Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

निजी क्षेत्रमा कर्जा विस्तार, निक्षेप १३.९ प्रतिशत र कर्जा ६.५ प्रतिशतले बढ्यो

२०८३ भाद्र १० गते

बैंकिङ खबर /   बैंक तथा वित्तीय संस्थामा निक्षेप र निजी क्षेत्रमा प्रवाहित कर्जा दुवै बढेको छ । पछिल्लो आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १३.९ प्रतिशतले वृद्धि भएको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७२ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी, निजी क्षेत्रमा प्रवाहित कर्जा ५५ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

बैंकिङ प्रणालीमा ब्याजदर पनि तुलनात्मक रूपमा न्यून रहेको छ । बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ । यस्तै, ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३२ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.२१ प्रतिशत रहेको छ भने कर्जाको भारित औसत ब्याजदर ६.५५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

निक्षेप संकलनमा भएको वृद्धि र ब्याजदर तुलनात्मक रूपमा न्यून रहँदा निजी क्षेत्रमा कर्जा प्रवाहसमेत विस्तार भएको देखिएको छ । कर्जा विस्तारले उद्योग, व्यवसाय तथा आर्थिक गतिविधिमा वित्तीय स्रोतको पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

समग्रमा बैंकिङ प्रणालीमा निक्षेप वृद्धि, निजी क्षेत्रमा कर्जा विस्तार तथा ब्याजदरमा आएको सहजताले वित्तीय क्षेत्रमा सकारात्मक अवस्था देखिएको छ । रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा भएको सुधारसँगै बैंकिङ प्रणालीका प्रमुख सूचकमा आएको वृद्धिले अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ ।