Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

नेपालमा विदेशी लगानी सहज बनाउँदै सरकार, १०२ उद्योगमा स्वचालित स्वीकृति

२०८३ मंसिर ७ गते

बैंकिङ खबर /  नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न स्वीकृति प्रक्रियालाई सहज बनाउँदै १०२ वटा औद्योगिक क्षेत्रमा स्वचालित स्वीकृतिको व्यवस्था लागू गरेको छ। लगानीसम्बन्धी कानुनी तथा प्रशासनिक प्रक्रिया सरल बनाउने उद्देश्यले सरकारले विभिन्न नीतिगत सुधारसमेत अघि बढाएको छ।

भारतको नयाँदिल्लीमा आयोजित नेपाल-भारत बिजनेस राउन्डटेबलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा विदेशी लगानीको वातावरण सुधार गर्न सरकारले चालेका कदमबारे जानकारी दिएका हुन्। उनका अनुसार विदेशी लगानीका लागि १०२ वटा उद्योगमा स्वचालित स्वीकृति प्रणाली लागू गरिएको छ। यसका साथै लगानीसम्बन्धी कानुनी जटिलता हटाउन ५९ वटा ऐनका करिब ५०० प्रावधान संशोधन गर्ने प्रक्रिया अघि बढाइएको छ।

श्रेष्ठले नेपाल र भारतबीच व्यापारिक सम्बन्ध बलियो रहे पनि भारतीय निजी क्षेत्रबाट अपेक्षाकृत लगानी आउन नसकेको उल्लेख गर्दै भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरे। कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरे। उनले सूचना प्रविधि, जलविद्युत् तथा कनेक्टिभिटीजस्ता क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा सञ्चालनमा रहेका भारतीय कम्पनीलाई समेत आफ्नो व्यवसाय विस्तार गर्न आग्रह गरे ।

वाग्लेले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न लगानी सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजाने प्रक्रियालाई सहज बनाउने सरकारको प्रतिबद्धता व्यक्त गरे। लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सुधारलाई प्राथमिकता दिइएको उनको भनाइ थियो। यसैगरी, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत यांकी उक्याबले नेपालमा विदेशी लगानीका लागि उपलब्ध अवसरबारे जानकारी दिँदै १०२ उद्योगमा स्वचालित स्वीकृतिको व्यवस्था रहेको बताइन्। उनका अनुसार उद्योग दर्ता प्रक्रिया १५ दिनभित्र पूरा गर्न सकिने व्यवस्था गरिएको छ।

उक्याबले हालसम्म ५३ वटा परियोजनामा करिब १ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको जानकारी दिइन्। स्वीकृत परियोजनामध्ये २८ वटा निर्माणाधीन अवस्थामा रहेको उनले बताइन्। उनले जलविद्युत्, सौर्य ऊर्जा, हरित डेटा सेन्टर, कृषि प्रशोधन, रेलमार्ग, पर्यटन तथा खेलकुद पूर्वाधारलाई भारतीय लगानीका सम्भावित क्षेत्रका रूपमा प्रस्तुत गरिन्। नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई व्यापारमा मात्र सीमित नराखी ऊर्जा, पूर्वाधार, प्रविधि तथा औद्योगिक विकासमा विस्तार गर्नुपर्नेमा कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीले जोड दिएका थिए।

विदेशी लगानी आकर्षित गर्न सरकारले नीतिगत सुधार र स्वीकृति प्रक्रियालाई सहज बनाउने प्रयास गरिरहेका बेला भारतीय निजी क्षेत्रसँगको सहकार्य विस्तारलाई अर्थतन्त्रमा थप पुँजी, प्रविधि र रोजगारी भित्र्याउने अवसरका रूपमा हेरिएको छ।

Ad