रेवतीप्रसाद नेपाल
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा कुल वस्तु आयात ३८.२ प्रतिशतले वृद्धि भई रु.६४६ अर्ब ७८ करोड पुगेको र भारत, चीन र अन्य मुलुकबाट भएको आयातमा क्रमशः ४१.७ प्रतिशत, २८.० प्रतिशत र ३९.७ प्रतिशतले वृद्धि भएको दखिन्छ । गत आ.व. मा बार्षिक कुल आयात रु. २०९६ अर्व र निर्यात रु. ३१५ अर्व रहेको देखिन्छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायात उपकरण र सवारी साधन तथा स्पेयर पार्टपुर्जा, रासायनिक मल, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात बढेको र सुन, धान तथा चामल, हवाइजहाजका स्पेयर पार्टपुर्जा, चाँदी, फलफूललगायतका वस्तुको आयात घटेको छ । आर्थिक वर्ष २०८३/८४ को प्रथम तीन महिनामा कुल वस्तु व्यापार घाटा ३४.७ प्रतिशतले वृद्धि भई रु.५३२ अर्ब ४९ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १७.७ प्रतिशत पुगेको छ । २०८३ असार मसान्तमा रु.३८९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा ६.८ प्रतिशतले वृद्धि भई २०८३ असोज मसान्तमा रु.४१६१ अर्ब १४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ असोज मसान्तमा ८.२ प्रतिशतले वृद्धि भई २७ अर्ब ३९ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालको निर्यातको अवस्था कमजोर हुनाका मुख्य कारणहरुमा न्यून मूल्य अभिबृद्धि, कमजोर गुणस्तर, बढ्दै गएको उत्पादन तथा वितरण लागत, कमजोर ब्राण्डिड.तथा प्याकेजिङ्ग, कमजोर उत्पादकत्व, बस्तु विविधीकरणको अभाव, दक्ष कामदारको अभाव र वित्तीय तथा आर्थिक समस्याहरु रहेका छन् । यी समस्याहरुको समाधान गरी निर्यात बढाउनको लागि नेपाल राष्ट्र बैंक लगायत नेपाल सरकारका विभिन्न निकायहरुले बिभिन्न प्रयासहरु गरिरहेको भएता पनि अपेक्षित सफलता हासिल गर्न सकिएको छैन।
नेपाल राष्ट्र बैंकले बैदेशिक व्यापार सम्बन्धी बिवरणहरु सार्वजनिक गर्ने मात्र नभएर देशको आयात तथा निर्यातलाई व्यवस्थित गर्ने, विदेशी विनिमय व्यवस्थामा सहजीकरण तथा निर्यात प्रवद्र्धन गरी देशमा विदेशी मुद्रा आर्जनमा समेत उल्लेखनीय कार्र्य गरेको छ । विगतमा केन्द्रीय बैंकले केही कठोर प्रकृतिको विदेशी विनिमय नीति अवलम्बन गरेकामा बर्तमान आवश्यकता तथा संचितिको अवस्था हेरी उदार नीतिको माध्यमबाट नेपालको निर्यात क्षमता अभिवृद्धि, विदेशी मुद्रा आर्जन, व्यापार घाटा न्यूनीकरण तथा भुक्तानी सन्तुलन कायम गर्न बैंकले मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, बैंकिङ कारोवारमा सहजीकरण, निर्यात कर्जा प्रवाहमार्फत विभिन्न नीतिगत र संस्थागत पहल गर्दै आएको छ । यसै सन्दर्भमा निर्यातकर्ताले विदेशी मुद्रा प्राप्त गर्ने तथा नेपाल भित्र्याउने प्रक्रियालाई सरल र सहज बनाउने, निर्यातबापत प्राप्त हुने विदेशी मुद्रा निर्धारित व्यवस्थाअनुसार बैंकिङ प्रणालीमार्फत स्वदेश भित्र्याउने, निर्यातबाट आर्जित विदेशी मुद्रामा खाता सञ्चालन तथा उपयोगसम्बन्धी व्यवस्था गर्ने, विदेशी विनिमय कारोबारमा देखिएका प्रक्रियागत व्यवस्थाहरुमा सहजीकरण गरी निर्यातकर्तालाई प्रोत्साहन गर्ने, निर्यातसम्बन्धी भुक्तानी तथा विदेशी मुद्रा प्राप्तिमा देखिने समस्याहरु समाधान गर्न नीतिगत सहजीकरण गरिरहेको देखिन्छ ।
