
बैंकिङ खबर / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकका लागि खाद्यान्न सहयोग गरेको छ । संस्थाले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-९ स्थित त्रिवेणीधाममा रहेको प्राणनाथ मैत्री वृद्धाश्रमलाई खाद्यान्न उपलब्ध गराएको हो ।
मंसिर १ गते वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा संस्थाले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको भोजन व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले चामल, दाल, आलु, तेल, नुनलगायत दैनिक उपभोगका खाद्य सामग्री वितरण गरेको जनाएको छ ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल, नायब प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने तथा विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
वित्तीय संस्थाले आफ्नो स्थापना दिवसलाई औपचारिक कार्यक्रम र उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने प्रयास गरेको जनाएको छ । ज्येष्ठ नागरिकको दैनिक भोजन व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले अन्नदान कार्यक्रम आयोजना गरिएको संस्थाको भनाइ छ ।
काभ्रेपलाञ्चोकको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्तले सातौँ वार्षिकोत्सवका अवसरमा गरेको यस सहयोगलाई संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गतको पहलका रूपमा लिन सकिन्छ ।