Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरूको मुद्दती निक्षेपमा २५ अर्ब लगानी गर्दै राष्ट्र बैंक

२०८३ मंसिर ९ गते

बैंकिङ खबर  /  नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २५ अर्ब रुपैयाँभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले कुल २५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार उक्त रकम २०२६ डिसेम्बर ७ देखि २०२७ डिसेम्बर ७ सम्म ३६६ दिनका लागि लगानी गरिनेछ । यसका लागि राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट ब्याजदर प्रस्ताव माग गरेको छ ।

राष्ट्र बैंकले लगानी गर्न लागेको कुल रकममध्ये सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूका लागि छुट्याइएको छ । वाणिज्य बैंकमा २० अर्ब ५ करोड ९८ लाख रुपैयाँ लगानी गरिनेछ । त्यस्तै, राष्ट्रियस्तरका विकास बैंकका लागि ३ अर्ब ७६ करोड १२ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीका लागि १ अर्ब २५ करोड ३७ लाख रुपैयाँ छुट्याइएको छ ।

यसअनुसार कुल लगानीको करिब ८० प्रतिशत रकम वाणिज्य बैंकमा जानेछ । बाँकी रकम विकास बैंक र वित्त कम्पनीमा लगानी गरिनेछ ।

उक्त निक्षेप प्राप्त गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर खुलाएर सिलबन्दी आवेदन पेस गर्नुपर्नेछ । राष्ट्र बैंकले तोकेको समयसीमाभित्र आवेदन बुझाउनुपर्नेछ । प्राप्त प्रस्तावमध्ये बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको ब्याजदरका आधारमा निक्षेप लगानीको प्रक्रिया अघि बढाइनेछ ।

मुद्दती निक्षेपका रूपमा राखिने उक्त रकमको ब्याज त्रैमासिक रूपमा भुक्तानी हुने व्यवस्था गरिएको छ । निक्षेप प्राप्त गर्न चाहने संस्थाले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको हुनुपर्नेछ । साथै, निष्क्रिय कर्जा अनुपात तथा कर्जा–निक्षेप अनुपातसम्बन्धी तोकिएका मापदण्ड पनि पूरा गर्नुपर्नेछ ।

राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा राख्दै आएको छ । यस्तो लगानीले बैंक तथा वित्तीय संस्थालाई निश्चित अवधिका लागि निक्षेप स्रोत उपलब्ध गराउनुका साथै केन्द्रीय बैंकका कोषमा रहेको रकमबाट ब्याज आम्दानीसमेत सुनिश्चित गर्ने उद्देश्य राख्छ ।

 

Ad