Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यसरी सुरु भयो नेपालको बैंकिङ क्षेत्र (आठ बुँदामा)

२०७४ चैत्र १८ गते

बैंकिङ खबर । विगतलाई फर्केर हेर्दा मानिसहरुले धेरै थरीका विनिमय गरेको भेट्न सकिन्छ । वस्तु विनिमयदेखि सुरु भएको बैंकिङ कारोबार अहिले आधुनिक भइसकेको छ । यो बीचमा अन्नको विनिमय, धातुको विनिमय, कौडीको विनिमय लगायतको चलन थियो । मुद्रा, नोट, बैंक, बीमा लगायतको  अवधारणा समयको आवश्यकतासँगै क्रमशः भित्रिएका  हुन् ।  

वस्तु विनिमय
पैसाको चल्ती नहुँदा वस्तु विनिमय गरिन्थ्यो । मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । अर्थात् वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन थियो ।

कौडीको प्रयोग
विनिमयको पहिलो अभ्यासका रुपमा कौडीलाई लिईन्छ । स्थानीय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु माझ एकताका कौडि निकै नै लोकप्रिय थियो । विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले । त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो । आजसम्ममा प्राप्त नेपाली मूद्राहरुमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएको ‘मानाङ्क’ मुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो ।

मुद्राको युग 
वस्तु विनिमयबाट कौडिमा रुपान्तरण भएको कारोबार विस्तारै मुद्राको युगको सुरुवातमा पुग्यो ।  मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पुर्यायो । मुद्राले वस्तु–विनिमय युगका कठिनाई र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी बन्न, लगानी गर्न र ठूलो पूँजी निर्माण गर्न ज्यादै सजिलो बनायो । मुद्राको प्रयोगले मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो पारिदियो । त्यति मात्र होइन, आफूसँग भएको सम्पत्ति मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलै लग्न सक्ने स्थिति पनि सृजना गरिदियो । 

कागजी नोटको प्रचलन
नेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भयो । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो । हाल नेपालमा नेपाली नोट (मुद्रा) नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको छ । हाल नेपालमा पहिलेका राजाहरुको तस्वीर अङ्कित कागजी नोटहरु केही मात्रामा मात्र बाँकी रहेका छन् । ती नोटहरुका साथै देशको राजनैतिक परिवर्तन सँगसँगै नेपालमा गणतन्त्र स्थापना भएपछी प्रचलित कागजी नोटहरुमा देशका प्राकृतिक सम्पदाहरु अङ्कित तस्वीरहरु राख्ने गरिएको छ । 

बैंकको स्थापना
वि.सं. १९९४ मा नेपालकै पहिलो बैंकको रुपमा नेपाल बैंक लिमिटेडको स्थापना भएको थियो । यससँगै नेपालमा आधुनिक बैंकिङ प्रणालीको सुरुवात भयो । नेपालको वित्तीय बजार निजी क्षेत्रका लागि खुला नगरिएको हुनाले सुरुमा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाहरुको मात्रै स्थापना भयो । सो अवधिमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंक, एनआईडीसी डेभलपमेन्ट बैंक, कृषि विकास बैंक लगायत केही बीमा कम्पनीहरुको स्थापना भएको थियो । 

निजी क्षेत्र र विदेशी लगानीको प्रवेश
२०३८ सालको जनमत संग्रहपछि नेपाल सरकारले अत्याधिक मात्रा खर्च गर्न थाल्यो र मुलुकको बजेट घाटा बढ्यो । फलस्वरुप मुलुकमा संकट आयो । उक्त संकटको समाधानका लागि नेपालले एशियाली विकास बैंकसँग हारगुहार गर्यो । यसका लागि एडीबीले वित्तीय बजार निजी क्षेत्रका लागि पनि खुला गर्नुपर्ने र सरकारको संलग्नता घटाउनुपर्ने शर्त राख्यो । आफूलाई विदेशी सहयोगको आवश्यकता भएकाले नेपालले उक्त शर्त मान्यो । त्यसपछि, वाणिज्य बैंक ऐन २०३१ लाई संशोधन गरेर फ्रि इन्ट्री फ्रिी एक्जिटको प्रावधान थपियो र वित्तीय क्षेत्रमा प्रतिष्पर्धा बढाउने उद्देश्यका साथ निजी क्षेत्र र विदेशी लगानीलाई प्रवेश गराइयो । परिणमस्वरुप, २०४३ सालसम्ममा नेपालमा नविल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक (साविकको ग्रीनलेज बैंक) र नेपाल इन्भेष्टमेन्ट बैंक (साविकको इन्डोस्वेज बैंक) गरी तीन वटा संयुक्त लगानीका बैंकहरु संचालनमा आए ।

क्षेत्रीय स्तरमा वाणिज्य बैंक
बहुदल व्यवस्था आएपछि सरकारले थप उदारीकरण गर्दै खुला अर्थतन्त्र अबलम्बन गर्यो । डिरेगुलेसन, निजीकरण र ग्लोबलाइजेसनलाई आत्मसात गरेर सरकारले वित्तीय बजारलाई थप खुकुलो बनाइदियो । २०५३ सालमा राष्ट्र बैंकले वाणिज्य बैंकहरु क्षेत्रीय स्तरमा पनि जानुपर्छ भन्ने अवधारण लियो । जसअनुसार, तत्कालिन समयमा एनआईसी बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, लुम्बिनी बैंक काठमाडौँबाहिर केन्द्रीय कार्यालय रहने गरी संचालनमा आएका थिए ।

अहिले नेपालमा २८ वटा वाणिज्य बैंक, ३५ वटा विकास बैंक, २७ वटा वित्त कम्पनीहरु, ६२ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । यसबाहेक, मर्चेन्ट बैंकहरु, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, २८ वटा बीमा कम्पनीहरु लगायत वित्तीय कारोबार गर्ने कम्पनीहरु संचालनमा छन् । यसरी वित्तीय क्षेत्रको आकार जीडीपीको हाराहारीमा पुगिसकेको छ । 

बैंकिङ प्रविधि
आधुनिक बैकिङ्ग पद्धतिको विकाससँगै चेक, प्लास्टिक मूद्रा (डेविट कार्ड, क्रेडिट कार्डं) इलेक्ट्रोनिक बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, मोबाईल बैंकिङ समेतको विकास भइसकेको छ । अन्तर्रािष्ट्रय व्यापारको विविधतासँगै मुद्रा प्रचलनको सहजताका लागि विभिन्न अन्तर्रा्ष्ट्रिय मुद्राहरुमध्ये अमेरिकी डलरलाई आधार मुद्राको रुपमा लिई अन्तर्राष्ट्रिय व्यापार गरिँदै आएको छ । विश्व व्यापारीकरणसँगै एक अर्कामा परनिर्भर बन्दै गएको बढ्दो अन्तराष्ट्रिय व्यापारिक कारोबारलाई जीवन्तता दिन आधुनिक बैकिङ्ग प्रणालीले नयाँ पद्धतिहरु अपानाएर दिएको सेवाले मानव जीवनलाई निकै सहज तुल्याएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा प्रविधिको विकासलाई जोड दिइएको छ । कतिपय विकसित मुलुकहरु जस्तै नेपाललाई पनि क्यासलेस ट्रान्ज्याक्सनमा लैजाने प्रयासहरु भइरहेका छन् ।