धनगढीको नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट हराएको रकम बैङ्ककै एक कर्मचारीले गत हप्ता चोरी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले बैङ्कको रू. २३ लाख ४४ हजार चोरी गर्ने कर्मचारी गोविन्द उपाध्यायलाई चोरी रकमसहित पक्राउ गरी सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
निजले माघ २८ गते बैङ्कको एटिएम लकको पासवर्ड पत्ता लगाई उक्त रकम चोरी गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले उपाध्यायले बैङ्कमा रहेको सीसी क्यामेरा बन्द गरी एटिएममा राखिएको उक्त रकम एटिएमको लक खोलेर चोरी गरेको पाइएको बताए ।
चोरी गरेको रकम निजले आफन्तका घरमा लुकाइराखेका थिए । रकम चोरी भएपछि बैङ्कले आइतवार जिल्ला प्रहरी कार्यालयमा खोजबिनका लागि निवेदन दिएको थियो । रासस


