Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बाढीको क्षतिले हाइड्रोपावर र निर्जीवन बीमा कम्पनीमा तरंग, नेप्से ३५.९२ अंकले घट्यो

२०८३ भाद्र १० गते

बैंकिङ खबर /  रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीको प्रभाव नेपाली सेयर बजारमा समेत देखिएको छ । बाढीबाट जलविद्युत् आयोजनाहरूमा भएको क्षति र त्यसबाट निर्जीवन बीमा कम्पनीमा पर्न सक्ने वित्तीय दायित्वको चिन्ताले बुधबार हाइड्रोपावर तथा निर्जीवन बीमा कम्पनीका सेयरमा उच्च बिक्री चाप देखिएको हो ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५.९२ अंकले घटेर २ हजार ५५८.३५ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा बजारमा उल्लेख्य गिरावट आउँदा कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३४८ कम्पनीका सेयर कारोबार भएकोमा २५२ कम्पनीको मूल्य घटेको छ । २३ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ । बजारमा कुल ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

हाइड्रोपावरमा उच्च बिक्री चाप

बाढीका कारण जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको खबर सार्वजनिक भएपछि यस क्षेत्रका कम्पनीप्रति लगानीकर्ताको धारणा कमजोर बनेको देखिएको छ । बुधबार जलविद्युत् उपसमूहको सूचक २.८४ प्रतिशतले घटेको छ ।

विशेषगरी रसुवागढी हाइड्रोपावर र मैलुङ खोला जलविद्युत्को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको ड्याममा समेत ठूलो क्षति पुगेको विवरण सार्वजनिक भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ ।

बाढीले आयोजना, बाँध, पहुँचमार्ग तथा अन्य पूर्वाधारमा पुर्‍याएको क्षतिले आयोजना सञ्चालन, मर्मतसम्भार तथा आम्दानीमा असर पर्न सक्ने आशंका लगानीकर्तामा देखिएको छ । यही कारण जलविद्युत् कम्पनीका सेयरमा बिक्री दबाब बढेको विश्लेषण गरिएको छ ।

निर्जीवन बीमा कम्पनीमा पनि असर

बाढीबाट जलविद्युत् आयोजनासँगै सवारीसाधन, भौतिक संरचना तथा अन्य सम्पत्तिमा समेत क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीतर्फ पनि लगानीकर्ताको चासो बढेको छ ।

क्षतिग्रस्त सम्पत्तिका सम्बन्धमा ठूलो परिमाणमा बीमा दाबी पर्न सक्ने र त्यसले निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानी तथा वित्तीय दायित्व बढाउन सक्ने अनुमान गरिएको छ । यही आशंकाका कारण बुधबार निर्जीवन बीमा उपसमूह सबैभन्दा बढी प्रभावित भएको देखिएको छ ।

बुधबार निर्जीवन बीमा उपसमूहको सूचक ३.९० प्रतिशतले घटेको छ । समग्र बजारका सबै उपसमूहका सूचक राताम्य बनेका छन् ।

बजारमा ४ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

बजार घटे पनि कारोबार रकम भने ४ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । चिलिमे हाइड्रोपावरको सबैभन्दा धेरै करिब २० करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बाढीबाट भएको भौतिक क्षति र त्यसको आर्थिक प्रभावबारे थप विवरण सार्वजनिक हुँदै जाँदा सम्बन्धित क्षेत्रका कम्पनीको सेयर मूल्यमा आगामी दिनमा समेत असर पर्न सक्ने लगानीकर्ताको आकलन छ ।