Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

खराब कर्जा असुलीमा ध्यान दिन अर्थमन्त्रीको निर्देशन

२०८३ कार्तिक ३० गते

बैंकिङ खबर / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष प्राथमिकता दिन र अनुत्पादक क्षेत्रमा लगानी विस्तार नगर्न निर्देशन दिएका छन् । बैंकको वित्तीय अनुशासन, सुशासन र संस्थागत क्षमता मजबुत बनाउनुपर्नेमा जोड दिँदै उनले लगानीको गुणस्तरमा ध्यान दिन आग्रह गरेका हुन् ।

नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले बैंकले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्दै पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बैंकिङ सेवा प्रवाह गर्नुपर्ने बताए । वित्तीय स्रोतको सदुपयोग गर्दै खराब कर्जा नियन्त्रण र असुलीलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले नेपाल सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेको तीनबुँदे कार्यसूची कार्यान्वयन गर्न पनि बैंकलाई आग्रह गरे । बैंकको कामकारबाहीमा पारदर्शिता कायम राख्ने, संस्थागत कमजोरी पहिचान गरी सुधार गर्ने र तथ्यांक तथा सूचनाको सुरक्षामा विशेष सावधानी अपनाउनुपर्ने उनले बताए ।

अर्थमन्त्री वाग्लेले आगामी दिनमा डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच उपलब्ध गराउन बैंकको भूमिका महत्त्वपूर्ण हुने बताए । त्यस्तै, हरित अर्थतन्त्रको प्रवर्द्धन र वित्तीय साक्षरता विस्तारमा पनि बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा औपचारिक बैंकिङ प्रणालीको जग बसाल्न नेपाल बैंकले महत्त्वपूर्ण भूमिका खेलेको बताए । बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास, वित्तीय स्रोत परिचालन र पुँजी निर्माणमा योगदान पुर्‍याउनुका साथै औद्योगिक तथा व्यावसायिक गतिविधिको विस्तारमा सहयोग गरेको उनको भनाइ थियो ।

प्रमुख कार्यकारी अधिकृत पाण्डेयका अनुसार हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । बैंकमा चार खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने दुई खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको उनले जानकारी दिए ।

बैंकका ग्राहकको संख्या २९ लाख २४ हजार पुगेको छ भने कर्मचारी संख्या तीन हजार ६०० रहेको छ । बैंकले देशका ७१ जिल्लामा शाखा विस्तार गरेको छ । त्यस्तै, बैंकका २५० वटा एटीएम सञ्चालनमा रहेका छन् भने मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १० लाख पुगेको बैंकले जनाएको छ ।

९० वर्ष लामो बैंकिङ इतिहास बोकेको नेपाल बैंकले पछिल्लो समय डिजिटल सेवा विस्तार र प्रतिस्पर्धात्मक बैंकिङ बजारमा आफ्नो उपस्थिति बलियो बनाउने चुनौती सामना गरिरहेको छ । अर्थमन्त्रीको निर्देशनले बैंकको आगामी प्राथमिकतामा खराब कर्जा व्यवस्थापन, लगानीको गुणस्तर, सुशासन र प्रविधिमा आधारित सेवा विस्तारलाई महत्त्व दिएको देखिन्छ ।

Ad