Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

ऊर्जामा बैंकको कर्जा विस्तार तीव्र, एक वर्षमै थपियो ८१ अर्ब

२०८३ मंसिर १० गते

बैंकिङ खबर / नेपालको ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरूको कर्जा लगानी उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा प्रवाह गरेको कर्जा ५ खर्ब २५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १८.१८ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकको २०८३ असोज मसान्तसम्मको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरूको कर्जा लगानी ४ खर्ब ४५ अर्ब १ करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा यस क्षेत्रमा थप ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

ऊर्जा क्षेत्रमा बैंकहरूको बढ्दो लगानीको ठूलो हिस्सा जलविद्युत् आयोजना निर्माण तथा विकासमा केन्द्रित छ । जलविद्युत् आयोजना निर्माणका लागि ठूलो पुँजी आवश्यक पर्ने भएकाले प्रवर्द्धकहरूले सामान्यतया ७०:३० को ऋण तथा स्वपुँजी अनुपातमा वित्तीय स्रोत जुटाउने गरेका छन् । यसले आयोजना विकासमा बैंक तथा वित्तीय संस्थाको कर्जालाई महत्वपूर्ण स्रोत बनाएको छ ।

बैंकगत विवरणअनुसार ऊर्जा क्षेत्रमा सबैभन्दा बढी कर्जा लगानी नबिल बैंकको रहेको छ । बैंकले यस क्षेत्रमा ५७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको ऊर्जा क्षेत्रको कर्जा ३७.६३ प्रतिशतले बढेको हो ।

त्यस्तै, कुमारी बैंक ५५ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानीसहित दोस्रो स्थानमा छ । बैंकको ऊर्जा क्षेत्रको कर्जा एक वर्षमा ३५.०६ प्रतिशतले बढेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३६ अर्ब १३ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, लक्ष्मी सनराइज बैंकको ३५ अर्ब ६० करोड र ग्लोबल आइएमई बैंकको ३३ अर्ब २४ करोड रुपैयाँ कर्जा ऊर्जा क्षेत्रमा प्रवाह भएको छ ।

कर्जा वृद्धिदरका आधारमा भने एनआईसी एसिया बैंक अगाडि देखिएको छ । बैंकको ऊर्जा क्षेत्रको कर्जा एक वर्षमा ६४.९२ प्रतिशतले बढेर ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । एभरेष्ट बैंकको यस क्षेत्रको कर्जा पनि ५४.८५ प्रतिशतले बढेर ३१ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

यद्यपि, सबै बैंकको ऊर्जा क्षेत्रमा कर्जा लगानी समान रूपमा बढेको छैन । समीक्षा अवधिमा तीन वाणिज्य बैंकको ऊर्जा क्षेत्रको कर्जा घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको कर्जा सबैभन्दा बढी ३६.३९ प्रतिशतले घटेर ५ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ ।

ऊर्जा क्षेत्रमा बैंकहरूको लगानी विस्तार भइरहँदा आयोजनाको वित्तीय जोखिम व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण देखिएको छ । पछिल्ला वर्षमा बाढीपहिरोका कारण जलविद्युत् आयोजना, प्रसारण लाइन तथा निर्माणाधीन पूर्वाधारमा क्षति पुग्ने क्रमले यस क्षेत्रको लगानी जोखिमलाई थप उजागर गरेको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदी करिडोरमा आएको बाढीले आठ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो । पाँच सञ्चालनमा रहेका आयोजनाको कुल ४३१ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको थियो । यसले जलविद्युत् क्षेत्रमा लगानी गर्दा प्राकृतिक विपद्, आयोजना सुरक्षाका उपाय र बीमा व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखाएको छ ।

ऊर्जा उत्पादन तथा पूर्वाधार विस्तारमा निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा बैंकहरूको कर्जा लगानीसमेत विस्तार भइरहेको छ । तर, दीर्घकालीन कर्जा प्रवाह हुने यस क्षेत्रमा आयोजना समयमै सम्पन्न हुने अवस्था, विद्युत् उत्पादन तथा बिक्रीबाट हुने आम्दानी र प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिको जोखिम व्यवस्थापनले बैंकहरूको लगानीको गुणस्तर निर्धारण गर्नेछ ।

Ad