Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

विदेशी मुद्रा सम्पत्तिको उछालले राष्ट्र बैंकको वासलात ४१ खर्ब पार

२०८३ मंसिर १० गते

बैंकिङ खबर /  नेपाल राष्ट्र बैंकको कुल वासलात ४१ खर्ब रुपैयाँ नाघेको छ । विदेशी मुद्रा सम्पत्तिमा भएको वृद्धि र बैंक तथा वित्तीय संस्थाको केन्द्रीय बैंकमा रहेको निक्षेप बढेसँगै चालु आर्थिक वर्षको पहिलो चार महिनामा राष्ट्र बैंकको वित्तीय आकार थप विस्तार भएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रारम्भिक वित्तीय विवरणअनुसार केन्द्रीय बैंकको कुल वासलात ४१ खर्ब ३४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो वासलात ३८ खर्ब ७४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । यसअनुसार चार महिनामा राष्ट्र बैंकको वासलात २ खर्ब ५९ अर्ब २७ करोड रुपैयाँ अर्थात् ६.६९ प्रतिशतले बढेको हो ।

वासलात विस्तारमा विदेशी मुद्रा सम्पत्तिको वृद्धि प्रमुख आधार बनेको छ । कात्तिक मसान्तसम्म राष्ट्र बैंकको विदेशी मुद्रा सम्पत्ति ३९ खर्ब ८९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सम्पत्ति ३७ खर्ब ३० अर्ब २७ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा विदेशी मुद्रा सम्पत्ति २ खर्ब ५९ अर्ब ८३ करोड रुपैयाँले बढेको हो ।

राष्ट्र बैंकको कुल सम्पत्तिमा विदेशी मुद्रा सम्पत्तिको हिस्सा करिब ९६.५१ प्रतिशत रहेको छ । यसअन्तर्गत विदेशी सुरक्षणपत्रमा गरिएको लगानी सबैभन्दा ठूलो छ । कात्तिक मसान्तसम्म विदेशी सुरक्षणपत्रमा राष्ट्र बैंकको लगानी २९ खर्ब ३९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो लगानी २६ खर्ब २३ अर्ब २८ करोड रुपैयाँ थियो ।

त्यस्तै, विदेशी बैंकमा राखिएको मुद्दती निक्षेप भने घटेको छ । असार मसान्तमा ६ खर्ब १० अर्ब ५८ करोड रुपैयाँ रहेको यस्तो निक्षेप कात्तिक मसान्तमा ५ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँमा झरेको छ । विदेशी बैंकमा रहेको नगद तथा मौज्दात भने बढेर २ खर्ब ८५ अर्ब २ करोड रुपैयाँ पुगेको छ । सुन प्रमाणपत्रमा गरिएको लगानी २ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

चलनचल्तीको मुद्रा १२ प्रतिशतले बढ्यो

राष्ट्र बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा चलनचल्तीमा रहेको नेपाली नोटको परिमाण पनि उल्लेख्य बढेको छ । कात्तिक मसान्तसम्म चलनचल्तीमा रहेको मुद्राको मूल्य ८ खर्ब ९८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो रकम ८ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ थियो ।

चार महिनामा चलनचल्तीको मुद्रा ९६ अर्ब ९२ करोड रुपैयाँ अर्थात् १२.०९ प्रतिशतले बढेको हो । यसले समीक्षा अवधिमा बजारमा नगद परिचालनको परिमाण बढेको देखाउँछ ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राखेको स्थानीय मुद्राको निक्षेप पनि उल्लेख्य वृद्धि भएको छ । असार मसान्तमा ३ खर्ब ९२ अर्ब ५७ करोड रुपैयाँ रहेको यस्तो निक्षेप कात्तिक मसान्तमा बढेर ८ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । चार महिनामा यस्तो निक्षेप दोब्बरभन्दा बढी भएको हो ।

सरकारी निक्षेपसमेत बढेर ३ खर्ब १८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा सरकारको निक्षेप १ खर्ब ८६ अर्ब १ करोड रुपैयाँ थियो । अर्कोतर्फ बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गर्नुपर्ने दायित्व भने १२ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँबाट घटेर ९ खर्ब १८ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।

राष्ट्र बैंकको स्थानीय मुद्रामा रहेको कुल दायित्व ३० खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो दायित्व २७ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ थियो । विदेशी मुद्रामा रहेको दायित्व भने घटेर ४९ अर्ब २ करोड रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँमा यथावत् रहेको छ । सञ्चिति भने असार मसान्तको १० खर्ब ८५ अर्ब ७३ करोड रुपैयाँबाट घटेर कात्तिक मसान्तमा १० खर्ब ४७ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ ।

यसरी विदेशी मुद्रा सम्पत्तिमा भएको वृद्धि, बैंक तथा वित्तीय संस्थाको निक्षेप र चलनचल्तीको मुद्रामा भएको विस्तारले राष्ट्र बैंकको कुल वासलात ४१ खर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।

Ad