April 11th, 2025

बीमा कम्पनीहरू इमान्दारी र जिम्मेवारीका साथ अगाडि बढ्न आवश्यकः अध्यक्ष ओझा

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र आकार वृद्धिका लागि बीमा कम्पनीहरू आगामी दिनमा अझ बढी इमान्दारी र जिम्मेवारीका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको नववर्ष २०८२ सालको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष ओझाले बीमा कम्पनीहरूले बोनस केन्द्रित कार्यशैलीबाट बाहिर निस्केर टर्म इन्स्योरेन्सको विस्तारतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘जोखिमाङ्कनमा अझ सुधार आवश्यक छ। बीमालेख जारी गर्दा त्यसका शर्तहरू प्रारम्भमै प्रष्ट पार्नुपर्छ। बीमाका कर्मचारीलाई नवीकरणसहित लक्ष्य दिनुपर्छ, तालिम दिनुपर्छ र आफ्ना कामहरूको प्रचार गर्न पनि जान्नुपर्छ।’

अध्यक्ष ओझाले बीमा कम्पनीहरूलाई सजिलो क्षेत्रमा सीमित नबसी नयाँ जोखिमयुक्त क्षेत्रमा प्रवेश गर्न, घरलगायतका सम्पत्तिमा बीमा विस्तार गर्न, उपभोक्ता समूहहरूलाई बीमामा समेट्न र लगानी सुरक्षित हुने खालका बीमा उत्पादनमा ध्यान केन्द्रित गर्न निर्देशन दिए ।

‘बीमा बजारको समस्या पहिचान गरी समाधानतर्फ बढ्नु जरुरी छ,’ उनले भने, ‘बीमा कम्पनीमा के भइरहेको छ भन्ने मूल्याङ्कन गर्ने कानुनी दायित्व प्राधिकरणमा भएकाले हस्तक्षेप होइन, जिम्मेवार नियमन गरिन्छ।’

कार्यक्रममा कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विकास र विस्तारका लागि सबै पक्षको सकारात्मक योगदान आवश्यक रहेको बताए ।