन्त र कोषाध्यक्ष वीरेन्द्र जत्तिलगायत पनि सहभागी थिए ।