Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

बर्दिबासमा नेरुडे मिर्मिरेको वित्तीय साक्षरता कार्यक्रम, सयभन्दा बढी सदस्य सहभागी

२०८३ कार्तिक १९ गते

बैंकिङ खबर / नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बर्दिबासमा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख/उपप्रमुख गोष्ठी आयोजना गरेको छ । संस्थाको बर्दिबास शाखाको आयोजनामा विनायक होटलमा सम्पन्न कार्यक्रममा सयभन्दा बढी सदस्य सहभागी भएका थिए ।

बर्दिबास तथा स्कुल चोक शाखाअन्तर्गत आबद्ध सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा नियमित बचत, कर्जाको उत्पादनशील उपयोग, वित्तीय अनुशासन र डिजिटल कारोबारमा अपनाउनुपर्ने सावधानीबारे छलफल गरिएको थियो । कार्यक्रमको अध्यक्षता केन्द्र नम्बर ५८ की सदस्य विष्णुमाया बलमपाखीले गरेकी थिइन् भने संस्थाका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहरा प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा संस्थाका मधेश प्रदेश प्रमुख रामकिशोर चौधरी, बर्दिबास क्लस्टर प्रमुख भीमवली कुमार सहनी, बर्दिबास शाखा प्रमुख श्रवणकुमार साह र स्कुल चोक शाखा प्रमुख शिवकुमार मुखियासहित दुवै शाखाका कर्मचारी तथा केन्द्र प्रमुख र उपप्रमुखहरूको उपस्थिति थियो । बर्दिबास इलाका प्रहरी कार्यालयका वरिष्ठ सहायक हवल्दार श्याम थापा र सहायक हवल्दार जीवनकुमार यादव पनि कार्यक्रममा सहभागी थिए ।

कार्यक्रम सुरु हुनुअघि वित्तीय साक्षरतासम्बन्धी सन्देश लेखिएका प्लेकार्डसहित बर्दिबास बजारमा सचेतनामूलक र्‍याली निकालिएको थियो । र्‍यालीमार्फत बचत गर्ने बानी विकास, आवश्यकताअनुसार मात्र कर्जा लिने, कर्जाको सही उपयोग गर्ने र किस्ता समयमै भुक्तानी गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो ।

कार्यक्रममा बोल्दै सहायक कार्यकारी प्रमुख बोहराले लघुवित्तका सदस्यले कर्जा लिँदा आफ्नो आम्दानी र भुक्तानी क्षमताको मूल्याङ्कन गर्नुपर्ने बताए । उनले कर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, नियमित बचत गर्ने तथा निर्धारित समयमा साँवा र ब्याज भुक्तानी गर्ने व्यवहारले सदस्यको आर्थिक अवस्था र वित्तीय संस्थाको दिगोपन दुवैमा प्रभाव पार्ने धारणा राखे ।

मधेश प्रदेश प्रमुख चौधरीले सहभागीलाई वित्तीय साक्षरताका विभिन्न विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए । उनले व्यक्तिगत तथा पारिवारिक बजेट व्यवस्थापन, बचतको महत्त्व, कर्जाको उचित उपयोग, वित्तीय जोखिम न्यूनीकरण, डिजिटल वित्तीय कारोबारमा अपनाउनुपर्ने सुरक्षा सावधानी र वित्तीय ठगीबाट जोगिने उपायबारे प्रशिक्षण दिएका थिए ।

उनले केन्द्र प्रमुख तथा उपप्रमुखलाई आफू आबद्ध केन्द्रका अन्य सदस्यसम्म वित्तीय ज्ञान र जिम्मेवार आर्थिक व्यवहारका विषय पुर्‍याउन आग्रह गरेका थिए । लघुवित्तका केन्द्र प्रमुख तथा उपप्रमुख सदस्य र संस्थाबीचको सम्पर्कको महत्त्वपूर्ण माध्यम भएकाले उनीहरूको सक्रियताले वित्तीय सचेतना विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै सदस्यहरूले देउसी–भैलो र छठसम्बन्धी सांस्कृतिक प्रस्तुति पनि दिएका थिए । यसले वित्तीय साक्षरतासम्बन्धी छलफलसँगै सदस्य तथा कर्मचारीबीच आपसी भेटघाट र अन्तरक्रियाको अवसरसमेत सिर्जना गरेको थियो ।

लघुवित्त संस्थाबाट कर्जा लिने सदस्यलाई वित्तीय अनुशासन, कर्जाको सदुपयोग र जोखिम व्यवस्थापनबारे जानकारी दिनु वित्तीय साक्षरताको महत्त्वपूर्ण पक्ष हो । बर्दिबासमा आयोजित उक्त कार्यक्रमले सदस्यलाई यस्ता विषयमा जानकारी दिने र केन्द्रस्तरमा वित्तीय सचेतना विस्तार गर्ने उद्देश्य राखेको छ ।

Ad