Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

क्रिप्टो कारोबारको आरोपमा धनुषाका युवक पक्राउ, रकम २ अर्ब नाघ्यो

२०८३ कार्तिक १३ गते

बैंकिङ खबर/ क्रिप्टोकरेन्सी कारोबार र अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषाका एक युवालाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती युवाको नाममा रहेको डिजिटल कारोबार खाताबाट २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएको छ ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डिजिटल माध्यमबाट ठूलो रकमको क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन बेटिङ भइरहेको सूचनाका आधारमा उनीमाथि निगरानी गरेको जनाएको छ ।

प्रहरीको प्राविधिक अनुसन्धानका क्रममा यादवले प्रयोग गरेको बाइनान्स खाताबाट २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार भएको विवरण फेला परेको बताइएको छ । प्रतिडलर १५१ रुपैयाँ ५३ पैसाको विनिमय दरका आधारमा उक्त रकम नेपाली मुद्रामा करिब २ अर्ब १६ करोड १ लाख रुपैयाँभन्दा बढी हुन्छ ।

जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध जुवा तथा सट्टेबाजी गर्न नहुने र अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कानुनी व्यवस्थाअन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गराएको छ । अहिले कारोबारमा प्रयोग भएका डिजिटल माध्यम, रकमको स्रोत र प्रवाह तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए-नभएको विषयमा अनुसन्धान भइरहेको छ ।

क्रिप्टोकरेन्सी कारोबार र अनलाइन सट्टेबाजीसँग सम्बन्धित यस्ता घटनामा कारोबारको कुल रकम र गैरकानुनी गतिविधिबाट प्राप्त रकम एउटै नहुन सक्ने भएकाले अनुसन्धानबाट पुष्टि हुने विवरण महत्त्वपूर्ण हुन्छ । पक्राउ परेका व्यक्तिमाथि लागेको आरोप अदालतबाट प्रमाणित हुन बाँकी छ ।

 

Ad