विगतमा बोनस प्रथा तथा द्धय विनिमयदर प्रणाली अबलम्वन गरी निर्यात प्रोत्साहन गर्ने गरेकोमा हाल बैंक तथा वित्तीय संस्थालाई निर्यातमुखी उद्योग तथा व्यवसायमा स्वदेशी तथा विदेशी मुद्रामा कर्जा प्रवाह गर्न प्रोत्साहित गर्ने, निर्यात व्यवसायका लागि आवश्यक चालु पुँजी कर्जा तथा अल्पकालीन वित्तीय स्रोत उपलब्ध गराउन नीतिगत व्यवस्था गर्ने, निर्यातयोग्य वस्तु उत्पादन गर्ने उद्योगलाई वित्तीय पहुँच विस्तार गर्ने, कृषि, जडीबुटी, हस्तकला, तयारी पोशाक, गलैँचा, पश्मिना तथा अन्य निर्यात सम्भावना भएका क्षेत्रमा कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने, निर्यातकर्ताको नगद प्रवाह र भुक्तानी चक्रअनुसार उपयुक्त कर्जा सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गर्ने, निर्यातपूर्वको तयारीका लागि कच्चा पदार्थ खरिद, उत्पादन तथा तयारीका लागि आवश्यक वित्तीय सुविधा उपलब्ध गराउन सहजीकरण गर्ने, निर्यातपछिको भुक्तानी प्राप्त नहुँदासम्म आवश्यक चालु पुँजी कर्जा उपलब्ध गराउन प्रोत्साहन गर्ने, निर्यात बिल समेतको आधारमा बैंकिङ सुविधा उपलब्ध गराउने, निर्यात कारोबारमा हुने भुक्तानी ढिलाइबाट सिर्जना हुने वित्तीय दबाब कम गर्ने, निर्यातबापतको रकम निर्धारित समयभित्र नेपाल भित्र्याउने व्यवस्थाको कार्यान्वयन गर्ने, विदेशी खरिदकर्ताबाट प्राप्त हुने भुक्तानीलाई बैंकिङ माध्यमबाट व्यवस्थित गर्ने, निर्यातकर्ताले विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्ने र खातामा जम्मा गर्ने व्यवस्थालाई सहजीकरण गर्ने, अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने, निर्यातको भुक्तानी तथा कार्य सम्पादनको प्रकृयामा प्रयोग हुने प्रतीतपत्र, बैंक जमानत आदि व्यवस्थालाई थप सुरक्षित र सरल बनाउदै गएको छ ।
नेपाल सरकारले निर्यातमा नगद अनुदान प्रदान गर्ने सम्वन्धी कार्यविधि लागू गरेको र उक्त कार्यविधिअनुसार तोकिएका वस्तुहरुमा तोकिएको मूल्य अभिवृद्धि गरी निर्यात गर्दा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराउने व्यवस्थाको कार्यान्वयनमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने गरेको छ । निर्यातकर्ताले आवश्यक कागजातसहित सम्बन्धित बैंकमार्फत अनुदानका लागि आवेदन दिने, बैंकले आवश्यक प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने र तोकिएको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकबाट शोधभर्ना प्राप्त गर्ने व्यवस्था रहेकोमा पछिल्लो वर्षहरुमा निर्यातमा नगद अनुदान दिने व्यवस्थामा आबश्यक परिमार्जन गर्ने गरी उक्त कार्यविधिको कार्यान्वयन प्रक्रिया हाललाई स्थगित गरिएको छ । बैंकले निर्यात तथा आयातसम्बन्धी विदेशी विनिमय सम्बन्धी कारोबारलाई व्यवस्थित गर्ने, निर्यात रकमको प्राप्ति, उपयोग तथा विदेशी मुद्रा कारोबारको अभिलेख राख्ने व्यवस्था गर्ने, वाणिज्य बैंकमार्फत निर्यात कारोबारको भुक्तानी व्यवस्थापन गर्ने, विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र जारी गरी बैंकहरुलाई निर्देशन दिने, प्रतीतपत्र (एलसी) कारोबारलाई थप सहजीकरण गर्ने तथा अन्य अन्तर्राष्ट्रिय भुक्तानी माध्यमको प्रयोगलाई व्यवस्थित गर्ने, अन्तर्राष्ट्रिय व्यापारमा बैंक प्रत्याभूति तथा अन्य व्यापार उपकरणको प्रयोगलाई बढाउने, अन्तर्राष्ट्रिय बैंकिङ कारोबारमा देखिने जोखिमको व्यवस्थापन तथा पारदर्शिता कायम गर्ने कार्य समेत गरिरहेको छ । साथै, उद्योगमा विदेशी लगानी आकर्षित गर्न विदेशी लगानी तथा ऋण परिचालनसम्बन्धी स्वीकृति, अभिलेखीकरण तथा रकम फिर्ता लैजाने प्रक्रिया सरल बनाएको, विदेशी लगानी तथा ऋण ब्यवस्थापनसम्बन्धी विनियमावलीामा पांचांै संशोधन गरी स्वीकृति प्रकिृया थप उदार बनाएको छ ।
नेपाल राष्ट्र बैंकले उत्पादकहरुको निर्यात क्षमता बढाउन आवश्यक प्रविधि, पुँजी तथा उत्पादन क्षमता विस्तारमा सहयोग पुग्ने वातावरण निर्माण गर्ने, मौद्रिक नीतिमार्फत उत्पादनमूलक तथा निर्यातमुखी क्षेत्रमा प्रवाह हुने कर्जालाई प्रोत्साहन गर्ने, विदेशी विनिमय व्यवस्थापनमार्फत निर्यातको भुक्तानी तथा विदेशी मुद्रा प्राप्तिमा सहजीकरण गर्ने, बिदेशी मुद्रामा आय आर्जन गर्नेलाई सहजतापूर्वक खर्च गर्ने सुविधा प्रदान गर्ने, नियमनमार्फत निर्यात कर्जालाई प्रोत्साहन गर्ने, विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी नियामकीय