Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

२०८३ मंसिर १ गते

बैंकिङ खबर /  मुलुकको राजस्वमा उल्लेख्य योगदान गर्दै आएको नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा नवौँ पटक सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रतर्फ सबैभन्दा बढी आयकर बुझाएपछि नेपाल सरकारले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा बैंकलाई सम्मान गरेको हो ।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर दाखिला गरेको थियो । बैंकले त्यसपछिको आर्थिक वर्ष २०८२/८३ मा भने ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाई बुझाएको जनाएको छ । पछिल्लो आर्थिक वर्षमा दाखिला गरेको कर रकम अघिल्लो वर्षको तुलनामा ६० करोड रुपैयाँ बढी हो ।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरेका थिए । बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले सम्मान ग्रहण गरेका हुन् ।

सम्मान ग्रहणपछि चौधरीले यस उपलब्धिलाई समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए । उनले सम्मानले कर्मचारीको योगदान र ग्राहकले बैंकप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गर्दै करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको बताए । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने, जिम्मेवार व्यावसायिक अभ्यास अवलम्बन गर्ने र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्‍याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

बैंकका अनुसार कर दाखिलालाई उसले व्यावसायिक सफलतासँगै राष्ट्रको आर्थिक तथा सामाजिक विकासप्रतिको जिम्मेवारीका रूपमा लिँदै आएको छ । पारदर्शी व्यावसायिक अभ्यास, जिम्मेवार बैंकिङ र ग्राहकको विश्वासलाई दीर्घकालीन प्रगतिको आधार बनाएको बैंकको भनाइ छ ।

चार दशकभन्दा लामो बैंकिङ यात्रा पूरा गरेको नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई सहज, आधुनिक र पहुँचयोग्य बनाउने प्रयास गर्दै आएको छ । डिजिटल बैंकिङ सेवाको विस्तारका लागि बैंकले एनबैंकसमेत सञ्चालनमा ल्याएको छ ।

हाल बैंकले देशभरका २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ । ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालासँगको सहकार्यमा आर्थिक अवसर विस्तार र मुलुकको समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थालाई सम्मान गर्दै आएको छ ।

Ad