Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

निःशुल्क डिम्याट र विशेष छुटसहित एनआईसी एशिया क्यापिटलको नयाँ अफर

२०८३ श्रावण ७ गते

बैंकिङ खबर/ पूँजी बजारमा सर्वसाधारणको पहुँच विस्तार गर्ने लक्ष्यसहित एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि डिम्याट तथा मेरो शेयर सेवामा विशेष छुटसहित विभिन्न नयाँ सुविधा सार्वजनिक गरेको छ। ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै क्यापिटलले नयाँ लगानीकर्ता, विद्यार्थी तथा विद्यमान हितग्राहीलाई लक्षित गरी निःशुल्क डिम्याट सेवा, नवीकरण शुल्कमा छुट र आजीवन नवीकरण योजनासमेत ल्याएको जनाएको छ।

क्यापिटलका अनुसार पछिल्लो समय निक्षेप सदस्य (डीपी) अन्तर्गतका अधिकांश सेवालाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गरिएको छ। ग्राहकहरूले अब डिम्याट खाता खोल्ने, मेरो शेयर दर्ता गर्ने, नवीकरण गर्ने तथा अन्य आवश्यक सेवा अनलाइनमार्फत सहज रूपमा लिन सक्नेछन्। यससँगै एनआईसी एशिया बैंकका देशभरका शाखा कार्यालयबाट पनि डिम्याट र मेरो शेयरसम्बन्धी सेवा उपलब्ध गराइएको छ, जसले सेवा पहुँचलाई अझ व्यापक बनाउने विश्वास गरिएको छ। आर्थिक वर्ष २०८३/८४ भर क्यापिटल वा यसको शाखामार्फत नयाँ डिम्याट खाता खोल्ने ग्राहकले निःशुल्क डिम्याट खाता सुविधा प्राप्त गर्नेछन्। साथै, पहिलो वर्षको डिम्याट खाताको नवीकरण शुल्क पूर्ण रूपमा छुट गरिने भएको छ। क्यापिटलले यस व्यवस्थाले पूँजी बजारमा पहिलो पटक प्रवेश गर्ने लगानीकर्तालाई थप सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरेको छ।

युवा पुस्तालाई धितोपत्र बजारप्रति आकर्षित गर्ने उद्देश्यले ‘एनआईसी एशिया विद्यार्थी डिम्याट सेवा’ पनि सञ्चालनमा ल्याइएको छ। यस योजनाअन्तर्गत विद्यार्थीहरूले निःशुल्क डिम्याट खाता, पहिलो वर्षको नवीकरण शुल्कमा छुट तथा निःशुल्क मेरो शेयर दर्ता सुविधा प्राप्त गर्नेछन्। कम्पनीका अनुसार विद्यालय तथा कलेज तहदेखि नै लगानीसम्बन्धी चेतना विस्तार गर्दै पूँजी बजारमा नयाँ पुस्ताको सहभागिता बढाउने लक्ष्यका साथ यो योजना ल्याइएको हो। यसैगरी, क्यापिटलले विद्यमान तथा नयाँ दुवै हितग्राहीलाई लक्षित गर्दै आजीवन डिम्याट तथा मेरो शेयर नवीकरण योजना पनि सार्वजनिक गरेको छ। यसअन्तर्गत रु. ९९९ एकमुष्ट भुक्तानी गरेमा डिम्याट खाताको आजीवन नवीकरण गर्न सकिनेछ भने रु. १,००० तिरेर मेरो शेयर खाताको पनि आजीवन नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। सामान्यतया वार्षिक रूपमा डिम्याट नवीकरण शुल्क रु. १०० र मेरो शेयर सेवा शुल्क रु. ५० लाग्ने भएकाले दीर्घकालीन रूपमा यो योजना ग्राहकका लागि लाभदायी हुने क्यापिटलले जनाएको छ। यो सुविधा २०८३ साल श्रावण मसान्तसम्म मात्र उपलब्ध रहनेछ।

एनआईसी एशिया बैंकका शाखामार्फत डिम्याट खाता खोल्ने ग्राहकलाई पनि निःशुल्क डिम्याट, निःशुल्क मेरो शेयर दर्ता तथा पहिलो वर्षको नवीकरण शुल्कमा छुट प्रदान गरिने व्यवस्था मिलाइएको छ। बैंक र क्यापिटलबीचको समन्वयबाट एउटै नेटवर्कमार्फत पूँजी बजारसम्बन्धी सेवा उपलब्ध गराउने रणनीतिअनुसार यो सुविधा विस्तार गरिएको हो। कम्पनीका अनुसार यी योजनाको मुख्य उद्देश्य पूँजी बजारमा नयाँ लगानीकर्ताको संख्या बढाउनु, डिजिटल वित्तीय सेवाको प्रयोग विस्तार गर्नु, सेवा प्रवाहलाई अझ सहज र छरितो बनाउनु तथा सर्वसाधारणलाई धितोपत्र बजारसँग जोड्ने वातावरण सिर्जना गर्नु हो। क्यापिटलले सेवासम्बन्धी थप जानकारीका लागि आफ्नो आधिकारिक सम्पर्क माध्यममार्फत ग्राहकले आवश्यक सूचना प्राप्त गर्न सक्ने जनाएको छ।