प्रभु नारायण चौधरी महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । पूर्वी तराईको सप्तरी जिल्लामा मूख्य कार्यालय रहेको महुली १० जिल्ला कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्था हो । हाल पूर्वका सप्तरी, सिरहा, उदयपुर, खोटाङ्ग, सुनसरी, धनकुटा, भोजपुर, ओखलढुङ्गा, सिन्धुली र रामेछाप जिल्लामा यस लघुवित्तले सेवा दिँदै आइरहेको छ । मुलुकको आर्थिक समृद्धि तथा गरिबी न्युनिकरणमा लघुवित्तको भूमिका महत्वपूर्ण मानिन्छ । यसैबीच, लघुवित्त क्षेत्रका समस्या तथा चुनौति लगायत महुली साुदायिक लघुवित्त वित्तीय संस्थाको समग्र वित्तीय अवस्थाको बारेमा सीईओ चौधरीसँग बैंकिङ खबर डट कमले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :
महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको बारेमा बताइदिनोस न ।
महुली साुदायिक लघुवित्त वित्तीय संस्था एक विशुद्ध लघुवित वित्तीय संस्था हो । यो संस्था महुली सामुदायिक विकास केन्द्र बकधुवा – ६ बाट प्रवद्र्धन भई मिति २०६९ साल भदौ १७ गते कम्पनी रजिष्टार कार्यालयमा कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा विधिवत दर्ता भई संचालनमा रहेको छ । यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मिति २०७० साल जेष्ठ २ गते १० जिल्ला (सप्तरी, सिरहा, उदयपुर, खोटाङ्ग, सुनसरी, धनकुटा, भोजपुर, ओखलढुङ्गा, सिन्धुली र रामेछाप) कार्यक्षेत्रको स्वीकृती लिई कम्पनी रजिष्टारबाट मिति २०७० साल जेष्ठ ३० गते कारोवार संचालनको अनुमती पाएर २०७० आषाढ १ गतेबाट बैंक तथा वितीय संस्था नियमावली अनुसार औपचारिक रुपबाट कारोबार संचालन गरेको छ ।
संस्थाको वित्तीय अवस्था कस्तो छ ?
महुली साुदायिक लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्था समग्रमा राम्रो छ । शुरुवाती अवस्थादेखि नै हाम्रो वित्तीय अवस्था राम्रौ हुँदै आएको छ ।
संस्थाको पूँजी वृद्धिको योजना के छ ?
हामीले पब्लिक डिपोजिट मोविलाइजेशन गर्न पाउँदैनौं । आगामी दिनमा पुँजी कोषलाई ख्याल गरेर आफ्नो बिजनेश भोल्युम अनुसार समयसापेक्ष हामी पुँजी बृद्धि गर्दै जानेछौँ ।
वर्तमान अवस्थामा लघुवित्तका चुनौतीहरु केके छन् ?
लघुवित्त वित्तीय संस्थाहरुका चुनौतीहरु धेरै छन् । लघुवित्तहरुका खास मूख्य चुनौतीहरु भनेको कष्ट अफ फण्ड, मल्टी ल्याण्डिङ र अनहेल्दी कम्पिटिशन हो । अर्को लघुवित्तका चुनौती भनेको डुप्लिकेशन पनि हो । एउटै मान्छे धेरै लघुवित्तबाट सेवा लिइरहेको अवस्था छ । अदृश्य रुपमा एउटै व्यक्तिले धेरै वटा लघुवित्तबाट कर्जा लिएका हुन्छन् । यो पनि लघुवित्त क्षेत्रको एउटा समस्या हो ।
लघु्वित्तका लागि नेपाल राष्ट्र बैंकले कस्तो किसिमको नयाँ नीति ल्याउन आवश्यक छ ?
नयाँ लघवित्तहरुलाई अनुमति दिनुभन्दा पनि पुरानालाई पूँजी बढाउन तर्फ ध्यान दिने हो भने लघुवित्तहरुको संख्यात्मकभन्दा गुणात्मक विकासमा सहयोग पुग्नेछ । र त्यहाँ प्रतिष्पर्धा पनि स्वस्थ हुन्छ । अहिलेको अवस्थामा धेरै लघुवित्तहरु छन्, त्यसमा नयाँ लघुवित्त थप्दा अन्त्यन्तै जोखिम बढ्ने हो कि भन्ने महशुस भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई सहज तरिकाले कारोबार गर्न पाउने खालको नीति ल्याउन आवश्यक छ ।
लघुवित्तको व्याजदर महंगो भयो भन्ने गुनासो पनि छ नि होइन ?
नेपालको सन्दर्भमा लघुवित्तहरुको व्याज महंगो भयो भन्न मिल्दैन । अन्तर्राष्ट्रिय अभ्याससँग तुलना गर्दा नेपालका लघुवित्तहरुको व्याजदर अझ कम रहेको छ । एसिया महादेशका सात देशहरुमध्ये, सबैभन्दा सस्तो व्याजदर भनेको नै नेपालकै हो । डोर टू डोर सर्भिस गर्ने भएकाले लघुवित्तको अपरेटिङ कष्ट धेरै हुन्छ । यसर्थ नेपालको लघुवित्तको व्याजलाई महँगो भन्न मिल्दैन ।




