Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

राष्ट्र बैंकको रिपोर्ट : लघुवित्तको नाफा बढ्यो, खराब कर्जा ५० अर्ब नाघ्यो

२०८३ आश्विन ७ गते

बैंकिङ खबर  /  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमाससम्मको लघुवित्त वित्तीय संस्थाहरूको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार लघुवित्त संस्थाहरूको नाफामा सुधार आए पनि खराब कर्जाको दबाब भने बढ्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म खुद्रा कर्जा प्रवाह गर्ने ४८ लघुवित्त संस्थाको कुल कर्जा तथा सापटी ४ खर्ब ८७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यसमध्ये निष्क्रिय कर्जा ५० अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १०.४२ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा निष्क्रिय कर्जा ६३.८३ प्रतिशतले बढेको हो । कर्जाको गुणस्तरमा दबाब बढे पनि लघुवित्त संस्थाहरूको नाफामा भने उल्लेख्य सुधार देखिएको छ । प्रतिवेदनअनुसार खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरूले आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ७८ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको ७ अर्ब २८ करोड १६ लाख रुपैयाँको तुलनामा नाफा ४८.१४ प्रतिशतले बढेको हो ।

यस्तै, असार मसान्तसम्म लघुवित्त संस्थाका सदस्य संख्या ६५ लाख ३० हजार पुगेको छ भने ऋणी संख्या २७ लाख १३ हजार रहेको छ । लघुवित्त संस्थाका शाखा संख्या ४ हजार ९२४ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
लघुवित्त क्षेत्रमा नाफा बढिरहेको भए पनि निष्क्रिय कर्जाको तीव्र वृद्धिले कर्जा असुली तथा जोखिम व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा देखाएको छ ।