Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

लोक सेवा आयोग पास गरेपछि मात्रै राष्ट्र बैंकमा आवेदन दिन पाइने

२०८३ श्रावण ७ गते

नेपाल राष्ट्र बैंकले प्रशासन सेवा, सहायक द्वितीय श्रेणी (सहायक) पदको खुला प्रतिस्पर्धात्मक पदपूर्तिका लागि लोक सेवा आयोगले सञ्चालन गर्ने एकीकृत पूर्वयोग्यता परीक्षा (Pre-Qualification Test) अनिवार्य गरेको छ।

लोक सेवा आयोगले संगठित संस्थाका अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी (नायब सुब्बा वा सो सरह) र सहायकस्तर द्वितीय श्रेणी (खरिदार वा सो सरह) पदका लागि एकीकृत पूर्वयोग्यता परीक्षाको विज्ञापन सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको सूचनाअनुसार प्रथम श्रेणीको परीक्षा २०८३ असोज ३ गते र द्वितीय श्रेणीको परीक्षा २०८३ असोज ५ गते सञ्चालन हुनेछ।

यसैबीच, नेपाल राष्ट्र बैंकले पनि सूचना जारी गर्दै आफ्नो प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदमा आवेदन दिन चाहने उम्मेदवारले लोक सेवा आयोगको उक्त पूर्वयोग्यता परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ।

राष्ट्र बैंकका अनुसार आयोगले प्रकाशित गरेको विज्ञापनबमोजिम योग्य उम्मेदवारले आयोगको अनलाइन प्रणालीमार्फत पूर्वयोग्यता परीक्षाका लागि आवेदन दिनुपर्नेछ। त्यसपछि राष्ट्र बैंकले सहायक पदका लागि छुट्टै विज्ञापन प्रकाशित गर्दा कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित) बमोजिम आवश्यक शैक्षिक योग्यता र लोक सेवा आयोगको एकीकृत पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

लोक सेवा आयोगका अनुसार पूर्वयोग्यता परीक्षाको आवेदन २०८३ साउन २९ गतेसम्म नियमित शुल्कमा र भदौ ५ गतेसम्म दोब्बर दस्तुर तिरेर दिन सकिनेछ। परीक्षा सम्बन्धी विस्तृत जानकारी, पाठ्यक्रम र आवेदन प्रक्रिया आयोगको वेबसाइट तथा नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।