बैंकिङ खबर / मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । अर्थात् वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन थियो । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको छ, तर उसँग धान मात्रै छ भने, मात्रै उनिहरुबिच वस्तु विनीमय सम्भव थियो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो । अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो । समयको लामो कालखण्ड पछि वस्तु विनिमयका यावत् समस्याहरु मुद्राको प्रतिपादनले क्रमिक रुपमा हटाउँदै लग्यो ।
विनिमयको पहिलो अभ्यासका रुपमा कौडीलाई लिईन्छ । स्थानिय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु माझ एकताका कौडि निकै नै लोकप्रिय थियो । विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले । त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो ।
वस्तु विनिमयबाट कौडिमा रुपान्तरण भएको कारोबार विस्तारै मुद्राको युगको सुरुवातमा पुग्यो । आजसम्ममा प्राप्त नेपाली मूद्राहरुमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएको ‘मानाङ्क’ मुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो । मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पुर्यायो । मुद्राले वस्तु–विनिमय युगका कठिनाई र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी बन्न, लगानी गर्न र ठूलो पूँजी निर्माण गर्न ज्यादै सजिलो बनायो । यस प्रचलनले मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो भयो । यति मात्र होइन, आफूसँग भएको सम्पत्ति मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलै लग्न सक्ने स्थिति पनि सृजना गरिदियो ।

