Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कर योगदानमा जनउत्थान लघुवित्त अगाडि, राष्ट्रिय कर दिवसमा सम्मानित

२०८३ मंसिर १ गते

बैंकिङ खबर /  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार संस्थाले २ करोड २९ लाख ३९ हजार ६७० रुपैयाँ आयकर दाखिला गर्दै पहिलो स्थान हासिल गरेको हो ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंसिर १ गते आयोजित विशेष कार्यक्रममा संस्थालाई कदरपत्रसहित सम्मान गरिएको हो । संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत इन्द्र बरालीले उक्त सम्मान ग्रहण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कदरपत्र प्रदान गरेका थिए भने आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख हरि बस्यालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यालयको कार्यक्षेत्रभित्र बढी आयकर दाखिला गर्ने करदातामध्ये सिद्धार्थ केबलकार लिमिटेड दोस्रो र सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि तेस्रो भएका छन् । सिद्धार्थ केबलकारले २ करोड २३ लाख ५५ हजार २८१ रुपैयाँ र सगुन कन्स्ट्रक्सनले २ करोड ५ लाख ४९ हजार २५२ रुपैयाँ आयकर दाखिला गरेका छन् ।

सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत बरालीले राज्यको राजस्वमा योगदान पुर्‍याउनु संस्थाको दायित्वसँगै राष्ट्रिय विकासमा सहभागिता जनाउने महत्वपूर्ण माध्यम भएको बताए । आयकर दाखिलामा पहिलो स्थान हासिल गर्दै सम्मानित हुन पाउँदा गौरव महसुस भएको उल्लेख गर्दै उनले आन्तरिक राजस्व कार्यालय बुटवलप्रति आभार व्यक्त गरे ।

बुटवल उपमहानगरपालिका-१०, कालिकानगरमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्तले तराईका ११ र पहाडी क्षेत्रका ८ गरी १९ जिल्लामा ३९ शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाका अनुसार यसले करिब ६३ हजार परिवारलाई वित्तीय सेवामा समेटेको छ ।

‘स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण’ भन्ने अभियानका साथ सञ्चालनमा रहेको संस्थाले वित्तीय पहुँच विस्तारसँगै कर राजस्वमा समेत योगदान पुर्‍याएको जनाएको छ । आयकर दाखिलामा प्राप्त यो उपलब्धिले संस्थाको वित्तीय अनुशासन र करप्रतिको दायित्वलाई उजागर गरेको छ ।

Ad