
बैंकिङ खबर / नेपाल फिनसफ्ट कम्पनी लिमिटेडको अध्यक्षमा कम्पनीका संस्थापक सदस्य वसन्तराज लम्साल नियुक्त भएका छन् । लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय लम्सालले यस क्षेत्रसँग सम्बन्धित विभिन्न नेतृत्वदायी जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
कम्पनीका अनुसार उनले लघुवित्त क्षेत्रको नीति, संस्थागत सुदृढीकरण, स्रोत व्यवस्थापन तथा प्रविधिको प्रयोगलगायतका विषयमा निरन्तर काम गर्दै आएका छन् । यसैगरी, कम्पनीको सञ्चालक समितिमा श्रीराम पोखरेल नयाँ सञ्चालकका रूपमा नियुक्त भएका छन्। नयाँ नेतृत्वसँगै कम्पनीको दीर्घकालीन व्यावसायिक योजना, सुशासन, वित्तीय सुदृढीकरण तथा सेवा विस्तारलाई थप व्यवस्थित रूपमा अघि बढाउने कम्पनीले जनाएको छ ।
लम्साल र पोखरेलको नियुक्तिसँगै कम्पनीले आगामी पाँच वर्षभित्र नेपाल फिनसफ्टलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने लक्ष्यलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।
नेपाल फिनसफ्ट ३४ वटा लघुवित्त वित्तीय संस्थाको सामूहिक लगानीमा स्थापना भएको प्रविधि कम्पनी हो। लघुवित्त संस्थाहरूका सूचना प्रविधिसम्बन्धी आवश्यकता पहिचान गरी स्वदेशमै विकसित तथा व्यावहारिक सफ्टवेयर र डिजिटल समाधान उपलब्ध गराउने उद्देश्यले कम्पनी स्थापना गरिएको हो ।
कम्पनीले लघुवित्त क्षेत्रका व्यावसायिक तथा प्रविधिगत आवश्यकतालाई नजिकबाट बुझेर सोहीअनुसारका समाधान विकास गर्दै आएको जनाएको छ । हाल कम्पनीले कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, रिपोर्टिङ तथा नियामकीय रिपोर्टिङ प्रणाली, लर्निङ म्यानेजमेन्ट सिस्टम लगायत विभिन्न सूचना प्रविधि तथा डिजिटल समाधान उपलब्ध गराउँदै आएको छ ।