
रमण नेपाल
कार्यकारी निर्देशक, नागरिक लगानी कोष
सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । त्यसलाई पूरा गर्न पनि राष्ट्र बैंकले संकुचित प्रकारको मौद्रिक नीति ल्याउँछ भन्ने मलाई लाग्दैन । संकुचित मौद्रिक नीति आएमा बैंक तथा वित्तीय संस्थाहरु अप्ठ्यारोमा पर्छन् । बैंक तथा वित्तीय संस्थाहरु मात्र होइन्, सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यमा पनि त्यसले तलमाथि पर्छ ।
सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यलाई पूरा गर्न बैंकहरुले कर्जा प्रवाहलाई बढाउनुपर्ने हुन्छ । कसिलो मौद्रिक नीति आएमा त्यो सम्भव छैन । त्यसकारण पनि राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउँदैन भन्ने लाग्छ । मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गरेर विस्तारकारी मौद्रिक नीति ल्याउने अवस्था नभए पनि संकुचनकारी नै ल्याईहाल्ने अवस्था पनि देखिँदैन ।
तर, केही-केही कुरामा कन्ट्रोल गर्नुपर्दछ । कन्ट्रोल गर्ने भनेर ८० को स्पिडमा गुडिरहेको गाडिलाई १५-२० झारे जस्तो गरी पनि होइन, ब्यालेन्समा बस्ने गरेर मौद्रिक नीति आउनुपर्दछ । म राष्ट्र बैंकको पूर्व कर्मचारी भएपनि अहिले मौद्रिक नीतिका बारेमा त्यस्तो धेरै अध्ययन गर्न पाएको छैन । तर, सकेसम्म सबैलाई सहज हुने प्रकृतिको मौद्रिक नीति आउनुपर्छ भन्ने मेरो भनाइ हो ।

राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताहरुलाई सर्वसाधरण निक्षेपकर्ताहरुको भन्दा १ प्रतिशत कम ब्याजदर निर्धारण गर्नुपर्ने निर्देशन जारी गरेको छ । बैंकहरुले त्यही अनुसार ब्याजदर निर्धारण गर्छन् । त्यसो गर्दा हामीले सर्वसाधरणको भन्दा १ प्रतिशत कम ब्याज प्राप्त गर्छौं ।
नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरुले पब्लिकबाट सोना–सानो रकम मासिक रूपमा जम्मा गर्ने गर्दछन् । त्यही पैसा हामीले बैंकमा जम्मा गर्छौं । बैंकमा जम्मा हुने पैसा तपाईले राखे पनि, मैले राखे पनि एउटै हो, तर पनि राष्ट्र बैंकले संस्थागत निक्षेपकर्तालाई सर्वसाधारणको भन्दा १ प्रतिशत कम ब्याज उपलब्ध गराउने गरेको छ । त्यसलाई आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ र समान बनाउनुपर्दछ । यस्तै, पुँजी बजारमा मौद्रिक नीतिले प्रत्यक्ष असर पार्दैन । त्यसका लागि बैंकबाट हुने ऋण प्रवाहमा कडाइ गर्न सक्दछ ।
पछिल्लो समय नेपालमा सेयर बजार घटबढ भइरहेको छ । सेयर घटबढको अवस्था आउने भनेको हाम्रोमा मात्र होइन जुनसुकै ठाउँमा पनि उस्तै हुन्छ । डाइभर्ट भइरहेको अर्थतन्त्र हेरेर लगानीकर्ताहरु पनि जता नाफा देख्यो, त्यतै जाने गर्छन् । मुनाफा केन्द्रित बन्ने गर्छन् । पुँजीबजारलाई निरुत्साहित गर्न पनि हुँदैन, चलखेल गर्ने व्यक्तिहरुलाई मात्र फाइदा हुने किसिमको पुँजी बजारको विकास पनि गर्न हुँदैन । केही व्यक्ति अथवा समूहहरुले मिडियाको प्रयोग गरेर आफ्नो स्वार्थका लागि काम गर्ने गरेको पाईन्छ । त्यसलाई समेत मुल्याङ्कन गरेर राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन सक्नुपर्दछ ।
सेयर बजारमा मौद्रिक नीतिले प्रत्यक्ष असर नपार्ने भएकाले बैंकहरुले कसरी ऋण दिने तथा कतिसम्म प्रवाह गर्ने भन्ने विषयमा मौद्रिक नीतिले अर्थ राख्दछ । सेयर बजारमा अहिले ४/१२ को इस्यु छ । त्यो आवश्यक हो, होइन, त्यसले पुँजीबजारलाई फाइदा गर्यो कि बेफाइदा, लगानीकर्ता उत्साहित वा निरुत्साहित के छन् भन्ने विषयलाई पनि मध्यनजर गरेर त्यसको पुनरावलोकन गर्दै मौद्रिक नीति आउनुपर्छ ।
हेर्नुहोस् भिडियो




