बैंकिङ खबर / गत आर्थिक वर्ष २०८२/८३ मा मुलुकको शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्ष शोधनान्तर ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिले शोधनान्तर बचत बढाउन महत्वपूर्ण योगदान गरेको हो। गत आर्थिक वर्ष रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढेर २३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा वस्तु निर्यात १३.८ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। यस्तै, कुल वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। आयातमा वृद्धि भए पनि रेमिट्यान्स आप्रवाहमा भएको सुधारका कारण बाह्य क्षेत्रको बचत थप बलियो बनेको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड डलरले बचतमा रहेकोमा समीक्षा वर्षमा ७ अर्ब ५ करोड डलरले बचतमा पुगेको छ।त्यस्तै, गत आर्थिक वर्ष चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्ष चालु खाता ४ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँले बचतमा थियो।समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, गत आर्थिक वर्ष नेपालमा २८ अर्ब ४९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यो इक्विटी लगानी मात्रै हो। अघिल्लो आर्थिक वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २ करोड रुपैयाँ रहेको थियो।देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तरलाई शोधनान्तर स्थिति भनिन्छ। बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचतमा रहने गर्छ ।