भूमिका निर्वाह गर्ने, बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी गरिने नीति तथा एकीकृत निर्देशनका व्यवस्थाहरु बजारको आवश्यकता र बिदेशी मुद्रा संचितिको अवस्था बमोजिम थप लचिलो बनाउदै लैजाने, अन्तर्राष्ट्रिय भुक्तानी कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउने, निर्यातबाट विदेशी मुद्रा आर्जन बढाउन सहयोगी वातावरण निर्माण गर्ने कार्य गरिरेहको छ । रेमिट्यान्स आप्रवाहमा भएको सुधार, बाणिज्य बैंकबाट खरिद गरिएको विदेशी मुद्राको रकम र नीतिगत सुधारको पहलबाट हाल देशमा करीब रु.४२०० अर्ब बरावरको विदेशी मुद्रा संचिति रहेको र उक्त संचितिले १७ महिनाभन्दा बढीको वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता रहेको देखिन्छ । बर्तमान अवस्थामा विदेशी मुद्राको संचितिको पर्याप्तता मात्र नभई यसको सही उपयोग, सुरक्षा, तरलता र प्रतिफल बढाउने गरी ब्यवस्थापन गर्ने कार्य थप महत्वपूर्ण भएको छ ।
निर्यात प्रवद्र्धनका लागि आगामी दिनमा लिनुपर्ने थप पहलहरु :
पछिल्लो समय निर्यात प्रवद्र्धनको लागि नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा निकायहरुको अग्रसरता उल्लेखनीय देखिएको छ । आर्थिक कुटनीतिको माध्यमबाट निर्यात बढाउन समेत पहल भइरहेको अवस्थामा बैंकबाट निर्यातमुखी उद्योगका लागि छुट्टै निर्यात कर्जा नीति अवलम्बन गर्ने, निर्यातमुखी उद्योगलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउन नीतिगत सहजीकरण गर्ने, विदेशी मुद्रामा कर्जा उपलब्ध गराउने विद्यमान व्यवस्थाको प्रभावकारिता बढाउने, निर्यात आय स्वदेश भित्र्याउने प्रक्रिया थप सरल र समयबद्ध बनाउने, पाम तथा सोयाविन तेल आयात गरी प्याकेजिङ्ग गर्ने र पुनः भारतमा निर्यात गरी निर्यातको परिणाम बढाउने भन्दा स्वदेशी कच्चा पदार्थमा आधारित बस्तुको उत्पादन बढाई निर्यात बढाउने तर्फ पहल गर्ने, निर्यातकर्ताको भुक्तानी प्रकृयामा देखिएका जोखिम न्यूनीकरण गर्न निर्यात कर्जाको ब्यवस्था मिलाउने, निर्यातसम्बन्धी प्रतीतपत्र, बैंक जमानत तथा भुक्तानी प्रक्रियालाई विद्युतीय बनाउदै लैजाने, साना तथा मझौला निर्यातमुखी उद्योगलाई प्राथमिकताका साथ वित्तीय पहुँच उपलब्ध गराउने, बिल खरिद, नयाँ निर्यातयोग्य वस्तु तथा सेवाको उत्पादन र निर्यात विस्तार गर्न वित्तीय क्षेत्रलाई प्रोत्साहित गर्ने, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, वाणिज्य बैंक तथा निजी क्षेत्रबीच समन्वय सुदृढ गरी प्रक्रियागत सहजीकरण गर्न आवश्यक देखिएको छ ।
बैकले नीतिगत व्यवस्था गर्दा केही क्षेत्रहरु खास गरी औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रजस्ता निकायहरुलाई समेत लक्षित गरी मौद्रिक नीति तथा विदेशी विनिमय ब्यवस्थापनमा सहजीकरणमा गर्न सकेमा यसवाट निर्यात प्रबद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । समग्रमा, नेपालको निर्यात प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकको भूमिका नीतिगत सहजीकरण, विदेशी विनिमय व्यवस्थापन, निर्यात कर्जाको सहज उपलब्धता, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको विकास, वैदेशिक लगानीको व्यवस्थापन र स्थायित्व सहित वित्तीय क्षेत्रको संचालन महत्वपूर्ण देखिएको छ । नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न बैंकबाट जारी हुने नीतिगत व्यवस्थाहरु आयात र निर्यातको अभिलेख व्यवस्थापनमा मात्र केन्द्रित नभई प्रतिस्पर्धी लागतमा उत्पादन बृद्धि, निर्यातमा विविधीकरण, निर्यातमुखी उद्योगमा लगानी विस्तार र प्रतिस्पर्धात्मक वातावरण निर्माणमा सहयोग पुग्ने गरी संचालन गर्न सकेमा दीर्घकालिनरुपमा देशले आर्थिक सम्बृद्धिको मार्ग तय गर्न सहयोग पुग्ने देखिछ । लेखक नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुनुहुन्छ ।