गत गएको बिनाशकारी भूकम्पबाट ढलेको धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाले झण्डै सवा ६ करोड रुपैयाँ संकलन गरी सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानसेनापति राजेन्द्र क्षेत्रीले धरहरा पूनर्निर्माणका लागि ६ करोड १७ लाख १३ हजार सात सय ८३ रुपैयाँ ५५ पैसा बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका हुन् ।
चेक बुझ्दै प्रधानमन्त्री प्रचण्डले नेपाली सेनाले गरेको प्रयासको प्रशंसा गरे । धरहरा निर्माणका लागि सरकारले पनि गृहकार्य गरिरहेको उनले जानकारी दिए । उनले भने, ‘हामी पूनर्निर्माणको चरणमा छौं । राज्यका सबै अंग मिलेर पूनर्निर्माण र नवनिर्माणको कामलाई तिब्रता दिनुपर्छ । त्यसका लागि तपाईहरुले गरेको प्रयास प्रशंसनीय छ । सरकार पनि धरहरा निर्माणको बिकल्पबारे गृहकार्य गरिरहेको छ ।’ गत वर्षको भूकम्पका कारण धरहरा पूर्ण रुपमा भत्किएपछि सरकारले ‘मै बनाउँछु मेरो धरहरा’ अभियान चलाईरहेको छ ।


