Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंकिङ करिअर खोज्दै हुनुहुन्छ? गणपति लघुवित्तमा खुल्यो आकर्षक रोजगारी

२०८३ श्रावण ८ गते

बैंकिङ खबर/ लघुवित्त क्षेत्रमा अनुभव हासिल गरेका दक्ष जनशक्तिका लागि गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहका कर्मचारी पदमा दरखास्त आह्वान गरेको छ। संस्थाले केन्द्रीय कार्यालयदेखि शाखा तथा अनुगमन कार्यालयसम्म कार्य गर्न सक्ने अनुभवी कर्मचारी माग गर्दै व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका पदमा आवेदन खुलाएको हो। लघुवित्त क्षेत्रमा अनुभवी तथा नेतृत्व क्षमता भएका व्यक्तिलाई प्राथमिकता दिइने भएकाले यो अवसर बैंकिङ तथा माइक्रोफाइनान्स क्षेत्रमा करिअर बनाउन चाहनेका लागि महत्वपूर्ण मानिएको छ। सूचनाअनुसार संस्थाले व्यवस्थापकीय श्रेणी अन्तर्गत केन्द्रीय कार्यालयका लागि केही कर्मचारी माग गरेको छ। यस पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा न्यूनतम १० वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ। विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ। यस पदको छनोट प्रक्रिया अन्तर्वार्तामार्फत हुने जनाइएको छ।

त्यस्तै, अधिकृत श्रेणी अन्तर्गत वरिष्ठ अधिकृत, अधिकृत तथा कनिष्ठ अधिकृत पदका लागि पनि आवेदन माग गरिएको छ। यस पदमा आवेदन दिन प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा ५ देखि ७ वर्षसम्मको अनुभव आवश्यक पर्नेछ। शाखा व्यवस्थापन, अनुगमन तथा विभिन्न विभागमा कार्य गरिसकेका उम्मेदवारलाई संस्थाले प्राथमिकतामा राख्ने जनाएको छ। यस्तै, सहायक श्रेणी अन्तर्गत सुपरभाइजर, वरिष्ठ सहायक तथा सहायक पदका लागि समेत कर्मचारी माग गरिएको छ। यस पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई लघुवित्त क्षेत्रमा कम्तीमा ४ वर्षको अनुभव अनिवार्य गरिएको छ। शाखा सञ्चालन, कर्जा व्यवस्थापन तथा फिल्ड सञ्चालनमा दक्ष उम्मेदवारलाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ। गणपति लघुवित्तले कर्मचारी छनोटमा योग्यता, अनुभव र कार्यक्षमतालाई मुख्य आधार बनाइने स्पष्ट पारेको छ। सबै पदका लागि अन्तिम छनोट अन्तर्वार्ता मार्फत गरिनेछ भने कर्मचारी छनोट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा नै निहित रहने सूचनामा उल्लेख छ।

इच्छुक नेपाली नागरिकले हस्ताक्षर गरिएको निवेदन, पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि तथा शैक्षिक योग्यता र अनुभव खुल्ने आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इमेल ngtmicrovacancy@gmail.com वा संस्थाको आधिकारिक वेबसाइटमार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ। संस्थाले २०८३ साल श्रावण १३ गतेलाई आवेदन दिने अन्तिम मिति तोकेको छ। समयसीमाभित्र प्राप्त योग्य आवेदनमाथि आवश्यक मूल्यांकन गरी छनोट प्रक्रिया अगाडि बढाइने जनाएको छ। लघुवित्त क्षेत्रमा पछिल्ला वर्षहरूमा दक्ष जनशक्तिको माग बढिरहेका बेला गणपति लघुवित्तको यो भर्तीले अनुभवी बैंकिङ तथा माइक्रोफाइनान्स पेशाकर्मीलाई नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। विशेषगरी शाखा व्यवस्थापन, अनुगमन, कर्जा विस्तार तथा संस्थागत सुशासनमा अनुभव भएका जनशक्तिलाई संस्थाले आफ्नो टोलीमा समेट्न खोजेको देखिन्छ। यसले संस्थाको सेवा विस्तारसँगै सञ्चालन क्षमता थप सुदृढ बनाउने विश्वास गरिएको छ।