Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा असुलीमा प्रभु बैंकको कडा कदम, रुप ज्योतिसँग सम्बन्धित दुई कम्पनीका सम्पत्ति लिलामीमा

२०८३ श्रावण ८ गते

बैंकिङ खबर/ प्रभु बैंकले उद्योगी तथा पूर्व अर्थ सहायक मन्त्री रुप ज्योतिसँग सम्बन्धित दुई कम्पनीले लिएको कर्जा समयमै भुक्तानी नगरेपछि धितोमा राखिएका चल तथा अचल सम्पत्ति लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नर्थ फेस होटल प्रालि र नेपाल जनरल मार्केटिङ प्रालिका नाममा रहेका सम्पत्तिहरू बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो। बैंकका अनुसार कर्जा असुलीका लागि यसअघि पटक–पटक मौखिक र लिखित रूपमा ताकेता गरिएको थियो। त्यसपछि ३५ दिने र १५ दिने सार्वजनिक सूचना जारी गरिए पनि ऋणी तथा जमानतकर्ताले कर्जा चुक्ता गर्न कुनै पहल नगरेपछि अन्तिम पटक ७ दिने सूचना प्रकाशित गर्दै लिलामी प्रक्रिया अगाडि बढाइएको हो।

लिलामी सूचीमा रहेको पहिलो कम्पनी नर्थ फेस होटल प्रालि हो, जसका सञ्चालक तथा प्रमुख जमानतकर्ता रुप ज्योति रहेका छन्। यस कम्पनीको धितोका रूपमा काठमाडौं महानगर क्षेत्र नजिकैको बुढानीलकण्ठ नगरपालिकामा रहेका विभिन्न कित्ताका एक दर्जनभन्दा बढी जग्गा तथा ती जग्गामा बनेका सम्पूर्ण संरचनाहरू लिलामीमा राखिएको बैंकले जनाएको छ। सम्पत्ति हाल जुन अवस्थामा छ, सोही अवस्थामै बिक्री गरिने बैंकको सूचनामा उल्लेख छ। यस्तै, नेपाल जनरल मार्केटिङ प्रालिका नाममा रहेका सम्पत्तिहरू पनि लिलामीमा समावेश गरिएको छ। यो कम्पनी विगतमा हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरकका रूपमा परिचित थियो। हाल कम्पनीको जमानतकर्तामा रुप ज्योति, उनका छोरा अभिक ज्योति तथा छोरी सुरुची ज्योति रहेका छन्। यस कम्पनीअन्तर्गत ललितपुर–६ स्थित घरजग्गा, पर्साको चोर्नीमा रहेको ठूलो क्षेत्रफलको जग्गा, काठमाडौंको डिल्लीबजारका विभिन्न कित्ताका घरजग्गा, कलंकीस्थित सम्पत्ति तथा कम्पनीको मौज्दात र चालु सम्पत्तिमाथि रहेको हाइपोथिकेशन सुरक्षणसमेत लिलामी प्रक्रियामा समावेश गरिएको बैंकले जनाएको छ। प्रभु बैंकले इच्छुक खरिदकर्तालाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् साउन १४ गतेसम्म काठमाडौंको बबरमहलस्थित प्रधान कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ। प्राप्त बोलपत्रहरू साउन १५ गते दिउँसो १ बजे सम्बन्धित सरोकारवालाको उपस्थितिमा खोलिने जनाइएको छ। बोलपत्र फाराम तथा विस्तृत सर्तहरू बैंकको कर्जा असुली विभागबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकले लिलामीबाट प्राप्त रकमले पनि सम्पूर्ण साँवा, ब्याज र हर्जाना असुल नभए प्रचलित कानुनअनुसार ऋणी तथा जमानतकर्ताका अन्य व्यक्तिगत सम्पत्तिबाट समेत बाँकी रकम असुल गरिने चेतावनी दिएको छ। साथै, सम्पत्ति खरिद गर्ने पक्षले सरकारी राजस्व, लाभकर, नामसारी तथा अन्य कानुनी दस्तुर स्वयं व्यहोर्नुपर्ने बैंकले स्पष्ट पारेको छ।बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार पछिल्लो समय राष्ट्र बैंकले कर्जा असुलीलाई प्रभावकारी बनाउन जोड दिइरहेका बेला बैंकहरूले लामो समयदेखि निष्क्रिय बनेका ठूला कर्जामा कानुनी प्रक्रिया तीव्र बनाइरहेका छन्। प्रभु बैंकले रुप ज्योतिसँग सम्बन्धित कम्पनीका धितो सम्पत्ति लिलामीमा राखेको घटनालाई पनि ठूला कर्जाको असुली प्रक्रिया कडाइतर्फ उन्मुख भएको संकेतका रूपमा हेरिएको छ।