बैंकिङ खबर/ मुलुकको बाह्य क्षेत्रसँगै बैंकिङ प्रणालीमा समेत सुधार देखिएको छ । पछिल्लो आर्थिक तथा वित्तीय सूचकअनुसार रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति तथा निजी क्षेत्रमा प्रवाहित कर्जालगायत सूचकमा सकारात्मक वृद्धि देखिएको हो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३७.१ प्रतिशतले र अमेरिकी डलरमा २८.१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असार महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ ।रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिसँगै मुलुकको बाह्य क्षेत्र थप बलियो बनेको छ । समीक्षा अवधिमा चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँ बचतमा पुगेको छ ।
विदेशी मुद्रा सञ्चिति पनि बलियो
मुलुकको कुल विदेशी विनिमय सञ्चिति पनि पर्याप्त रहेको देखिएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड पुगेको छ । उक्त सञ्चितिले करिब १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।
बाह्य क्षेत्रको सुधारमा रेमिट्यान्ससँगै निर्यात र आयातमा भएको वृद्धिले पनि योगदान गरेको छ । समीक्षा अवधिमा वस्तु तथा सेवाको निर्यात १३.५ प्रतिशतले तथा आयात १६.२ प्रतिशतले बढेको छ ।
आर्थिक वृद्धिदर ३.५४ प्रतिशत रहने अनुमान
चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.५४ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो ।
यता २०८३ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को औसत मुद्रास्फीति भने ३.०८ प्रतिशतमा सीमित रहेको छ ।
सरकारको खर्च र राजस्व परिचालन
समीक्षा अवधिसम्म नेपाल सरकारको कुल खर्च १५ खर्ब ५२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा राजस्व परिचालन १२ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।यसैगरी विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको थियो ।