Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

रसुवा बाढीको असर सेयर बजारसम्म, सूचीकृत जलविद्युत् कम्पनीका आयोजनामा क्षति

२०८३ भाद्र १० गते

बैंकिङ खबर /  रसुवामा आएको आकस्मिक बाढीले जलविद्युत् आयोजना तथा विद्युत् प्रसारण संरचनामा ठूलो क्षति पुर्‍याउँदा यसको असर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जलविद्युत् कम्पनीसम्म पुगेको छ। बाढीका कारण जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका संरचना प्रभावित भएका छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–३ए, त्रिशूली–३बी हबको २२० केभी सबस्टेसन, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रलगायतका उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। क्षतिका कारण केही आयोजनाको विद्युत् उत्पादन तथा आपूर्ति प्रभावित भएको छ।

प्रारम्भिक विवरणअनुसार बाढीको प्रभाव नेप्सेमा सूचीकृत कम्तीमा पाँच जलविद्युत् कम्पनीसँग प्रत्यक्ष वा आयोजना तथा प्रसारण पूर्वाधारमार्फत जोडिएको देखिएको छ। यद्यपि, सबै आयोजनामा भएको भौतिक तथा वित्तीय क्षतिको विस्तृत मूल्यांकन भने भइसकेको छैन।

रसुवागढी हाइड्रोपावर प्रत्यक्ष प्रभावित

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरणले समेत रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुगेको पुष्टि गरेको छ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड नेप्सेमा सूचीकृत भएकाले आयोजनामा भएको क्षतिको प्रत्यक्ष प्रभाव कम्पनीको सञ्चालन तथा वित्तीय अवस्थामा पर्न सक्ने देखिन्छ। यद्यपि क्षतिको वास्तविक परिमाण प्राविधिक अध्ययनपछि मात्र स्पष्ट हुनेछ।

चिलिमे जलविद्युत् आयोजनामा पनि क्षति

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको चिलिमे जलविद्युत् आयोजना पनि बाढीको चपेटामा परेको छ। प्राधिकरणले बाढीबाट प्रभावित संरचनाको सूचीमा चिलिमे आयोजनालाई समेत समावेश गरेको छ।

चिलिमे आफैं नेप्सेमा सूचीकृत कम्पनी भएकाले आयोजनामा भएको क्षतिले कम्पनीको विद्युत् उत्पादन र आम्दानीमा असर पार्न सक्ने अवस्था देखिएको छ।

साञ्जेनका आयोजनामा पनि असर

सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका आयोजना रहेको क्षेत्रसमेत बाढीबाट प्रभावित भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीपछि साञ्जेनका आयोजनाबाट हुने विद्युत् उत्पादनसमेत प्रभावित भएको बताइएको छ।

तर आयोजनाका मुख्य संरचनामा भएको भौतिक क्षति तथा त्यसबाट कम्पनीले व्यहोर्नुपर्ने वित्तीय असरको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

मैलुङ खोला आयोजना प्रभावित

मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड को ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजना पनि बाढी प्रभावित आयोजनाको प्रारम्भिक विवरणमा परेको छ।

मैलुङ क्षेत्रमै बाढीको प्रभाव देखिएकाले आयोजनाका संरचनामा क्षति पुगेको बताइएको छ। तर कम्पनीको वास्तविक क्षति तथा पुनःनिर्माणमा लाग्ने लागतबारे विस्तृत प्राविधिक मूल्यांकनपछि मात्र यकिन हुने देखिन्छ।

माथिल्लो त्रिशूली–३बीको प्रसारण संरचनामा क्षति

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड सँग सम्बन्धित ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३बी आयोजनाको क्षेत्रमा पनि बाढीको प्रभाव परेको छ।

नेपाल विद्युत् प्राधिकरणले माथिल्लो त्रिशूली–३बी हबअन्तर्गतको २२० केभी सबस्टेसनमा क्षति पुगेको जनाएको छ। प्रसारण संरचनामा क्षति पुग्दा आयोजनाबाट उत्पादित विद्युत् प्रसारण प्रणालीमा जोड्नसमेत असर पर्न सक्ने देखिन्छ।

२३६ मेगावाट उत्पादन प्रभावित

बाढीका कारण रसुवा जिल्लामा सञ्चालनमा रहेका पाँचवटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा प्रभावित भएको प्रारम्भिक विवरण छ। ती आयोजनाबाट करिब २३६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो।

त्यसैगरी, निर्माणाधीन तीनवटा ठूला जलविद्युत् आयोजनाका विभिन्न भौतिक संरचनामा समेत गम्भीर क्षति पुगेको बताइएको छ।

समग्रमा रसुवा जिल्लामा मात्रै करिब ५७८.४२ मेगावाट क्षमताका जलविद्युत् आयोजना तथा सम्बन्धित संरचना बाढीको प्रभावमा परेका छन्। नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाहरू प्रभावित भएपछि विद्युत् उत्पादनसँगै निर्माण तथा प्रसारण पूर्वाधारमा समेत ठूलो क्षति भएको छ।

हालसम्म सार्वजनिक भएका विवरण प्रारम्भिक भएकाले कुन कम्पनीले कति क्षति व्यहोरे भन्ने यकिन तथ्यांक भने विस्तृत प्राविधिक तथा वित्तीय मूल्यांकनपछि मात्र आउनेछ।