बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले बीमा प्राधिकरणको अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।
सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो । सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस भएको हो ।
मन्त्रिपरिषदको बैठक आज बस्दैछ । यही मन्त्रिपरिषदले यी ३ मध्ये १ जनालाई अध्यक्ष बनाउनेछ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्दैछ । पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । कृषि विकास बैंकका अध्यक्ष पुडासैनी अर्थ मन्त्रालयमा राजस्व सचिव तथा संस्थान समन्वयन महाशाखामा काम गरिसकेको छन् ।
बसौला स्वास्थ्य बीमा बोर्डका पुर्व अध्यक्ष हुन् । यस्तै, पत्रकार रहेका ओझा प्राध्यापन तथा कानुन व्यवसायमा आवद्ध छन् । गत शनिबार भएको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका आधारमा धेरै अंक प्राप्त गर्ने ३ जना प्राधिकरण अध्यक्षको लागि सिफारिस भएका हुन् । ३ जना मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ । ३ जनामध्ये बलियो दाबेदारको रुपमा ओझालाई हेरिएको छ ।