Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मनिचेञ्जर व्यवसायबाट बाहिरियो राष्ट्रिय, राष्ट्र बैंकले खारेज गर्‍यो लाइसेन्स

२०८३ मंसिर १० गते

बैंकिङ खबर /  नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित राष्ट्रिय मनिचेञ्जर प्रा.लि. को विदेशी मुद्रा कारोबारसम्बन्धी इजाजतपत्र खारेज गरेको छ । कम्पनीले आफ्नो व्यवसाय सञ्चालन बन्द गर्ने निर्णय गर्दै इजाजतपत्र फिर्ताका लागि निवेदन दिएपछि केन्द्रीय बैंकले खारेजीको निर्णय गरेको हो ।

राष्ट्र बैंकको धनगढी कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । भीमदत्त नगरपालिका-४, महेन्द्रनगरमा रहेको उक्त कम्पनीले राष्ट्र बैंकबाट अनुमति लिएर भारतीय रुपैयाँको खरिद तथा बिक्री कारोबार गर्दै आएको थियो ।

कम्पनीले आफ्नो कारोबार बन्द गरिसकेको जनाउँदै मनिचेञ्जरका रूपमा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र खारेज गरिदिन राष्ट्र बैंकसमक्ष स्वेच्छिक निवेदन पेस गरेको थियो । सोही निवेदनका आधारमा राष्ट्र बैंकले २०८३ कात्तिक २० गते इजाजतपत्र खारेज गर्ने निर्णय गरेको जनाएको छ ।

राष्ट्र बैंकको धनगढी कार्यालयले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७९ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम उक्त निर्णय गरेको हो ।

इजाजतपत्र खारेज भएसँगै राष्ट्रिय मनिचेञ्जर प्रा.लि.ले राष्ट्र बैंकबाट प्राप्त अनुमतिअन्तर्गत गर्दै आएको भारतीय रुपैयाँ खरिद तथा बिक्री कारोबार सञ्चालन गर्ने कानुनी आधार समाप्त भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक सूचनामार्फत सम्बन्धित सबैलाई इजाजतपत्र खारेज भएको जानकारी गराएको छ ।

Ad